सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हुण्डीको कारोबार

देशको बजेटको झण्डै १७ प्रतिशत रकम पाँच क्रिप्टो कारोबारीको कब्जामा

विवादित व्यापारी विमल पोद्धारसहितका १७ जनाविरुद्ध झण्डै ३ खर्बको मुद्दा
मङ्गलबार, ०९ माघ २०८०, २१ : १८
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ थियो । यो कर्मचारीको तलब भत्ता, प्रशासनिक खर्च आदि सबै रकम जोड्दा हुने खर्च हो । विकास बजेटलाई हेर्ने हो भने करिब ३ खर्ब २ अर्बको मात्रै विकास बजेट घोषणा भएको थियो । 

तर देशको कुल विकास बजेट बराबरकै रकम भने मात्रै पाँच व्यक्तिले कारोबार गरेको पाइएको छ । रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको छ । 

रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो । अनुसन्धान पछि सीआइबीले ५ जनालाई पक्राउ गरी १२ जनालाई फरारको सूचीमा राखेर मुद्दा चलाएको छ । 

सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । 

सीआइबीले अनुसन्धानका क्रममा रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मिन बहादुर जिसी कुमार परियार र झनिन्द्र प्रसाद खतिवडालाई पक्राउ गरी पेस गरेको छ । कारोबारमा संलग्न विवादित व्यापारी विमल पोद्धारसहितका १२ जना कारोबारी भने फरार रहेका छन् । 

यसरी पक्राउ परे रुपेश

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बागबजारका रुपेश श्रेष्ठ ठूलो क्रिप्टो कारोबारी हुन् भन्ने सूचना आयो । मुख्यतः अमेरिकाका बैंक खाताहरुमा कारोबार गर्ने, हुण्डी, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ आदि सबै गराउने र अवैध सुन तस्करीमा समेत रकमको कारोबार गर्ने गरेको सूचना आएपछि सीआइबीले सुरुवा रुपेश श्रेष्ठसँग सम्बन्धित बैंक खाताहरुको अध्ययन गर्यो । बैंक खाताहरुको अध्ययन गर्दा रुपेशले अस्वभाविक कारोबार गरेको देखिएपछि सीआइबीको टोली बागबजारस्थित रुपेशको घरमा पुगेर गत मंसिर ६ गते जरुरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लियो । त्यसपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेपछि आशिष अग्रवाल, मिन बहादुर जिसी, कुमार परियार र झनिन्द्र प्रसाद खतिवडालाई नियन्त्रणमा लियो ।  करिब दुई महिना अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा रायसहितको प्रतिवेदन दियो । 

झण्डै ३ खर्बको कारोबार !

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धानमा यी कारोबारीहरुले कुल २ खर्ब ८६ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार गरेको देखियो । उनीहरुले हुण्डी, क्रिप्टो करेन्सी, अनलाइन गेमिङ आदि कार्यका लागि देशको कुल बजेटको झ ण्डै १७ प्रतिशत रकम कारोबार गरेको पुष्टी भएको काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ । सोही कारोबारको रकमलाई बिगो कायम गरी गत आइतबार काठमाडौँ जिल्ला अदालतमा संगठित अपराध र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको छ ।

उक्त मुद्दा यतिबेला काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा बयान भइरहेको छ । 

रुपेश एक्लैले गरेका थिए झण्डै २ खर्बको कारोबार

सीआइबीले प्रतिवादी बनाएका रुपेश श्रेष्ठ एक्लैले झण्डै २ खर्ब रुपैयाको कारोबार गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ । रुपेशले क्रिप्टोकरेन्सीमा १ खर्ब ७१ अर्ब ६२ करोड, १६ लाख, ९८ हजार १२७ रुपैयाँ, क्यास एपमार्फत् १४ अर्ब, ७४ करोड, ३२ लाख, ४८ हजार ४२५ रुपैयाँ, हुण्डी कारोबारमा २ अर्ब २६ करोड ११ लाख ५६ हजार ८८३ रुपैयाँ तथा घरबाट बरामद ८९ लाख ६९ हजार तथा अमेरिकी डलर ७ हजार २६ को नेपाली रुपैयाँ ९ लाख ३९ हजार गरी कुल १ खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको पाइएको छ ।

पवन अग्रवालका छोरा आशिष अग्रवालले गरे ९७ अर्बको कारोबार

सीआइबीको अनुसन्धानका क्रममा अवैध क्रिप्टोकरेन्सी, हुण्डी र अनलाइन गेमिङमा संलग्न अर्का प्रतिवादी आशिष अग्रवालले पनि ९७ अर्बभन्दा बढी रकमको कारबोर गरेको पाइएको छ । अनुसन्धानका क्रममा आशिषले क्रिप्टोकरेन्सीमा ४८ अर्ब ३० करोड १ लाख ५६ हजार ३४२ रुपैयाँ बराबरको डिपोजिट र ४७ अर्ब ७० करोड २० लाख ३९ हजार ५२३ गरी कुल ९६ अर्ब २१ लाख ९५ हजार ८६५ रुपैयाँको युएसडीटी अर्थात् क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको छ । 

त्यसैगरी आशिषले क्यास एपमार्फत् १ अर्ब २२ करोड ८८ लाख २३ हजार २४६ रुपैयाँको अवैध विदेशी विनिमय ९हुण्डी०को कारोबार गरेको पाइएको छ । 

पक्राउ परेका अन्य प्रतिवादीहरु मिन बहादुर जिसी कुमार परियार र झनिन्द्र प्रसाद खतिवडा समेत गरी कुल पक्राउ परेका पाँच जना व्यक्तिहरुले कुल २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको अवैध कारोबार गरेको पाइएपछि उनीहरुलाई कारोबारकै आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

विवादित व्यवसायी विमल पोद्धारसँग पटकपटक कारोबार 

अवैध क्रिप्टोकरेन्सी, हुण्डी र अनलाइन गेमिङमा प्रतिवादी बनाइएका रुपेश श्रेष्ठले विवादित व्यापारी विमल पोद्धारसँग पनि अर्बौको अवैध कारोबार गरेको पाइएको छ । रुपेशको मोबाइलको परीक्षण गर्दा विमल पोद्धारले सञ्चालन गर्ने मोबाइलमा क्रिप्टोकरेन्सीको १ करोड ७३ लाख ८३ हजार ८६१ युएसडीटी अर्थात् नेपाली रुपैयाँ १ अर्ब ३२ करोड ३८ लाख ७४ हजार ६२४ रुपैयाँको कारोबार भएको पाइएको छ । व्यवसायी पोद्धारसँगको कारोबार अवैध सुन तस्करीसँग जोडिएको हुनसक्ने अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । 

व्यवसायी विमल पोद्धार ३३ किलो सुन तस्करी, एअरपोर्टमा केही समय अगाडि बरामद भएको १४ किलो सुन तस्करी लगायतका घटनामा प्रत्यक्ष जोडिएका व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप