बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी स्थायी कमिटी बैठक कुर्दै नेसपा, अलमलमा माओवादी

शुक्रबार, २७ पुस २०८०, १४ : ३४
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बिच हुने भनिएको पार्टी एकतामा मलमल देखिएको छ । पार्टी एकताका लागि नेसपाले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरिसकेको छ । तर माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने भनिए पनि अझै पूर्णता पाउन सकेको छैन । नेसपाका नेताहरू शनिवार बस्ने माओवादी स्थायी समितिबाट समिति गठन हुने विश्वासमा छन् । एकता प्रक्रियाका लागि स्थायी समितिले निर्णय गर्ने जानकारी आएको नेसपाका शीर्ष नेताहरूले बताएका छन् । 

मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच दुवै पक्षले अध्यक्षको नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो । सोही सहमति बमोजिम मङ्सिर ६ गते नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्षद्वय भट्टराई, महिन्द्रराय यादव, सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादव रहेको समायोजन समिति बनाएको थियो । त्यसयता दुवै पक्षका वार्ता टोलीबिच अनौपचारिक छलफल भए पनि औपचारिक छलफल नभएको नेसपाका सहअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘माओवादीले अहिलेसम्म समिति नै बनाएका छैनन् । व्यक्ति व्यक्तिबिच भेटघाट गर्नुबाहेक केही भएको छैन । अध्यक्ष प्रचण्डले पहिले नै पुसको अन्तिम साता बस्ने स्थायी समिति बैठकले समायोजन समिति बनाउँछौँ भनेका थिए । शनिवार बैठक बस्दै छ क्यारे । त्यतिबेलासम्म प्रतीक्षा गरौँ’, रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने । एकता प्रक्रिया दुवै पक्षका वार्ता टोलीले भन्दा पनि प्रचण्ड र बाबुराम बसेर मिलाउने विषय भएको उनको बुझाइ छ ।

बाबुरामले कम्युनिस्ट नाम राखेर समाजवादी पार्टी बनाउन अनिच्छुक देखिएका छन् ।  यस्तै चुनाव चिह्न हँसिया हथौडामा पनि उनले रुचि देखाएका छैनन् । तर माओवादी नेताहरू समाजवादी केन्द्र वा समाजवादी पार्टी बनाए पनि नेकपा छोड्ने पक्षमा छैनन् । 

यद्यपि कोष्ठभित्रको माओवादी केन्द्र हटाउने विषयमा विशेष महाधिवेशनमा छलफल गर्न सकिने यसअघि नै निर्णय गरिसकेको छ । माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीको नाम जेसुकै राखे पनि मार्क्सवाद, लेनिनवाद र माओवाद मार्गदर्शक सिद्धान्त हुने बताए । बाबुरामको विचारमा निरन्तरता नभएकाले कुनै दिन मार्क्सवाद नै वकालत गर्ने दिन आउने उनको बुझाइ छ । 

‘माओवादी केन्द्रले माओको योगदानलाई छोड्ने वा माओवादलाई छोड्ने भन्ने होइन । खालि पार्टीको नाम के राख्ने भन्ने हो । नाम जे राखे पनि हुन्छ । मार्क्सवाद, लेनिनवाद र माओवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुन्छ’, कार्कीले भने, ‘बाबुरामजीको विचारमा कन्सिस्टेन्सी (निरन्तरता) छैन । कुनै दिन उहाँले मार्क्सको वकालत गर्नुभयो भने कुनै अचम्म मान्नु पर्दैन ।’

माओवादलाई मार्गदर्शक सिद्धान्त मानेर सशस्त्र युद्धको नेतृत्व गरेका बाबुराम २०७२ असोज ९ गते पार्टीबाट अलग भएका थिए । त्यसपछि नयाँ वैकल्पिक शक्ति निर्माणमा बहस चलाएका उनले २०७३ जेठमा नयाँ शक्ति नेपाल गठन गरेका थिए । यद्यपि उनी वैकल्पिक शक्ति बनाउन असफल भए । २०७४ मा उपेन्द्र यादवको पार्टी जसपासँग एकता गरेका उनी २०७८ असारमा पार्टीबाट अलग भएका थिए । नेपालमा अहिले मार्क्सवादी आन्दोलनको सान्दर्भिकता नभएको भन्दै समाजवादी कार्यदिशा तय गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

पार्टीको वैचारिक, सैद्धान्तिक र साङ्गठनिक संरचनामा सहमति भए पार्टी, झन्डा र चुनाव चिह्न के राख्ने भन्नेमा समस्या नहुने सहअध्यक्ष श्रेष्ठले बताए ।

‘बाबुरामजी नेकपा राख्नु हुन्न भनेर पहिलेदेखि नै भनिराख्नु भएको छ । यो कुनै नयाँ विषय होइन । खास विषय पार्टीको वैचारिक, सैद्धान्तिक र साङ्गठनिक संरचनामा समस्या हो । यी विषय हल भएपछि, पार्टीको नाम, चुनाव चिह्न र झन्डामा समस्या आउँदैन भन्ने मेरो बुझाइ हो,’ उनले भने । 

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले समायोजन समिति बनाउने विषयमा स्थायी समिति बैठकका छलफल हुने बताएका छन् । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण एकता समायोजन समिति बनाउन ढिलाइ भएको उनले बताए । विशेष महाधिवेशनसम्म पुग्दा पार्टी एकता हुने उनको विश्वास छ । 

‘प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण एकता समायोजन समिति गठन गर्न ढिलाइ भएको हो । यसबारे स्थायी समिति बैठकमा छलफल हुन्छ । विशेष महाधिवेशनसम्म पुग्दा दुई पार्टीबिच एकता हुन्छ’, सापकोटाले भने । 

उनले पार्टीको नाम नेकपा (समाजवादी) रहने जिकिर गर्दै बाँकी वैचारिक, राजनीतिक र साङ्गठनिक विषयमा शीर्ष नेताहरू बसेर सहमति गर्ने बताए । 

उपाध्यक्ष एवं प्रवक्ता दुर्गा सोवले पार्टी एकता सयम लिएर प्रक्रिया अगाडि बढ्ने विषय भएकाले एकता गर्न ढिलाइ भएको जिकिर गरिन् । 

‘माओवादीबाट समायोजन समिति गठन भएको छैन । उताबाट समिति गठन गरेपछि शीर्ष नेताहरू बसेर प्रक्रिया अगाडि बढाउनुहुन्छ’, उनले भनिन् ।  

नेसपाका महासचिव रमेश यादवले माओवादीबाट समायोजन समिति गठन हुने वित्तिकै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने जिकिर गरेका छन् । विधान संशोधन गर्न पार्टीले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक बोलाएको र माओवादी पनि विधान अधिवेशनको तयारीमा रहेकाले एकता प्रक्रिया ढिलाइ भएको उनले बताए । 

गत वर्ष निर्वाचनअघि नै दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । सहमतिबमोजिम नै नेसपाका उम्मेदवारले माओवादीको चुनाव चिह्न प्रयोग गरे । चुनावलगत्तै पार्टी एकता गर्ने भनिए पनि बाबुराम र प्रचण्डबिच सम्बन्धमा चिसोपना बढ्दै गएपछि एकता प्रक्रियाले गति लिन सकेको थिएन । असार ४ गते माओवादीसहित एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेपछि बाबुराम प्रचण्डसँग थप चिढिएका थिए । 

असोज ३० गते बाबुरामलाई बाइपास गरी नेसपाका दोस्रो अध्यक्ष यादवलाई एकतासम्बन्धी पत्राचार भएपछि झन्डै एकता प्रक्रिया नै भाँडिएको थियो । मङ्सिरको पहिलो हप्ता प्रचण्ड र नेसपाका शीर्ष नेताहरूबिच एक्लाएक्लै र सामूहिक छलफलपश्चात एकता समायोजन समिति गठन गर्न बाबुराम सहमत भएका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप