बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

पक्राउ परेका अधिकृत नरवीर खड्काको बयान : अध्यागमनमा घुस खान सहजीकरण समिति नै छ

प्रतिव्यक्ति दैनिक ४० देखि ५० हजार कमिसन आउँछ
बिहीबार, १८ माघ २०८०, २० : १४
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । २०८० कात्तिक १४ गते त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विभिन्न देशमा जान लागेका कौशिला मगर र लक्ष्मी राईको कागजात शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले उनीहरूको कागजात नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठायो । उनीहरूको साथबाट हवाई यात्रा अनुमति समेतका कागजातहरू शङ्कास्पद देखिएको तथा सम्बन्धित एयरलाइन्सका कर्मचारीहरूसँग समन्वय गर्दा समेत आवश्यक कागजातहरू पूरा नभएको देखिएकाले त्यस सम्बन्धमा थप छानबिन गर्न भन्दै उनीहरूको पासपोर्ट सहितका कागजात अनुसन्धानका लागि पठायो ।

अनुसन्धान गर्दा कौशिला मगर र लक्ष्मी राईको श्रम स्वीकृति लगायतका कागजातहरू नक्कली रहेको पुष्टि भयो । उनीहरूसँग बयान लिँदा आफूहरू कुवेत जानको लागि श्रम स्वीकृति र पुलिस रिपोर्टको कागजात चाहिन्छ भनी गीता शाह नाम गरेकी महिलाले पैसा लिएर बनाइदिएको भन्ने बयान दिए । सोही बयानका आधारमा गीता शाह र उनीसमेतको बयानमा अरुण दाहाललाई प्रहरीले पक्राउ गर्‍यो ।

उनीहरू पक्राउ परेपछि गीता शाहले अरुण दाहालमार्फत विदेश जाने विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई दिने गरेको तथा अरुण दाहाललाई सोधपुछ गर्दा गीताशाह मार्फत आएका विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई ट्राभल्समा काम गर्ने सरोज कुमार यादवलाई दिने गरेको र निजले एयरपोर्टमा सेटिङ मिलाउने गरेको बयान दिए । साथै अरुणको बयानमा अध्यागमन लगायतका स्थानमा सेटिङ गरेबापत यादवले महिलाको हकमा ५० हजार र पुरुषको हकमा १८ हजार रुपैयाँ लिने गरेको तथा सो रकम गीता शाहले नै दिने गरेको बयान दिए ।

सोही बयानका आधारमा २०८० मङ्सिर १८ गते सरोजकुमार यादव पनि पक्राउ परे । पक्राउपछि लिइएको मौकाको बयानमा यादवले आफूले पर्यटक भिसामा विदेश जाने व्यक्तिहरूको टिकट काट्ने, एयरपोर्ट भित्रको सम्पूर्ण प्रक्रिया मिलाउने काम गर्छु, एजेन्टले दिएको नामावली अध्यागमन कार्यालयका कर्मचारी नरवीर खड्कालाई पठाई प्रतिव्यक्ति १५ हजार दिने गरेको छु, निजलाई हालसम्म ४ लाख रुपैयाँ जति दिएको छु भनी बयान गरे ।

सरोज कुमार यादवकै बयानका आधारमा प्रहरीले मङ्सिर २६ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत नरवीर खड्कालाई पनि पक्राउ गर्‍यो । पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौकाको बयान गर्दा खड्काले आफूले सेटिङमा काम गर्ने गरेको र त्यसमा अध्यागमनकै कर्मचारीसमेत मिलेको र दैनिक १५० जनासम्मलाई सेटिङमा पठाउने गरिएको तथा त्यसरी सेटिङमा पठाएबापत आउने रकम सिफ्टमा खटिएका अध्यागमन अधिकृतहरुबिच बाँडेर लिने गरेको बयान दिए । खड्काले प्रहरी कार्यालयमा दिएको भिडियो बयानमा उनले को कससँग कसरी सम्बन्ध भयो र कसरी काम हुन्छ भन्ने समेत बताए । अपराध अनुसन्धान कार्यालयमा खड्काले दिएको बयानको ब्यहोरा यस्तो छ ।

‘म बिगत २०७९ साल माघ महिनादेखि अध्यागमन कार्यालय एयरपोर्टमा कार्यरत रहेको छु, मेरो कार्यालयमा कार्यरत अधिकृत १३० जना छन्, २२/२४ जना सुब्बा, अपरेटरहरू ८/९ जना र प्रमुख अधिकृत १ जना छन् । मेरो कार्यालयमा ३ सिफ्टमा ड्युटी विभाजन हुन्छ । भिजिट भिसामा सेटिङ मिलाउने एजेन्ट एन्ड होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, लाल बहादुर भगत, मनोज लामा, रामेछाप घर हुने पदम लामा, प्रकाश चौधरी समेतसँग २०८० साल अषाढ महिनादेखि मिलेमतो गरी पुरुषको १० देखि १५ हजार, महिलाको ४० देखि ५० हजारसम्म, १ पटकमा १० देखि २० जना, कहिले काहीँ १०० देखि १५० जना सम्मको रकम लिई भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरू मार्फत लिने गरेको भनेको ठाउँहरूमा लिने गरी उनीहरूले रकम पठाउँथे, उक्त भिसाको लागि सहजीकरणको लागि एउटा समिति बनेको हुन्छ । समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो समेत हुनुहुन्छ । सरोज यादवले मलाई पटक पटक गरी ३/४ लाख जति दिएको । भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरू मार्फत समितिमा उक्त रकम कहाँ कहाँ साथीहरूले विभाजन गर्छन् मलाई जानकारी हुँदैन, औसतमा प्रत्येक कर्मचारीको भागमा मेरोबाट गएको ४०/५० हजार हुन्छ, हामीहरूको मनोज लामा र पदम लामा मुख्य सेटिङ मिलाउने एजेन्ट रहेको । मेरो साथमा फेला परेको २ लाख पदम लामाले दिएको हो । लेखिएको ब्यहोरा ठिक साँचो छ, फरक छैन, फरक पारी झुट्टा ब्यहोरा लेखि लेखाएको ठहरे कानुन बमोजिम सहुँला बुझौँला ।’

यसरी अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काले पक्राउ परे लगत्तैको मौकाको कागजमा अध्यागमन कार्यालयमा सेटिङबाटै घुस खान सहजीकरण समिति नै बनेको स्वीकार गरेका छन् । अनि त्यसरी सेटिङमा मान्छे पठाएबापत दैनिक ४० देखि ५० हजार रुपैयाँ भागमा पर्ने र त्यस कार्यमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो समेतको संलग्नता रहेको खुलासा गरे । त्यसपछि नरवीर खड्काकै बयानमा मनोज तामाङ र पदम लामासमेत पक्राउ परे ।

  • वकिल भेटेपछि फेरियो बयान

दुई लाख नगद घुस लिइसकेपछि पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले जब आफ्ना कानुन व्यवसायी भेटे, त्यसपछि भने बयान फेरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत सुरेशराज भट्टले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालसमक्ष बयान लिने क्रममा भने आफ्नो बयान फेरेका छन् ।

उनले बयानमा भनेका छन्,

‘मिति २०८०।०८।२६ गते जिल्ला काठमाडौँ, का.म.न.पा.वडा नं. ९ सिनामंगलमा खडा गरेको खानतलासी बरामदी मुचुल्का देखाउँदा देखि पाएँ । उक्त बरामदी मुचुल्कामा उल्लेखित बरामद भएको दशीको सामानहरू मेरो साथबाट बरामद भएको हो । मेरो साथबाट फेला परेको रु.१,०००।– (एक हजार) दरको नोटको १००/१०० थान रहेको दुई वटा गड्डीको गरी दुई लाख रुपैयाँ मलाई मनोज तामाङले दिएका हुन् । मनोज तामाङ निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । निजसँग मेरो चिनजान भएको ३ वर्ष जति भयो । उक्त दुई लाख रुपैयाँ मैले सापटी मागेको पैसा हो । अन्य विदेशी मुद्राहरू रहरले गर्दा साथमा राखेको हुँ । अन्य कागजातहरू अफिस कार्यालय सञ्चालन गर्दा प्रस्थान कक्ष र आगमन कक्षमा खटिएका कर्मचारीहरूबाट दर्जा अनुसार खाजा खर्च व्यवस्थापनको लागि पैसा उठाउनको लागि लेखिएका कागजहरू हुन् ।

मनोज तामाङले उक्त रु. २,००,०००।– (दुई लाख रुपैयाँ) होटल बाल्टिक ईनको काउन्टरमा छोडी दिन्छु लिएर जानु होला भनेका थिए । सो दिन बेलुकाको ७ बजे ड्युटी सकिएपछि कार्यालयबाट निस्की होटल बाल्टिक ईनमा गई निज मनोज तामाङले मलाई दिन भनी काउन्टरमा छाडेको मैले सापटी मागेको रु.२,००,०००।– (दुई लाख रुपैयाँ) बुझी सो पश्चात् डेरा कोठामा जान लागेको अवस्थामा प्रहरी टोलीले मलाई नियन्त्रणमा लिई मेरो शरीर खानतलासी गर्दा रु.२,००,०००।– (दुई लाख रुपैयाँ) फेला पारकोले पक्राउ गरी लिई आएका हुन् । प्रहरी टोलीले एक्कासि घेरा हाली पक्राउ गरेकोले म आत्तिएर हतोत्साहित भई तत्काल कागज गर्दा उक्त कुरा लेखाएको हुँ । मेरो सरोज कुमार यादवसँग चिया खाने क्रममा चिया पसलमा चिनजान परिचय भएको थियो ।

सो पश्चात् कहिले काहीँ फोनमा कुराकानी हुने गर्थ्यो । निज सरोज कुमार यादवले मेरो नाम समेत लिई वैदेशिक रोजगारीको लागि कुवेत र दुबई पठाउनको लागि निज नरवीर खडकालाई पुरुषको हकमा रु. १६,०००।– (सोह्र हजार रुपैयाँ) र महिलाको हकमा रु.४६,०००।– (छयालिस हजार रुपैयाँ) सम्म दिने गर्थे भनी बयानमा खुलाई लेखाई दिएका रहेछन्, मैले निजसँग रकम लिएको छैन । मलाई फसाउने नियतले मेरो नाम लिएको हुनु पर्छ, मैले निजसँग रकम लिने काम गरेको छैन ।’

प्रहरीले नरवीर खड्कासँगै थप बयान समेत लिएको छ । जब मनोज तामाङ र पदम लामा पक्राउ परे, उनीहरूको बयानमा खुलेका थप कुराहरूका बारेमा प्रहरीले नरवीरसँग थप बयान लियो ।

बयानमा नरवीरले यस्तो भनेका छन् :

‘मैले मौकाको कागज गर्ने क्रममा नाम खुलाएका मध्ये मनोज तामाङ र पदम लामा हाल पक्राउमा परी यसै मुद्दामा अनुसन्धान भई रहेको छ । अन्य लाल बहादुर भगत र प्रकाश चौधरीसँग मेरो फोन सम्पर्क हुने गर्दथ्यो । लाल बहादुर भगत र प्रकाश चौधरीले वैदेशिक रोजगारमा जाने मानिसहरूलाई पठाउनको लागि टुर एन्ड ट्राभल्स सञ्चालन गरेका छन् ।

निजले सञ्चालन गरेको ट्राभल्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक छ भनी बताएका थिए । निजहरू दुवै जनासँग मेरो भेटघाट हुने गर्थ्यो । भेटघाट हुँदा सन्चो बिसन्चो, व्यापार व्यवसाय तथा रोजगारीको बारेमा कुराकानी हुने गर्थ्यो । कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल पीताम्बर रिमाल, सुजन फागो समेत म कार्यरत रहेको अध्यागमन कार्यालयका म सँगै काम गर्ने अध्यागमन अधिकृतहरू हुन् । मनोज तामाङ टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । निजले वैदेशिक रोजगारीमा मानिसहरूलाई विदेश पठाउने कार्य गर्छन् । निजसँग मेरो पुरानै देखिको चिनजान छ ।

म कार्यरत अध्यागमन कार्यालयमा तीन सिफ्टमा ड्युटी हुन्छ । प्रत्येक ड्युटी सिफ्टमा ४० जना अध्यागमन अधिकृत र ८ जना सुब्बाको ड्युटी पर्ने गर्छ । तीन सिफ्टमा ड्युटी विभाजन हुन्छ । ड्युटी विभाजन गर्दा कम्प्युटर इन्जिनियरले अटोमेटिक सिस्टमबाट ड्युटी खटाउने गर्छन् भने सो ड्युटी कम्प्युटर अपरेटर लभलाईट ओली समेतले प्रस्थान अधिकृत र आगमन अधिकृतलाई उक्त ड्युटी लिस्ट भाइबरमा पठाउने गर्छन् । मेरो र यसै मुद्दामा पक्राउ परेका मनोज तामाङ, पदम लामा र सरोज कुमार यादवसँग फोन तथा ह्वाट्सएपबाट कुराकानी हुने गर्थ्यो ।

म अध्यागमन कार्यालयमा आएपछि एयरपोर्ट नजिक रहेको होटल बाल्टिक ईनका सञ्चालक आशिष भन्ने केदार बहादुर खड्कासँग चिनजान भए पश्चात् निज केदार बहादुर खड्का तथा मनोज तामाङ, पदम लामा समेतसँग होटल बाल्टिक ईनमा भेट भई कुराकानी हुने गर्दथ्यो । उक्त होटलमा म प्राय जसो खाना खान जाने गर्थे, म कार्यरत अध्यागमन कार्यालयका कर्मचारीहरू समेत खाना खानको लागि उक्त होटलमा जाने गर्छन् ।

मिति २०८०।०८।२६ गतेका बेलुका अन्दाजी ९ः०० बजेको समयमा ड्युटी सकी सो पश्चात् होटल बाल्टिक ईनमा गई मैले मेरो मोबाइल नम्बर ९८५८०४३xxx बाट उक्त होटलका सञ्चालक केदार बहादुर खड्काले प्रयोग गर्ने गरेको मोबाइल नम्बर ९८४९४३८xxx मा फोन गरी निजसँग कुराकानी भए पश्चात् निजले उक्त फोन काउन्टरमा ड्युटी भएका कर्मचारीलाई फोन दिए पछि निजहरू बिच कुराकानी भई काउन्टरबाट एक/एक लाख रुपैयाँ भएको दुई वटा गड्डी गरी दुई लाख रुपैयाँ मलाई दिएका हुन्, उक्त रुपैयाँ मैले लिई गएको हुँ ।’

थप बयानमा नरवीरले अध्यागमन कार्यालयमा सेटिङ नगरेको कुरा बताएका छन् ।

  • लिस्ट लिएर हिँड्थे नरवीर

अध्यागमन कार्यालयमा सेटिङका लागि एजेन्टहरू सरोज कुमार यादव, मनोज तामाङ, पदम लामा आदि व्यक्तिहरूले सेटिङ गर्नुपर्ने व्यक्तिहरूको नामावली नरवीरको ह्वाट्सएप नम्बरमा पठाउने गर्दथे । त्यसरी पठाएको नामावली नरवीरले प्रिन्ट गरी वा हातैले टिपी अध्यागमन कार्यालयमै रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो लगायतका व्यक्ति वा सहजीकरण समितिमा पठाउँथे । उनीहरूले अगाडि रहेको नामहरू हेरि सोही आधारमा लिस्टमा भएका व्यक्ति भए सहज ढङ्गले पठाउने र लिस्टमा नभएका व्यक्ति भए केरकार गरी फिर्ता समेत पठाउने गरेका थिए ।

भिजिट भिसाका नाममा मानव तस्करी, लिखत कीर्ते र संगठित अपराध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार काठमाडौँ जिल्ला अदालतमा ९ अध्यागमन अधिकृतसहित २२ जनालाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि लिखत कीर्तेको कसुरमा ७ वर्षसम्मको कैद र ७० हजार रुपैयाँसम्मको जरिवानाको माग गरिएको छ । उनीहरूले समूह बनाई कार्य गरेको कारण संगठित अपराधको सो सजायको आधा गरी कुल १० वर्ष ६ महिनासम्मको कैद सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बिहीबार मुद्दा दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप