बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पूजा

पशुपति मन्दिरमा दैनिक कति चढाइन्छ दुग्धजन्य पदार्थ ?

फलफूलदेखि चामल, दाल, तरकारी, मसला पनि दैनिक पूजाका लागि आवश्यक
बिहीबार, १८ माघ २०८०, १५ : ०५
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकास्थित पशुपतिनाथ मन्दिरमा पूजाका लागि दैनिक दुध, घिउ, दही लगायत विभिन्न सामग्री प्रयोग हुँदै आएको छ । दैनिक रुपमा हुने नित्यपूजाका लागि ती सामग्री प्रयोग हुँदै आएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाका लागि ६ सय ग्राम घिउ, ९ लिटर दुध र १ लिटर दही दैनिक रुपमा प्रयोग हुँदै आएको छ । यसलाई आधार मान्ने हो भने पशुपतिनाथ मन्दिरमा पूजाका लागि मासिक १८ किलो घिउ, २७० लिटर दुध र ३० लिटर दही खपत हुन्छ ।

पशुपति मन्दिरमा फलफूल, फूलमाला, तरकारी, मसला, खुवाको पेंडा, बत्ती, कपडा, पिठो, चमाल, जौ, तिल लगायतका सामग्री एक दिनमा करिब २० देखि २२ हजार रुपैयाँ बराबरको प्रयोग हुने कोषका निमित्त उपनिर्देशक तथा प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

पूजाका सामग्री दैनिक रुपमा जोहो गर्न कोषले हिमालयन शम्भु कम्पनीलाई टेण्डरमार्फत जिम्मेवारी दिएको छ । सो कम्पनीका अमन थापाले स्थानीय बजारबाट दैनिक रुपमा ती सामग्री आपूर्ति गर्दै आएको बताए ।

कोषका प्रवक्ता अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा हुने दैनिक पूजामा मौसम अनुसारको फल चढाइन्छ । स्याउ, अनार, मौसम, आँप, सेतो अंगुर, सुन्तला, नासपातीजस्ता मौसम अनुसारका पाँचथरी फल दैनिक २० केजी प्रयोग हुने उनले बताए । यस अतिरिक्त केरा २५ दर्जन दैनिक प्रयोग हुने गरेको उनको भनाइ छ ।

यस्तै दैनिक ३० वटा माला, मौसम अनुसारका फूल ४ पाथी, तरकारीमा रातो आलु–१ केजीका साथै काउली, परवल, बन्दा, फर्सी लगायत मौसम अनुसारका तरकारी–२ केजी चढाइने उनले सुनाए ।

पूजामा रायोको साग, चम्सुर, पालुङ्गो, तोरी र मौसम अनुसारको सागसब्जी गरी दैनिक ६ कल्ली प्रयोग गरिन्छ ।

तरकारी मसला (२३१ ग्राम) को प्याकेट, बेसार ४० ग्राम, खुर्सानी ४० ग्राम, जिरा ५० ग्राम, अदुवा ५० ग्राम, हिङ १ ग्राम, नुन ५० ग्रामको १ प्याकेट, पेंडा खुवाको २५ ग्रामको ५ गोटा, पान–१० बिरा पनि दैनिक पूजामा प्रयोग हुने गरेको छ ।

यस अतिरिक्त भिमसेन पाती (सग्ला पात भएको मझौला साइजको) ४ मुठा, बेलपत्र ५१ पत्ताको मुठा (त्रिदल छिद्र नभएको सग्लो) १ मुठा प्रयोग हुने अधिकारीले सुनाए ।

सुतीको सेतो धोती (४.५ मिटरको) किनारा भएको १ थान, भुवादारी रुमाल २४×४० इन्चको–७ थान, कोरा कपडाको रुमाल २४×४० इन्चको भुइँ पुछ्ने २ थान, कोरा कपडाको रुमाल ६५×६५ इन्चका ५ थान दैनिक प्रयोग हुँदै आएको आएको छ ।

दैनिक पूजामा १५ किलो बासमती चामल चढाउने गरिएको छ । यस्तै, दाल (रहर, मुंग, मास, मुंगी छाँटा) १.७५ किलो प्रयोग हुने अधिकारीले बताए ।

यसैगरी सिन्दुर–३ ग्राम, पञ्चबत्ती मलमल कपडाको एक सुते लम्बाई ९ इन्चको १० गोटा चढाइन्छ । कपासको ५ सुते बत्ती १०० वटा भएको–१ मुठा, सुकेको सिङ्गो नरिवल (२०० ग्राम ) भन्दा बढी तौल भएको, सिन्के धुप कम्तीमा २८ वटा भएको १ प्याकेट, कपुर प्रति पिस ५ ग्राम भएको ३० ग्राम प्रयोग हुने गर्दछ ।

जौ ३० ग्राम, तिल २५ ग्राम गरी ५५ ग्रामको १ प्याकेट, महाधुप (नमुना अनुसार) १०० ग्राम, तेल (सूर्यमुखी र तोरीको आवश्यकता अनुसार) २ लिटर चढाइने अधिकारीले उल्लेख गरे ।

हिङ १ ग्राम, चिनी ६ सय ग्राम, गहुँको पिठो ६ सय ग्राम, खिर मसला १८० ग्रामको प्याकेट (काजु ३० ग्राम, दाख ३० ग्राम, नरिवल ३० ग्राम, क्याबदाम ३० ग्राम, दालचिनी १० ग्राम, अलैची २० ग्राम, छोकडा ३० ग्रामको) १ प्याकेट आवश्यक पर्छ ।

यस्तै, दाना मिश्री २५ ग्रामको १ प्याकेट, चिउरा ताइचिन १ के.जी., खाने मसला ३० ग्रामको (दाख ५ ग्राम, काजु १० ग्राम, नरिवल १० ग्राम, छोकडा ५ ग्रामको) १ प्याकेट, कपासको हातले कातेको ५ सुते आरती बत्ती १ बित्ता लम्बाईको १०० वटासहितको १ मुठा, जनै–६ जोर दैनिक रुपमा प्रयोग हुँदै आएको प्रवक्ता अधिकारीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप