शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रमण

नेपाल भ्रमणमा भारत र चीनको प्रतिस्पर्धा

बुधबार, १७ माघ २०८०, १४ : ४५
बुधबार, १७ माघ २०८०

काठमाडौँ । पछिल्लो समय नेपालमा चीन र भारतका उच्चस्तरीय भ्रमण बाक्लिएका छन् । नेपालमा आफ्नो वर्चस्व बढाउन दुई देशबिच प्रतिस्पर्धा नै देखिएको छ ।

एउटा देशको उच्चस्तरीय भ्रमण हुनासाथ त्यसको काउन्टर दिन अर्को देशले भ्रमण गरेकै हुन्छ । र, ती भ्रमण विभिन्न बहानामा हुने गरेका छन् । कोही पार्टीको निमन्त्रणामा आउँछन् भने कोही सरकारको निमन्त्रणामा, कोही विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका हुन्छन् ।

पुस १९ गते भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएकै दिन चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा चीनको टोली नेपाल आएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको बेला भारतबाट पनि उच्चस्तरीय टोली नेपाल आएर फर्किएका छन् ।

उपमन्त्री सुन नेपालमा रहेकै बेला ‘रअ’ पूर्व अधिकारी एवं भारत सरकारका सुरक्षा विज्ञ एबी माथुर नेपाल भ्रमणमा आएका छन् । इण्डिया फाउण्डेशन र साउथ एसियन स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका उनले नेपालमा उच्चस्तरीय भेटघाट गरेका छन् । सोही कार्यक्रममा भाग लिनका लागि इण्डिया फाउण्डेशनका निर्देशक राम माधव, भारतीय जनता पार्टीका प्रवक्ता डा.गुरु प्रकाशलगायत अधिकारी आएका थिए ।

जतिबेला बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स प्रधान सेनापति, राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्रीसँग छुुट्टाछुट्टै भेटघाट गरिरहेका थिए, त्यतिबेला माथुर पनि उच्चस्तरीय भेटघाटमा व्यस्त थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले पनि प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटघाट गरी फर्किसकेका छन् । बुधबार माथुर पनि भारत फर्किन लागेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदको एउटा टोली यतिखेर भारत भ्रमणमा छ भने फेब्रुअरीको दोस्रो साता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणाको नेतृत्वमा २० जनाको टोली भारत भ्रमणमा जाने तयारीमा छ ।

पछिल्लो समय नेपालका जनप्रतिनिधिहरुलाई विभिन्न कार्यक्रममा चीनले निम्त्याउँदै आए पनि कोरोना महामारीपछि भारतमा नेपाली जनप्रतिनिधिको भ्रमण लगभग शून्यको अवस्थामा थियो । तर अब भारतले पनि नेपाली जनप्रतिनिधिलाई निम्त्याउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप