सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेयर बजारमा पहिरो, १६०० अङ्कले घट्यो सेन्सेक्स

बुधबार, ०३ माघ २०८०, १७ : १७
बुधबार, ०३ माघ २०८०

नयाँ दिल्ली । बुधबार भारतीय सेयर बजारमा पहिरो गएको छ । विश्व सेयर बजार ओरालो लागेसँगै भारतमा दलाल स्ट्रिटमा व्यापक कमी आएको हो । 

३० कम्पनीको सेयर सूचिकृत बीएसई सेन्सेक्स उक्त दिन १ हजार ६२८ अङ्कले घटेर ७१ हजार ५०० मा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यो कमी २ दशमलव २३ प्रतिशत थियो । बृहत् एनएसई निफ्टी ४६० अङ्क अर्थात् २ दशमलव शून्य ९ प्रतिशतले घट्दै २१ हजार ५७२ अङ्कमा आएको थियो । सेन्सेक्समा बुधबार देखिएको यो एक दिने कमी गएको १६ महिनायताकै सबैभन्दा खराब थियो । बुधबार बीएसईमा सूचिकृत कम्पनीहरूको कूल बजार पुँजीकरण ४५ खर्ब ३० अर्ब भारुले घटेर ३ हजार ७०४ खर्ब २० अर्ब भारुमा आएको थियो । उक्त दिन सेन्सेक्समा सूचिकृत एचडीएफसी बैंकको सेयर साढे ५ प्रतिशतले घटेपछि समग्र सूचक दबाबमा आएको हो ।

विश्वका प्रमुख केन्द्रीय बैंकहरुले पुनः ब्याजदर बढाउन थाल्ने अनुमान बलियो बनेपछि बुधबार विश्व सेयर बजार पनि रक्ताम्मे बनेको थियो । चीनको आर्थिक पुनर्बहाली अनियमित रहेको सङ्केतले  पनि सेयर बजार दबाबमा आएको हो । सन् २०२३ मा चीनको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले मात्रै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । वृद्धिको यो दर अर्थशास्त्रीहरूले सोचेको भन्दा निकै कमजोर हो । घरजग्गा बजारमा जारी सङ्कट, अपस्फीतिको बढ्दो जोखिम र सुस्त मागका कारण यो वर्ष चीनको आर्थिक परिदृश्य धूमिल बनेको छ ।

बुधबार कारोबार बन्द हुँदा चीनमा शाङ्हाई कम्पोजिट २ दशमलव १३ प्रतिशतले घटेको थियो । हङकङमा हाङ्शेङ ३ दशमलव ८६ प्रतिशतले घट्दा दक्षिण कोरियाको कोस्पी परिसूचकमा पनि २ दशमलव ५३ प्रतिशत तल आएको थियो । सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, ताइवान लगायत एसिया क्षेत्रका मुख्य सेयर बजार पनि रातोमै थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजे युरोप  पनि रक्ताम्मे थियो । बेलायतमा फुट्सी १ दशमलव ५ प्रतिशतले घटेको थियो । फ्रान्स र जर्मनीमा क्याक४० र डीएएक्स पनि क्रमशः १ दशमलव १३ प्रतिशत र १ दशमलव शून्य १ प्रतिशत तल आएको थियो ।

बुधबार कमोडिटिज बजारमा सुनको भाउ शून्य दशमलव ११ प्रतिशतले घटेर  प्रतिऔँस २ हजार २५ डलर १६ सेन्टमा आएको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रु २ दशमलव २९ प्रतिशतको कमी सहित प्रतिब्यारेल ७० डलर ७१ सेन्टमा आउँदा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड पनि १ दशमलव ७० प्रतिशतले घटेर ७६ डलर ७५ सेन्टमा ओर्लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप