आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय परिषद्को बैठक

‘जबज’बारे माधव र झलनाथको जुहारी : बैठकमा नेताको दन्तबझानले कार्यकर्तामा अन्योल

१९९ सदस्यीय केन्द्रीय कमिटी, उमेर हद नलगाउनेमा सहमत
सोमबार, १५ माघ २०८०, २१ : २२
सोमबार, १५ माघ २०८०

काठमाडौँ । अबको राष्ट्रिय महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएको छ ।

सोमबार सम्पन्न केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेसँगै आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । सोमबार पारित विधानले पार्टीको अन्य कमिटीको पनि संख्या निर्धारण गरेको छ ।

सो पार्टीले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ भने प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने व्यवस्था गरेको छ । प्रदेश कमिटीमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र तीन जना उपसचिव राख्ने विधानमा व्यवस्था गरेको छ ।

जिल्ला कमिटीतर्फ एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णयमा गरेको पार्टीले एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित तीन जना थप गर्दै जानेछ । जिल्ला कमिटीका सातजना पदाधिकारी रहने तथा स्थानीय कमिटीमा पाँच पदाधिकारी रहने पनि सो पार्टीले जनाएको छ ।

परिषद् बैठकले सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशनरअधिवेशनबाट निर्वाचित हुने निर्णय गरेको छ । वडा कमिटीमा ३५ सदस्य रहनेछन् । त्यस्तै पार्टीका सबै कमिटीमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत सुनिश्चित गरेको छ । यसअघि प्रदेशमा समेत आयोग गठन गरेको सो पार्टीले अबदेखि प्रदेशका आयोग नराख्ने भएको छ । त्यस्तै नेताहरुलाई उमेर हद नलाउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।

२४ वटा प्रस्ताव पारित

परिषद् बैठकले विभिन्न २४ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ । पारित प्रस्तावमा एनसेलको सेयर न्यून मूल्यांकन गरी बिक्री गर्ने र अर्बौँ रकम कर छली गर्ने संगठित प्रयत्न गर्नेप्रति कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सहकारी क्षेत्र संकटग्रस्त बन्दै गएकोमा पार्टीले गम्भीर चिन्ता व्यक्त गर्दै बैठक सहकारी क्षेत्रमा आर्थिक अनुशासन कायम गर्न र जनताको सम्पत्ति डुब्न नदिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

पारित प्रस्तावमा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भएका र भारतका विदेश मन्त्री नेपालको भ्रमणमा आउँदा भएका विद्युत् व्यापार, जलश्रोत र भारतीय दूतावासले दिने २० करोड अनुदान लगायतका सम्झौता र समझदारीहरूबारे गम्भीर प्रश्न उठेको भन्दै उक्त अवसरमा भएका सम्झौता र सहमति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै सबै खाले पुनरुत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रुपमा प्रतिवाद गर्दै अग्रगमनकारी राजनीतिक शक्तिहरुबिच घनिभूत संवाद र सहकार्यको आवश्यकता रहेको ठहर गरेको छ ।

त्यस्तै मुलुकमा बढेको आर्थिक सङ्कट र मन्दीबाट जोगाउन पुँजीगत खर्च बढाउन र आर्थिक अनुशासन कायम गर्न सरकारलाई सो पार्टीले आग्रह गरेको छ ।

समाजवाद कि जबज ?

परिषद् बैठकको समापन गर्ने क्रममा अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच पार्टीको मार्गदर्शन केलाई बनाउने भन्नेमा विवाद देखिएको छ । करिब १५ सय नेता कार्यकर्ता सहभागी कार्यक्रममै दुई नेताबिच जुहारी चलेपछि कार्यकर्ता पङ्क्ति अन्योलमा परेका छन् । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीले नछोड्ने बताउँदा नेता खनालले भने जबज अहिल्यै फालेर समाजवादको बाटोमा जानुपर्ने बताए ।

यतिसम्म कि नेता खनालले त जनताको बहुदलीय जनवाद नै मान्ने हो भने नेकपा एमालेमा जानु उपयुक्त हुने समेत बताए । उनले अबको पाटीको बाटो र लक्ष्य समाजवाद हुनुपर्ने भन्दै समाजवादबाटै कम्युनिस्टहरुबिच एकता समेत सम्भव हुने खनालको भनाइ छ । तर अध्यक्ष नेपाल जबज छोड्नै नसक्ने अडानमा देखिए ।

नेता खनालले पार्टीको महाधिवेशनले नीतिमा प्रष्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने चेतावनी नै दिए ।

‘क्रान्तिको बाटोमा प्रस्ट हुनेगरी नीति तय गर्नुपर्छ । अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रस्ट हुनुपर्छ’, खनालको भनाइ छ ।

खनालपछि बोलेका अध्यक्ष नेपालले भने जबज छाड्नु आत्मघाती हुने बताए । उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष जबजले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको दाबी समेत गरे ।

‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो’, अध्यक्ष नेपालले खनाललाई जवाफ दिँदै भने,‘हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानासाही व्यवस्थामा जान सकिँदैन । त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।’

सार्वजनिक कार्यक्रममै दुई नेताको दन्तबझानले कार्यकर्ता तहमा केही अन्यौलता छाएपनि विचारको बहसबाट अगाडी बढ्न सहज हुने धारणा केन्द्रीय सदस्य राजाराम स्यांतानको छ । उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने हो भने नेपालमा समाजवादको नीति, कार्यक्रम, रणनीति के हुने भनेर बहसको सिर्जना गरेको बताए । ‘नेपाल विशेषताको समाजवाद हामी आफैँले प्रतिपादन गर्नुपर्छ भन्ने झलनाथको खनालको दृष्टिकोण हो’, उनले भने, ‘अध्यक्ष नेपालले यसमा अलि फरक धारणा राख्नुभयो ।’

स्थायी कमिटी सदस्य बलराम बास्कोटाले महाधिवेशनको ढोका खुलेसँगै विचारको बहस पनि सुरु भएको बताए । ‘महाधिवेशनको ढोका खुल्यो । महाधिवेशनको ढोका खुलेपछि वैचारिक मतभिन्नताको व्यवस्थापनका लागि पनि यस किसिमका बहसलाई अस्वाभाविक मान्नु हुँदैन’, बास्कोटाको भनाइ छ  । उनले राजनीतिक प्रतिवेदन तयार गर्ने कमिटी बनेपनि डकुमेन्ट नबन्दै अहिले बहस भएपनि यसले पार्टीलाई सही दिशातर्फ लैजाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप