शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

आमा

शनिबार, २८ पुस २०८०, ११ : ११
शनिबार, २८ पुस २०८०

वैशाख महिना, असिना पर्‍यो, त्यो माटो बसायो ।
बारी र खेतमा, आमाको नाता, सधैँ झैँ रमायो ।।
वैशाख महिना, मकैका बोट, उम्रेर हाँस्दछन् ।
फर्सीको बोट, हेरेर आमा, मुसुक्क हाँस्दछिन् ।।

जेठको महिना, काभ्राको फेदमा, ती आमा भुलेकी ।
ती मकै गोड्दै, मुसुक्क हाँस्दै, ती आमा रमेकी ।।
उम्रेका धान, ब्याडका काखमा, ती आमा रमेकी ।
कोदोको ब्याड, राखेर आमा, मुसुक्क हाँसेकी ।।

असार लाग्यो, सिमसिम पानी, ती आमा रुझेकी ।
हरियो घाँस, काटेर आमा, गाईभैँसी पालेकी ।।
ती कोदो रोप्छिन्, ती धान रोप्छिन्, बारी र खेतमा ।
असारे भाखा, घन्काउछिन एक्लै, हरिया पाखामा ।।
 
साउने झरी, ती आमासँग, ती चरा रमाउँछन् ।
ढुकुरसँगै, ती आमा पनि, बनमा रमाउँछिन् ।।
खहरेसँग, खेल्दै र पौडँदै, खेतमा रमाउँदा ।
ट्यार ट्यार आवाज, दिन्छन् नि भ्यागुता, आमाको हाँसोमा ।।
 
भदौको महिना भैँसीको बच्चा, स्याहार्दा स्याहार्दै ।
भैँसीको दुधले नुहाउँछिन् आमा, त्यो बच्चा सँगसँगै ।।
भदौरे मकै, पाक्दछ जहाँ भदौको अन्तिममा ।
रमाउँछिन् आमा, मकै र मोही, दिउँसोको नास्तामा ।।
 
असोज महिना, दसैँको चाड, आँगनमा आउँदा ।
झोक्राउँछिन् आमा, सम्झेर आफ्ना, सन्तती न आउँदा ।।
नवदुर्गासँगै, हिलो र मैलो, जब त्यो हराउँछ ।
आमाको घर, सुकिलो बन्छ, गेरु रङ लगाउँदा ।।

कार्तिक महिना, सयपत्री फूल, आमासँगै हाँसेका ।
मखमली फूल, गाँसेकी आमा, मामाको यादमा ।।
छोरा र छोरी, न आउँदा आमा, रोएकी सधैँ झैँ ।
पिङहरू सबै, रोएको देखिन्, ती आमा सधैँ झैँ ।।

मङ्सिर लाग्यो, तोरीको फूलले, आमालाई नियाल्दा ।
मौरीको धुनमा, रमाउँछिन् आमा, सुगन्ध मौसममा ।।
धान पाक्यो अब, स्याहार्छिन् आमा, सन्तान सम्झिँदै ।
मान्दिनन् दुःख, परिश्रम गर्न, गीतको भाखामा ।।
 
पुसको महिना, जाडोले फ्याँक्छ, आमाको पछ्यौरी ।
चोलो र स्विटर, लगाउँछिन् आमा, रङ्गिलो चौबन्दी ।।
त्यो चिसो दिन, त्यो चिसो रातमा, ती आमा गाउँछिन् ।
गहतको झोल, पिएर आमा, जाडोलाइ भगाउँछिन् ।।  

माघको महिना, आउँदा आमा, खुदोमा रमाउँछिन् ।
कोदोको ढिँडो, खाएर आमा, मजबुत भई उठ्दछिन् ।।
शिवरात्रि पर्व, श्रीपञ्चमीसँगै, न्याना दिन आउँदा ।
ती आमा रुन्छिन, सन्तान आफ्ना, फर्केर न आउँदा ।।

फागुन महिना, होलीको मौसम, त्यो गाउँमा आउँदा ।
रङमा रुन्छिन, ती आमा फेरि, सन्तान सम्झिँदा ।।
फलफूल फूल्छन्, हिमाल हाँस्छ, फागुनको महिनामा ।
फागुको भाखा, घन्किन्छ अनि, रमाइलो भाखामा ।।
 
अङ्कुरा लाग्छ, यो चैत महिना, बिरुवाबोटमा ।
चैतको दसैँ, रुवाउँछ फेरि, सन्तानको यादले ।।
यो चैत महिना, वर्षको अन्तिम, हावा र हुरीले ।
ती आमा फेरि, व्यस्त छिन आफ्नै, खेत र बारीले ।।
 
मन कि धनी, हृदय कि खानी, ती अझै राम्री छिन् ।
हिमाल जस्तै, हाँस्दै र खल्दै, बारीमा रमाउँछिन् ।।
उकालो बाटो, ओरालो बाटो, आमाको दैनिकी ।
गाईभैँसीसँगै, रमाउँदै आमा, पाखा कि सुन्दरी ।।

विज्ञ हुँ भन्ने, पढेका सन्तान, सहरमा रमेका ।
गाउँको बाटो, कता हो कुन्नि, ती आज बिर्सेका ।।
पाखाका चरी, छन् साथी उनका, रमाउँछन् साथमा ।
मृगका छाउरा, सँगसँगै हिँड्छन्, आमाका साथमा ।।

नैैकाप, काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुल्सी गिरी
तुल्सी गिरी
लेखकबाट थप