आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
हिमपात

कोशी प्रदेशमा भारी हिमपात, किमाथाङ्कमा एक फुटसम्म हिउँ पर्‍यो

बुधबार, ०३ माघ २०८०, १६ : ०८
बुधबार, ०३ माघ २०८०

विराटनगर । कोशी प्रदेशको उच्च हिमाली र पहाडी क्षेत्रमा जाडो बढेसँगै हिमपात सुरु भएको छ । प्रदेशका ताप्लेजुङ, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुलगायतका क्षेत्रमा हल्का हिमपात भएको हो । सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले किमाथाङ्कामा १ फिटसम्म हिउँ जमेको जानकारी दिए । 

गएराती किमाथाङ्कामा भारी हिउँ परेको हो । यस्तै जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिउँ बढेको उनले जानकारी दिए । हिजो साँझ हल्का पानी परेपछि किमाथाङ्कासँगै सङ्खुवासभाको गुफा पोखरीलगायतका क्षेत्रमा हिउँ परेको छ । यस्तै तेह्रथुमको तीनजुरेडाँडा, फेदी, ताप्लेजुङको पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र सङ्खुवासभाको गुफापोखरी पनि हिउँले ढाकेको छ । यस्तै त्यस क्षेत्रका रुख बिरुवा पनि हिउँले ढाकेको छ । 

ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार जिल्लाको पर्यटकीय मन्दिर पाथीभरा क्षेत्रसहित उच्च भागमा हिउँ परेको छ । चिसो बढेको र कुहिरो लागेकोले अझै हिउँ पर्ने सम्भावना रहेको उनले जानकारी दिए । यस्तै खोटाङका प्रहरी प्रमुख पुरुषोत्तम खड्काले पनि उच्च पहाडी क्षेत्रमा हल्का हिउँ परेको आफूलाई जानकारीमा आएको बताए । 

उता, इलामका उच्च पहाडी पर्यटकीय स्थलहरूमा पनि हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको त्यहाँका जनप्रतिनिधिले बताएका छन् । उत्तरी पर्यटकीय क्षेत्रमा मंगलबार दिउँसोदेखि नै बाक्लो हिमपात भएको जौबारीको होमस्टे व्यवसायी लक्की शेर्पाले जानकारी दिइन् । पर्यटकीय गन्तव्य सन्दकपुर र तीन सिमाना फालुटसम्म हिमपात भएको पर्यटन व्यवसायी प्रमोद नेपालले बताएका छन् । 

पहाडी क्षेत्रमा हिउँ परेसँगै पर्यटकीय स्थलहरूमा झापा, मोरङ, सुनसरी र भारतको बिहार, पश्चिम बङ्गाल र दिल्लीबाट समेत पर्यटकहरू आउने गर्छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पहाडी क्षेत्रमा हल्का पानी परेर चिसो बढ्दा हिउँ पर्ने र तराईका जिल्लाहरूमा शीतलहर बढ्ने अनुमान गरेको छ । पहाडमा हिमपात र वर्षा सुरु भएसँगै तराईमा केही दिनयता जाडो बढेको छ । जाडोका कारण अति विपन्न दलित तथा गरिब परिवारहरू कष्टपूर्ण रात बिताउन बाध्य बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप