आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

मौद्रिक नीतिको सहुलियत सेयर बजारमा भएन उपभोग, तैपनि नेप्से बढेको बढ्यै

बजारको उत्साहलाई केले काम गर्‍यो ?
मङ्गलबार, ०२ माघ २०८०, १७ : ००
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले मार्जिन प्रकृतिको सेयर धितोकर्जालाई सहज बनाउँदै जोखिमभार घटाएपनि कर्जा लगानी र मागमा भने त्यति धेरै उत्साह देखिएको छैन । केन्द्रीय बैंकका अनुसार मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको कर्जा शीर्षकमा जम्मा ८१ अर्ब १९ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका हुन् । 

अघिल्लो महिना (कात्तिकमा) ८१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएकोमा पछिल्लो महिना सेयर धितो कर्जा लगानीमा ०.०४ प्रतिशतले मात्र वृद्धि भएको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जासँगै रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । 

बजारको माग र बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी सहजताका लागि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने कर्जाका लागि केही लचक नीति अपनाए पनि यता लगानी भने बढ्न सकेन । 

 २०८० असार मसान्तमा ७६ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बढी कर्जा सेयर धितोमा प्रवाह भएकोमा चालु आर्थिक वर्ष लागेपछि सामान्य वृद्धि भएको देखिन्छ ।  आर्थिक वर्षको ५ महिनामा सेयर धितो कर्जा ५.७३ ले वृद्धि भएको छ । 

  • बजारको उत्साहलाई केले काम गर्‍यो ?

बैंकिङ लगानी सेयर धितो कर्जा बढ्न नसकेपनि पछिल्लो समय सेयर बजारको उत्साह भने उस्तै छ । मौद्रिक नीतिपछि निरन्तर बढिरहेको नेप्से सूचक २ हजार १७५ अंकमाथि उक्लिसकेको छ । 

nepse-boom

नेपाल राष्ट्र बैंकले मङ्सिर २२ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । जतिबेला सेयर बजार परिसूचक नेप्से १ हजार ८५२ विन्दुमा रहेको थियो । त्यसयता नेप्से सूचक ३२३ अंकले बढिसकेको छ भने सेयर बजार पुँजी (मार्केट क्यापिटलाइजेशन) ४ खर्ब ६८ अर्ब ४९ करोड ४० लाख रुपैयाँले बढिसकेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार पुस मसान्त अर्थात् १४ जनवरी, २०२४ सम्ममा सेयर पुँजी बजारको आकार ३४ खर्ब १६ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुगेको छ । 

यसअघि केन्द्रीय बैंकको गलत नीति, सेयर बजारप्रति गभर्नर महाप्रसाद अधिकारी नै अनुदार हुँदा बजारले अनपेक्षित गिरावट भोग्नु परेको आरोप लाग्ने गरेको थियो । 

मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) लाई ४/१२ को सीमा बाँधेर यस्तो कर्जाको जोखिम भारलाई समेत १५० प्रतिशतसम्म पुर्‍याएर कठोर नीति लिएको लगानीकर्ताहरूले आरोप लगाएका थिए । राष्ट्र बैंकमाथि सरकारको समेत निरन्तर दबाब परेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति लिएको थियो । सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमालाई परिमार्जन गर्दै केन्द्रीय बैंकले व्यक्तिगत कर्जामा १५ करोड रुपैयाँसम्म र संस्थागत कर्जामा २० करोड रुपैयाँसम्म प्रदान गर्न सकिने व्यवस्था गरिदिएको छ । सँगै रु.५० लाखमाथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार व्यवस्था गरे पुग्ने व्यवस्था गरिदिएपछि बजार उत्साहित भएको लगानीकर्ताहरूको भनाइ छ ।

  • अधिक तरलता, घट्दो ब्याजदरले काम गर्‍यो : विश्लेषक रौनियार

तर पछिल्लो समय बजारमा अधिक तरलताका बाबजुद घट्दो ब्याजदरका कारण नै सेयर बजार बुम भइरहेको सेयर बजार विश्लेषक एवम् लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । ‘डिपोजिटको ब्याजदर घटेको छ, बैंकहरुसँग पर्याप्त तरलता छ । यसको प्रभाव कर्जा लगानीमा पनि परिरहेको छ । अन्तर बैंक ब्याजदर घटेर २.५ प्रतिशत हाराहारी आइपुगेको छ । बैंकको सीडी रेसिया (कर्जा/निक्षेप अनुपात) समेत ८० प्रतिशत हाराहारी छ । यसले गर्दा यतिबेला बजारमा लगानीको उपयुक्त वातावरण छ,’ रौनियारले भने, ‘डिपोजिटको ब्याजदर नै सस्तो भएको अवस्थामा लगानीकर्ताहरू बैंकमा पैसा राख्नेभन्दा पनि सेयर किन्नेतर्फ आकर्षित भए । यसले बजार उत्साहित भएको हो ।’

करिब साढे २ वर्ष ‘प्यानिक अवस्था’मा रहेका लगानीकर्ताहरू मौद्रिक नीतिपछि बजारमा फर्किँदा सेयर बजारले गति लिएको उनको विश्लेषण छ । यसका साथै बढ्दो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति र घट्दो महँगीका कारण समेत लगानीको वातावरण सहज बन्दै गएको उनको भनाइ छ । 

‘अब सेयर बजार उकालो लाग्छ लाग्छ । साढे २ वर्षको कठिन अवस्था पार गरिसक्यौँ । मौद्रिक नीतिले पनि साथ दिएको र बजारको अवस्थाले पनि । अब लगानीकर्ताहरू डराउनुपर्ने स्थिति छैन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप