आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

सेटिङ मिलाएबापत अध्यागमन अधिकृत खड्कालाई १ करोड बुझाएँ : मनोज तामाङ

फोनमा मात्र ‘कहाँ भेट्ने भन्थेँ’, नगदै बुझ्थे
बिहीबार, १८ माघ २०८०, १६ : ५४
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्कासँग मिलेर फर्जी कागजात बनाएका मानिसहरूलाई भिजिट भिसामा विदेश पठाउने गरेको बयान दिएका छन् । प्रहरी समक्षको बयानमा तामाङले खड्कासँग सेटिङ मिलाएर भिजिट भिसामा करिब ३ सय जना मानिसलाई विदेश पठाएको र त्यसबापत खड्कालाई १ करोड रुपैयाँ जति बुझाइसकेको पनि बताएका हुन् ।

नक्कली भिजिट भिसा प्रकरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकृत नरवीर खड्कालाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । खड्का पक्राउ परेको भोलिपल्ट नै प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँको बौद्ध बस्ने ट्राभल्स सञ्चालक ३७ वर्षीय मनोज तामाङ र उनका सालो नाता पर्ने ३३ वर्षीय पदम लामालाई पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालय बबरमहलमा जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल समक्ष दिएको बयानमा पनि तामाङले भिजिट भिसामा जाने व्यक्तिहरूको सेटिङ मिलाउने काम आफूले गर्ने गरेको स्वीकार गरेका छन् । 

हाल फरार रहेका ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत रहँदा आफूसँग राम्रो सम्बन्ध रहेको तामाङको भनाई छ । अध्यागमनको काम गराउनु परेमा आफूले कुँवरसँग नै गराउने गरेको बयानमा उल्लेख गरेका छन् । 

यता प्रहरीसँगको बयानमा तामाङले कुँवर सरुवा हुन अघि उनीसँग मिलेर १ सय देखि १२० जना जतिलाई भिजिट भिसामा पठाएको बताएका छन् । यसबापत आफूले कुँवरलाई पटक–पटक गरी १५–२० लाख रुपैयाँ बुझाएको उनको भनाई छ ।

पछि कुँवर सरुवा भएर जाने क्रममा उनले अध्यागमन कार्यालयमा रहेका नरवीर खड्कासँग आफूलाई चिनजान गराइदिएको तामाङले बताएका छन् । बयानमा खड्कासँग उनको चिनजान भएको २–३ वर्ष भएको उल्लेख गरेका छन् । कुँवर सरुवा भएर गएपछि उनले गर्दै आएको काम खड्काले गरिदिने गरेको तामाङको भनाई छ । 

तामाङले आफूले अध्यागमन कार्यालयका अन्य कर्मचारीहरूलाई नचिन्ने र खड्कासँग मात्र फोन र ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलाएका छन् । ‘फोनमा हाम्रो लामो कुराकानी हुँदैन थियो । कहाँ भेट्ने र सञ्चो बिसञ्चोको कुरा मात्र हुन्थ्यो,’ उनले बयानमा भनेका छन्, ‘पछि हामीहरूको भिजिट भिसामा विदेश जाने व्यक्तिहरू के कति पठाइयो सोको हरहिसाब हुने गर्थ्यो ।’

आफ्नो काम गरिदिए बापत तामाङले खड्कालाई आर्थिक सहयोग गर्थे । उनका अनुसार खड्काले कहिलेकाहीँ आफै पनि पैसा माग्ने गर्थे । उनले मागे अनुसार आफूले पटक–पटक रकम दिएको उनको भनाई छ । सो रकम खड्काले नगदै बुझ्ने गरेका थिए ।

‘म पक्राउ पर्नुभन्दा अघिल्लो दिन खड्काले दुई लाख रुपैयाँ मागेका थिए,’ उनले भनेका छन्, ‘मैले उक्त २ लाख रुपैयाँ मेरो ट्राभल्समा काम गर्ने पदम लामालाई खड्कालाई दिनु भनेर बाल्टिक होटलमा छाड्न पठाएको थिएँ ।’ सो रकम प्रहरीले नरवीर खड्काको साथबाट बरामद समेत गरेको थियो ।

  • रातोपाटीलाई प्राप्त मनोज तामाङको मौकाको बयान यस्तो छ :

मैले विगत २ वर्ष पहिला काठमाडौँको सिनामंगलमा मेरो श्रीमती सृजना लामाको नाममा निमा छिरिङ ट्राभल्स सञ्चालन गरेको छु । मेरो ट्राभलसमा मेरो साला नाता पर्ने पदम लामा समेत भई भिजिट भिसामा जाने व्यक्तिहरूको एयरपोर्टमा सेटिङ मैले गर्छु । मैले अन्तर्राष्ट्रिय टिकट काट्ने अनुमति लिएको छु । भिजिट भिसामा जाने मानिसहरू एजेन्टहरूले ल्याउने गर्छन् विदेशमा रहेको कमला लामा, राम प्रसाद भण्डारी, HR Tours & Travels फोन नं.९८४१४११xxx हो, उहाँ हाल प्रहरी वृत्त महाराजगन्ज काठमाडौँमा यसै मुद्दामा थुनामा, हुनुहुन्छ । फुटपाथका एजेन्ट अकबर मिया रौतहट, सकिल मिया नेपालगन्ज, मुन्ना अन्सारी रौतहट, विनोद शाह गोर्खा, पवन श्रेष्ठ स्याङ्जा समेतले दिने गर्दथे प्रतिव्यक्ति एजेन्टबाट लिएको रकम मलाई रु.५,०००।– मात्र फाइदा हुन्थ्यो।

यसरी भिजिट भिसामा हामीले अध्यागमनका कर्मचारी ९८५१२३६९९५ नं.प्रयोग गर्ने तारा बहादुर कुँवर सँग पहिले भिजिट भिसाको सेटिङ मिलाई निजलाई पटक पटक गरी १५/२० लाख जति रकम बुझाएको हुँ, निजबाट १०० देखि १२० जना जतिको काम गरेको हो तत् पश्चात् तारा बहादुर कुँवर सरुवा भई गएपछि निजले नरवीर खड्का सँग परिचय गराई निज नरवीर खड्का सँग भेट भई हालसम्म भिजिट भिसाको सम्पूर्ण काम गर्ने गरेका हौँ। नरवीर खड्काबाट Setting मिलाई मैले करिब ३०० जना पठाएको र सो बापत १ करोड जति नरवीर खड्का सरलाई बुझाएको छु। बाँकी उहाँले नै अन्य कर्मचारीलाई मिलाउने गर्नुहुन्थ्यो । को-कसलाई मिलाउनुहुन्थ्यो नरवीर सरलाई नै जानकारी होला । लेखिएको ब्यहोरा ठिक साँचो छ, फरक छैन, फरक पारी झुट्टा ब्यहोरा लेखि लेखाएको ठहरे कानुन बमोजिम सहुँला बुझौँला ।

Padam Lama Aparadh Mahasakha Kagaj

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप