आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

सेटिङ मिलाउने पदम लामाको बयान : एकैपटकमा ६६ जना पठाएँ, नरवीरलाई २६ लाख ४० हजार बुझाएँ

बिहीबार, १८ माघ २०८०, १६ : ५०
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । भिजिट भिसाका नाममा नक्कली कागजात तयार पारी सेटिङमा मानव तस्करी गरेको आरोपमा बिहीबार काठमाडौँ जिल्ला अदालतमा २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अदालतमा मुद्दा दर्ता गराएका हुन् । 

२२ जनाविरुद्ध मुद्दा दर्ता गर्दा भिजिट भिसा प्रकरणमा सेटिङ गर्ने अध्यागमन कार्यालयका ८ जना, सोही कार्यालयमा पहिले काम गरी हाल अन्यत्र कार्यरत अधिकृत एक गरी कुल ९ जना नेपाल सरकारका अधिकृतमाथि पनि मुद्दा दायर गर्दैछ । उनीहरुविरुद्ध लिखत कीर्तेमा ७ वर्ष र संगठित अपराधमा त्यसको आधा गरी कुल १० वर्ष ६ महिना कैद र १ लाख ५ हजार जरिवानाको मागदावी लिएर मुद्दा दर्ता गरिएको हो । 

यस मुद्दामा मुख्यतः ४ जना पात्र जोडिएका छन् । अध्यागमन अधिकृत नरवीर खड्का, विमानस्थलमा सेटिङ गर्ने सरोज कुमार यादव, मनोज तामाङ र पदम लामा । त्यसबाहेक नक्कली कागजात निर्माण गर्ने, दलालको काम गर्ने, पैसाको हिसाब मिलाउने लगायतका कार्यमा संलग्न र विदेश जान खोज्ने व्यक्तिसमेत जोडिएका छन् । 

हाल प्रतिवादी बनाइएका सरोज कुमार यादवको बयानका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेका थिए । उनै नरवीरको बयानका आधारमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङका सालो नाता पर्ने पदम लामासमेत पक्राउ परेका थिए । नरवीरलाई सेटिङमा सहयोग गरेबापतको रकम दिने काम पदम लामाले नै गरेको पाइएको छ । सोही प्रकरणमा पक्राउ परेका पदम लामाले नरवीरलाई हालसम्म १ करोड रुपैयाँ जति दिएको र एकैपटक २६ लाख ४० हजार दिएको बयान दिएका छन् । 

पक्राउ परेलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौकाको बयान गर्दा पदमले हालसम्म १ करोड रुपैयाँ नरवीरलाई घुसबापत दिइसकेको र एकैपटकमा २६ लाखभन्दा बढी रकम दिएको बयान दिएका हुन् । 

  • रातोपाटीलाई प्राप्त पदम लामाको मौकाको बयान यस्तो छ :

‘म बिगत २ वर्ष पहिलादेखि जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल वडा न. ३ बस्ने मेरो भिनाजु नाता पर्ने मनोज लामाले काठमाडौँको सिनामंगलमा सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा काम गर्छु । मैले भिजिट भिसामा जाने व्यक्तिहरूको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोज तामाङले भने अनुसार रकम दिने गरेको हो । मोबाइल नम्बर ९८५८०४३xxx र ९८२६०७०xxx नम्बर प्रयोग गर्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई प्रतिव्यक्ति पुरुषको रु. १७ हजार र महिलाको रु. ५० हजार दिने गरेको । मैले मिति २०८०।०८।२६ गते दिउँसो होटल बाल्टिकको काउन्टरमा एकजना महिला स्टाफलाई नरवीर खड्कालाई २ लाख दिनु भनी छोडेको थिएँ । 

२०८०।०८।०४ गते नरवीर खड्का हाम्रो ट्राभल्समा आई मेरो भिनाजुबाट रु. ३,५०,०००।– लिएको हो । निमा छिरिङ ट्राभल्समा कार्यालयको डे बुकमा उल्लेखित १६ जनालाई सेटिङमा पठाएको हो । नरवीर खड्का सरले कहिले हाम्रो कार्यालयमा र कहिले होटेलमा रकम लिने गर्नु हुन्थ्यो । ६६ जनाको रु. २६,४०,०००।– दिएको हो । नरवीर खड्काले डिउटीमा रहेका अधिकृतहरूलाई मिलाउनु हुन्थ्यो अन्यलाई हामी चिन्दैनौ । हालसम्म करिब ३०० जना जति अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कामार्फत पठाएको हो । हालसम्म नरवीर खड्का सरलाई एक करोड सेटिङको लागि दिएको हो ।’

यसरी २०८० मंसिर २७ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौकाको बयान गर्ने क्रममा पदम लामाले सेटिङमा मानिसहरू पठाउने गरेको र त्यसवापत अध्यागमन अधिकृत नरवीर खड्कामार्फत रकम दिने गरेको बयान दिएका छन् ।

  • हेर्नुहोस्, बयानको ब्यहोरा

Padam Lama Aparadh Mahasakha Kagaj

पदम लामाले पक्राउ परेलगत्तै दिएको बयानमा अध्यागमन अधिकृत नरवीर खड्कालाई हालसम्म एक करोड रुपैयाँ दिएको र एकैपटकमा २६ लाख रुपैयाँभन्दा बढी रकम दिएको स्वीकार गरेपनि पछि सरकारी वकिलका सामुन्ने बयान गर्ने क्रममा भने हालसम्म दुई लाख रुपैयाँ मात्रै दिएको भनेका छन् । यद्यपि मौकामा बयान गर्दा आफूले भने अनुसारकै ब्यहोरा लेखिएको भन्दै विरोधाभासपूर्ण बयान दिएका छन् । 

सरकारी वकिलका सामुन्ने दिएको बयानमा लामाले यस्तो भनेका छन्,

‘... यसै मुद्दामा पक्राउमा परी अनुसन्धान भई रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्कासँग मेरो चिनजान भएको ५/६ महिना भयो । अध्यागमन कार्यालयमा भिजिट भिसामा हाम्रो टुर एन्ड ट्राभल्सबाट टिकट बनाई विदेश जान लागेका मानिसहरूलाई पठाउनु परेमा मनोज तामाङले नरवीर खडकालाई भन्ने गर्थे । निजले भने बमोजिम कहिले काहीँ मैले समेत निजसँग ह्वाट्सएपबाट कुराकानी गरी भिजिट भिसामा विदेश जान लागेका मानिसहरूको लिष्ट निज नरवीर खड्कालाई ह्वाट्सएपमार्फत पठाउने गर्थे । नरवीर खड्का र मनोज तामाङबिच पुरानो चिनजानको साथी भएकाले निजहरू बिच के–कुन समझदारीमा के–कति रकम लिएर अध्यागमनका कर्मचारी नरवीर खड्काले मनोज तामाङले भने अनुसार नक्कली कागजातबाट भिजिट भिसामा पठाउने गर्थे सो बारेमा मलाई केही थाहा भएन ।

मैले मनोज तामाङले सञ्चालन गरेको टुर एन्ड ट्रभल्समा काम गर्ने भएकोले निज मनोज तामाङले कहिले काहीँ निज अध्यागमनका कर्मचारी नरवीर खड्कालाई रकम दिन भनी पठाउने गर्थे । मैले निज मनोज तामाङले भने बमोजिम रकम लगी एयरपोर्ट नजिक रहेको होटल बाल्टिक ईनको काउन्टरमा छोड्ने गर्थे । मिति २०८०।०८।२६ गते बिहान १२ः०० बजेको समयमा मेरो साहु मनोज तामाङले मलाई एक/एक लाख भएको २ वटा गड्डी रु. २ लाख रुपैयाँ दिई यो पैसा लगी एयरपोर्ट नजिक रहेको होटल बाल्टिक ईनको काउन्टरमा लगी छोडी दिनु भनी पठाएकोले मैले उक्त दुई लाख रुपैयाँ होटल बाल्टिक ईनको काउन्टरमा लगेर दिएको हुँ । मैले उक्त दुई लाख दिँदा सो काउन्टरमा एक जना महिला थिइन् निजको नाम मलाई थाहा भएन । मिति २०८०।०८।२७ गतेको प्रहरी प्रतिवेदन साथ पेश गरेको डे बुक लेखेको पाना–४ देखाउँदा देखि पाए । उक्त लिस्टमा नाम भएका व्यक्तिहरूको लिस्टमा उल्लेख भए बमोजिमको रकम लिई मनोज तामाङले भने बमोजिम उक्त टिकट मैले काटेको हुँ । भिजिट भिसामा जाने महिला तथा पुरुषहरूको कागजात मिलाउने कार्य मैले गरेको छैन । मनोज तामाङले मिलाउने गरेको भए मलाई केही थाहा भएन । मैले मनोज तामाङले लाए, अह्राए बमोजिम टिकट काट्ने काम गरेको हुँ ।

खड्का सर लेखेको अक्षर मेरो होइन, रु.३,५०,०००।– (तीन लाख पचास हजार रुपैयाँ) के–कुन प्रयोजनको लागि खड्का सर भन्ने व्यक्तिको भागमा छुट्याएका हुन् सो बारे मलाई केही थाहा भएन । मिति २०८०।०८।२७ गते मैले गरेको मौकाको कागजमा म पदम लामाको नामको अगाडी भएको रेखात्मक र लेखात्मक सहिछाप मेरो हो, उक्त सहिछाप म आफैले गरेको हुँ । मैले नरवीर खड्कालाई हालसम्म दिएको भनेको रु.२,००,०००।– (दुई लाख रुपैयाँ) मात्र हो । अन्य समयमा मनोज तामाङले नै नरवीर खड्कालाई आफै रकम दिने गर्थे, निजले हालसम्म के–कति रकम दिए सो बारेमा मलाई  थाहा छैन । मिति २०८०।०८।२७  गते म पक्राउ परि तत्काल प्रहरी टोलीले मलाई मौकाको कागज गराउँदा कुनै किसिमको डरत्रास दिने, धम्काउने, कुटपिट गर्ने कार्य गरेको थिएन । मैले भने बमोजिमको ब्यहोरा कम्प्युटरमा टाइप गरी निकालेको कागज हो । मैले उक्त मौकाको कागजमा सहिछाप गर्दा राम्रोसँग पढी हेरी सहिछाप गरेको हुँ ।’

यसरी मनोज लामाले भनेको जस्तै पदम लामाले दिएको मौकाको बयान एकै मिलानको रही नरवीरलाई हालसम्म एक करोड रुपैयाँ बुझाएको बयान दिएको भए पनि पछि बिगो वा जरिवाना वा छुट्ने भएमा धरौटी बढ्न सक्ने भन्दै उनले हालसम्म दुई लाख रुपैयाँ मात्रै दिएको बयान दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप