सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता विनोद राई : सङ्गीतमा ‘कमब्याक’ गजबको भयो

आइतबार, २९ पुस २०८०, १३ : ४२
आइतबार, २९ पुस २०८०

विनोद राई ‘भ्वाइस अफ नेपाल सिजन ५’का विजेता हुन् ।  शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका थिए ।

कोच मिलन नेवारको समूहबाट सहभागी उनले उपाधिका लागि  मकरबहादुर योन्जन (फस्ट रनरअप), कुमार प्रयास राई (सेकेण्ड रनरअप) र नोगेन लिम्बू (थर्ड रनरअप)सँग कडा प्रतिस्पर्धा गरेका थिए ।

अन्ततः दर्शकको सर्वाधिक भोटको आधारमा उनले उपाधि सहित नगद २० लाख पुरस्कार हात पारे । उपाधिले उनलाई खुसी त दियो नै, थुप्रै चुनौती समेत थपिएको बताउँछन् । विसं. २०७२ बाट गायनमा होमिएका विनोदका दर्जनौँ गीतसङ्गीत सार्वजनिक भएका छन् । तर चर्चा भने छैन ।

घरायसी कारणले केही वर्षदेखि उनी साङ्गीतिक क्षेत्रमा सक्रिय पनि थिएनन् । भ्वाइस अफ नेपालले आफूलाई फेरि सङ्गीतमा ‘कमब्याक’ गराएको उनी बताउँछन् । बिनोदसँग रातोपाटीले यही सेरोफेरोमा संवाद गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • ‘भ्वाइस अफ नेपाल’को विजेता बन्नु भएको छ । कस्तो अनुभूति भइरहेको छ ?

–एकदमै खुसी छु । परिवार, साथीभाइसँग खुसी सेलिब्रेसन गर्दैछु । रमाइलो लागिरहेको छ । मेहनत साकार भयो भन्ने समेत भएको छ । मेरो लागि यो सबैभन्दा ठुलो उपलब्धि हो । जीवनमा सङ्गीतका लागि जति ‘स्ट्रगल’ गरेँ, दुःख गरेँ, ती सबैको प्रतिफल अहिले हात प¥यो भन्ने लाग्छ ।

  • ‘भ्वाइस अफ नेपाल’नै किन रोज्नुभयो ? अचेल रियलटी शो धेरै छन् त ?

–गायनमा भविष्य खोज्नेहरुका लागि यो एउटा राम्रो र ठुलो ‘प्लेटफर्म’ हो । यसबाट उपाधि हात परे पनि, नपरे पनि करियर राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । म विगत ६÷७ वर्षदेखि साङ्गीतिक क्षेत्रमा छु । विगत केही वर्षदेखि घरायसी कारणले हराएको थिएँ । त्यसैले साङ्गीतिक क्षेत्रमा ‘कमब्याक’ गर्न राम्रो ‘प्लेटफर्म’को खोजीमा थिएँ । त्यसका लागि यो रोजेँ । ‘भ्वाइस अफ नेपाल’ले मलाई साङ्गीतिक क्षेत्रमा राम्रो ‘कमब्याक’ गरायो ।

  • आफूले आफ्नो मूल्याङ्कन गर्दा के कुराले विजेता बनायो जस्तो लाग्छ ?

–पहिलो त मेरो मेहनत हो । अर्काे कुरा, म सिम्पल छु । यो नै दर्शकस्रोताको रोजाइमा प¥यो ।

  • शो भाग लिँदै गर्दा उपाधि जित्ने आस कति थियो ?

– विजेता नै बन्छु भन्ने थिएन । मलाई जसरी पनि सङ्गीतमा काम गर्नु थियो । यो शोमा सहभागी भएपछि धेरै ठाउँमा एकसाथ पुग्न सकिन्छ भन्ने लाग्यो ।

binod rai

  • उपाधिले चुनौती पनि थप्यो कि ?

– रियलटी शो अडियन्सले रुचाएपछि जित्ने हो । उहाँहरुले मन पराएको व्यक्ति हेरिरहुँ, देखिरहुँ भन्ने हुन्छ । अब यो सम्भव हुँदैन । त्यसैले कसरी उहाँहरुको सधैँ भेट्ने, देख्ने चाहना पूरा गर्ने, उहाँहरुलाई सन्तुष्टि दिने भन्ने चुनौती छ । एउटा पोजिसनमा पुगेपछि त्यो टिकाउन हिजोका भन्दा पनि धेरै मेहनत गर्नुपर्नेछ । विजेताले गीतसङ्गीत सार्वजनिक गर्दा केही राम्रो दिनुपर्छ नै । हेर्दा नदेखिए पनि चुनौती धेरै छन् ।

  • यो सिजनमा सहभागी हुनु भयो, शोको जानकारी कहिलेदेखि थियो र ?

–‘भ्वाइस अफ नेपाल’ म पहिलेदेखि नै फलो गर्थें । यो पटक आउँछु भन्ने थिएन । तर श्रीमतीले यो पटक ‘भ्वाइस अफ नेपाल’मा तपाईं जसरी पनि जानुपर्छ भनेर फोर्स गरिन् । उनको इच्छाशक्ति र मेरो केही चाहनाले भाग लिएको थिएँ । परिणाम पनि राम्रो आयो । हामी दुवै खुसी छौँ ।

  • यसअघि पनि कुनै शो जित्नु भएको थियो ?

– यो मेरो जीवनको पहिलो उपाधि हो । यसअघि ‘नेपाली तारा’ सिजन थ्रीमा भाग लिएको थिएँ । त्यो समय टप सेभेनमा पुग्न सफल भएको थिएँ ।

  • आगामी दिनको साङ्गीतिक योजना के छन् त ?

–त्यस्तो स्पेशल योजना केही बनाएको छैन । धेरै काम लाइनमा छन् । ती सक्दै जानुपर्नेछ । यहाँ जान्छु, यो गर्छु भन्ने योजना केही छैन । मेरो पहिलेदेखिनै एउटै काममा फोकस हुने बानी छ । अहिले एउटै कुरामा फोकस छु । त्यो हो गायन करियर अगाडि बढाउने ।

  • ‘भ्वाइस अफ नेपाल’को मञ्चलाई कसरी हेर्नुहुन्छ ?

–यो एउटा करियर बनाउने ठाउँ हो । यसबाट धेरै कुरा सिक्न र जान्न सकिन्छ । गायनमा लाग्नेका लागि यो पाठशाला जस्तो पनि हो । यसभित्र अनेक कुरा छन् । गायनमात्र होइन, विभिन्न प्राविधिक कुरा पनि सिक्न पाइन्छ ।

  • यसअघिका रियलटी शो विजेता धेरै हराएका छन्, तपाईंको निरन्तरता रहन्छ त ?

– म सङ्गीतमै रमाउँछु । सङ्गीतभन्दा बाहिर रहन्नँ भनेर ‘युटर्न’ गरेर आएको छु । त्यसैले आफूलाई सङ्गीतबाट टाढा राख्न सक्दिनँ ।

  • गाउने रहर कहिलेदेखि थियो ?

–सानैदेखि मलाई गीतसङ्गीत मनपर्थ्यो, गाउँथेँ । मेरो आफ्नो ठुलो दाजुको सङ्गीतप्रति लगाव थियो । उहाँको कारणले मैले साङ्गीतिक माहोलमा हुर्कने मौका पाएँ । स्कुल पढ्दा पनि गाउँथेँ । एसईईपछि भने गायनमा होमिए ।

  • कस्तो गीतसङ्गीत सुन्नुहुन्छ ?

– सबै प्रकारको गीतसङ्गीत सुन्छु ।

  • ‘भ्वाइस अफ नेपाल’मा आउनेका लागि के सुझाव दिनुहुन्छ ?

– ‘भ्वाइस अफ नेपाल’को मञ्च सङ्गीत सिक्नका लागि, अगाडि बढाउनका लागि एउटा राम्रो ‘प्लेटफर्म’ हो । साङ्गीतिक करियरका लागि यस्ता ‘प्लेटफर्म’ निकै महत्त्वपूर्ण पनि छन् । सिक्न र जित्छु भनेर आउनु भयो भने सफलता हात पर्छ । यसमा आएपछि उपाधि जित्न नसके पनि एउटा राम्रो गायक भएर भने निस्कन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप