आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युवा राजनीतिको अबको बाटो

शनिबार, २० माघ २०८०, ११ : ५९
शनिबार, २० माघ २०८०

माघ २० गते नेकपा (एमाले)ले काठमाडौँमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुत सुखद पक्ष हो । युवाहरूका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता लगाउन सहयोग पुग्ने छ । युवा राजनीतिको कोशेढुंगा बन्ने अपेक्षाका साथ यो महोत्सवले उठान गर्नुपर्ने विषयलाई मध्यनजर गरेर या आलेख तयार गरेको छु । 

युवाहरूका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरू निर्माण गरिएका हुन्छन् । बालक, वयस्क र वृद्धहरूका आँखाबाट युवाहरूलाई फरक फरक देख्न सकिन्छ । युवा भएकै छैनबाट र युवा उमेर पार गरेकाबाट आएका निष्कर्षको सँगालो नै युवा हो भन्दा अतिशयोक्ति हुनेछैन । 

युवा जीवनको सबैभन्दा उर्वर समय हो । युवा शारीरिक रूपमा स्फूर्ति र जोस अनि मानसिक रूपमा सपनाले बेरिएको हुन्छ । युवा यथास्थितिमा रमाउँदैन । परिवर्तन, गतिशीलता र लगनशीलता युवाको पर्यायवाची हो । त्यसैले युवा क्रान्तिका जननी र समृद्धिका संवाहक हुन् । युवा के गरिरहेका छन् ? युवाको लक्ष्य कस्तो भइरहेको छ ? भन्ने कुराले त्यो देश कस्तो रहेछ भन्ने कुराको निर्क्योल निकाल्न सकिन्छ । त्यसैगरी उसको व्यक्तिगत जीवनलाई भविष्यमा कस्तो रूपमा उभ्याउने भन्ने विषयको परिचायक पनि युवा उमेर नै हो । 

युवाको विषयमा घोत्लिँदै गर्दा कुन देशको युवा भनेर पनि सोच्नु पर्ने हुन्छ । यति नै बेर अमेरिकाको युवाले के सोचिरहेको छ ?, उसले कस्तो उद्यमशीलताको बारेमा सोच्दो हो ? चीन, जापान या मलेसियाको युवाले उसकै जीवनको भविष्य कसरी कल्पना गर्दो हो र हामीजस्ता पिछडिएको देशका युवाले आफ्नै भविष्यको बारेमा, सफल जीवनको बारेको सोचाइमा कतिको तादात्म्य मिल्छ होला त ? काठमाडौँका युवा र डोल्पाको युवा बिचमा पनि हामीले फरकपना भेट्दछौँ ।

समाजको सबै पक्षमा प्रभाव पार्ने पक्ष भनेको राजनीति हो । कसैले राजनीति गर्दिन र गर्न हुँदैन भन्छ भने पनि उसले पनि राजनीति नै गरिरहेको हुन्छ । राजनीति नीतिहरूको नेता नीति हो । राजनीति ठिक हुँदा हरेक पक्षले सही गति लिइरहेको हुन्छ भने जब राजनीति बिग्रन्छ सबै पक्ष भद्रगोल अवस्थामा रहन पुग्दछ । राजनीतिलाई कतिपयले फोहोरी खेल भनेर नकारात्मक भाष्य बनाइरहेको वर्तमान सन्दर्भमा यो फोहोरलाई सफा गर्न पनि युवाले सचेतना पूर्वक राजनीति नै गर्नुपर्ने हुन्छ । 

राजनीति भनेको राज्यसत्तामा सञ्चालन गर्ने नीति हो । राजनीति गर्नु भनेको राज्यसत्ता सञ्चालन गर्नु वा सो तर्फ उद्धत हुनुलाई नै बुझिन्छ । त्यसैले कस्तो नीति भएको दल, कस्तो आचरण भएको नेता, कस्तो कार्यशैली भएको पार्टीले राज्य सञ्चालन गरेको छ भन्ने कुराले सो देशको भविष्य निर्धारण गर्दछ । यसर्थ पार्टीमा लाग्नु, राजनीति गर्नु भनेको पनि राष्ट्र निर्माणको महत्त्वपूर्ण पाटोसँग जोडिएको विषय हो । त्यसैले राजनीतिबाट युवा अलग रहन सक्दैन । 

  • नेपाली युवाको वर्तमान अवस्था

नेपाली समाज राजनीतिक आन्दोलनको माध्यमबाट हक अधिकारहरू स्थापित भई सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका काम पुरा गर्न बाँकी रहेको अवस्थामा छ । जनसङ्ख्याको एकतिहाई ओगट्ने युवा समुदायको ठुलो पङ्क्ति आर्थिक रूपमा निष्क्रिय छन् । आयमूलक क्रियाकलापमा भन्दा घरायसी क्रियाकलापमा संलग्न सङ्ख्या धेरै देखिन्छ । दिनप्रतिदिन युवाहरू बेरोजगारी बढ्दो छ । ४० लाख नेपालीहरू विश्वका विभिन्न  मुलुकहरूमा रहेको अनुमान छ । जनसङ्ख्याको ४२.५६ प्रतिशत सङ्ख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती रहेको छ ।

युवा श्रमशक्ति विदेश पलायनले, गाउँवस्तीहरु खाली हुँदै जाँदा निर्वाहमुखी खेतीमा आश्रित जनसङ्ख्या समेत बजारमाथि निर्भर हुँदै गएको छ । यसले खाद्यान्नमा समेत परनिर्भरता बढाएको छ । कृषिको वृद्धिदर सन्तोषजनक छैन । कृषिको व्यवसायीकरण हुन नसक्नु, औद्योगिक अर्थतन्त्र साँघुरिँदै जानु विदेशी लगानी अपेक्षित मात्रामा भित्रिन नसक्नु र मुलुकमा राजनीतिक अस्थिरता लम्बिँदै जानुले रोजगारीका अवसर सीमित हुँदै गइरहेका छन् । 

२ वर्ष पहिले कोरोना भाइरस (कोभिड १९) को महामारी र वर्तमान रुस युक्रेन युद्धका कारण विश्वका प्राय सबै राष्ट्रहरूमा असर परेका छन् । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू– मलेसिया, साउदी, कतार, कुवेत, यु.ए.ई., बहराइन, ओमान, जोर्डन, दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया, यु.के., क्यानडा, जर्मनी आदि जस्ता मुलुकहरूमा समेत असर गरिरहेको छ । गुगल, ट्विटर लगायतका सामाजिक सञ्जाल सञ्चालक कम्पनीले भर्खरै मात्र पनि व्यापक रूपमा रोजगारीको कटौती गरेको छ ।  वर्ल्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । प्रतिवेदनको अनुसार २०२४ मा ५०० मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ ।

यसमा चाखलाग्दो विषय रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् र श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन् । यो अवस्थामा युवाहरू ओइरो विनाको जाँतोजस्तो भएका छन् । ओइरो विना जाँतो घुमिरह्यो भने जाँतोले पिस्ने क्षमता नै नष्ट गर्दछ । त्यसैगरी युवाहरूले बिजनेस पाएनन् भने श्रम गर्ने युवाहरूको अर्ग्यानिक चरित्र गुम्न सक्ने खतरा उत्पन्न भइरहेको छ । युवाको अर्ग्यानिक चरित्र भनेको उत्पादनसँग गाँसिनु हो, उत्पादनका साधनको निरन्तर विकास गरिरहनु हो । तर युवा श्रमसँग नजोडिँदा अपराध, कुलत र डिप्रेसनतिर गइरहेको देखिन्छ ।

यसरी हेर्दा वर्तमान नेपाली युवाहरूको समस्यालाई यसरी सुत्रिकृत गर्न सकिन्छ । बेरोजगारी, सीप सहितको शिक्षाको अभाव, उद्यमशीलताको अभाव, गरिबी, पोषण र स्वास्थ्य, सामाजिक बन्धन एवं रुढीग्रस्त चिन्तन, कुलत, सामाजिक सुरक्षा र विदेश पलायन ।

युवा राजनीतिको अबको बाटो 

  • सीप सहितको शिक्षा, रोजगारी र उद्यमशीलताको वातावरण  

हाम्रो शिक्षा उद्यमशीलताको क्षेत्रमा धन कमाउन योग्य बन्ने, विज्ञानको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान र अन्वेषण गर्ने, प्रविधिको क्षेत्रमा नयाँ नयाँ प्रविधिको निर्माण गर्ने, सामाजिक क्षेत्रमा निष्ठावान् असल व्यक्ति बन्ने, यसले व्यक्तिलाई स्वावलम्बी बनाउँछ । राष्ट्रप्रति समर्पित हुन सिकाउँछ । श्रमको सम्मान गर्न सिकाउँछ । आफ्नो खुट्टामा उभिन सिकाउँछ । तर अहिले हाम्रा बच्चाहरू कक्षा ८ पास गरेपछि हलो छोड्छ, कक्षा १० पास भएपछि घर छोड्छ । कक्षा १२ पास भएपछि देश छोड्छ । हो अव यसलाई बदल्ने शिक्षा आजको आवश्यकता हो । 

दैनिक ४÷५ लाख युवाहरू श्रम नदेखेर, काम नबुझेर, काम नपाएर, सिप नभएर क्यारेमबोर्ड खेलेर दिन कटाइरहेका छन् । दिनभरि बाबुआमाले कामदार नपाउने, सोही दिन छोराछोरीले काम नपाउने अररो अवस्था सिर्जना भएको छ । यसैले हाम्रो शिक्षा नीति बदल्ने कुरा युवा राजनीतिको मूल कार्यभार बन्न गएको छ ।

अबको युवा Skill hand and creative mind भएका युवा बनाउनु पर्छ । त्यसको लागि हरेक युवाले उपयुक्त शिक्षा पाउनु पर्छ । शिक्षा क्षेत्रमा हामी धेरै पछाडि छौं । हाम्रो समाजमा विद्यालयीय शिक्षा लिने परिवार भर्खर दोस्रो पुस्तामा छ । विद्यालयीय शिक्षाले सिप दिएको छैन । केबल पढ्न र लेख्न आउने मात्रै शिक्षालाई अब केही गर्न आउने शिक्षा बनाउनु पर्ने छ । 

हाम्रा शिक्षक केवल जागिरका लागि होइन उनीहरू त सीप दिने हुनुपर्‍यो । पावरको भरमा शिक्षक होइन योग्यता क्षमताको आधारमा हुनपर्‍यो । हाम्रो शिक्षाले सैद्धान्तिक पक्षलाई बढी जोड दियो । सैद्धान्तिक बढी भयो तर व्यवहारिक कम । पौडी खेल्ने तरिका पढाउने तर पोखरीमा पौडन नसिकाउने खालको भयो । त्यसैले हाम्रो शिक्षित समुदाय रोजगारी सिर्जना गर्ने खालको होइन रोजगारी खोज्ने खालको भयो । यसलाई बदल्नै पर्छ । डिग्री गरेको एक युवालाई सोध्ने हो भने ऊ बेरोजगार हुन्छ । तिमी के गर्न सक्छौ भन्यो भने जे पनि गर्छु भन्छ । डिग्री गरेको मान्छेले त यो–यो गर्छु भन्नु पर्ने होइन र ? रोजगारी खोज्ने होइन रोजगारी सिर्जना गर्ने विद्यार्थी बनाउनु पर्छ । 

ब्रह्माण्डको उत्पत्तिदेखि यसको विकास सबै श्रममा अडिएको छ । श्रमविना प्रकृति चल्नै सक्दैन । यो विश्व भगवान्ले बनाएको होइन बरु श्रमको परिणति हो । भवन, पुल, मेशिन, प्रविधि, कम्पनी, सहकारी यी सबै मानवका श्रमबाट भएका हुन् भन्ने कुरा हाम्रा विद्यार्थीलाई गहिरो गरी बुझाउनु पर्‍यो । यति बुझेपछि ऊ श्रममा लाग्छ । जाग्छ र श्रमको गोरेटो खोज्छ । अर्थात् उद्यमी युवा निर्माण गर्ने शिक्षा आजको आवश्यकता हो । व्यावसायिक योजना बनाउन सक्ने युवा चाहियो । हाम्रो शिक्षा केवल जीवन बिताउने खालको मात्रै होइन जीवनलाई श्रेष्ठ बनाउने खालको हुनुपर्छ ।

  • स्वस्थ युवा स्वस्थ समाज

हरेक नागरिक स्वस्थ हुनुपर्छ, बिमार पर्दा उचित उपचार पाउनुपर्छ । धनी र गरिबले पाउने स्वास्थ्योपचारमा विभेद रहेको छ । स्वास्थ्य क्षेत्र रहेको दुरावस्था बदल्ने कुरा युवा राजनीतिको महत्त्वपूर्ण एजेन्डा हो । नेपालको संविधानमा उल्लेखित मौलिक हकलाई कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने र आधार पैदा गरेर मात्रै श्रम गर्न सक्ने योग्य युवा निर्माण गर्न सकिन्छ ।

  • सुशासनयुक्त समाज निर्माण

सुशासन समाजको विकास र समृद्धिको सूचक हो । भ्रष्टाचार सूचकाङ्कमा नेपाल लाजमर्दो स्थितिमा छ । हरेक क्षेत्रमा सुशासन कायमा गर्नका लागि विकास आयोजनाको कामको गुणस्तर कायम गर्ने र समयसीमा भित्र सम्पन्न गराउन दबाब सिर्जना गर्ने, हरेक सरकारी कार्यालयमा भएको ढिलासुस्तीलाई छिटो छरितो बनाउन दबाब सिर्जना गर्ने, हरेक कार्यालयलाई आधुनिक प्रविधि मैत्री बनाउन पहल गर्ने, दिनप्रतिदिन बढिरहेको भ्रष्ट्राचारलाई निर्मूलीकरण गर्न ठोस पहलकदमी गर्ने, न्यायपालिका, कार्यपालिका, अख्तियारमा समेत भइरहेको भ्रष्टाचारको पर्दाफास गर्ने र जनताको आँखाबाट देखिने गरी पहलकदमी गर्ने कार्य युवा राजनीतिको आजको मुख्य कार्यभार भएको छ ।

युवा आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र सार्थक कार्यान्वयनको सवाल

युवाहरूको बलिदानी संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । युवा आन्दोलनको उपलब्धिलाई रक्षा गर्ने र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्ने अबको युवा राजनीतिको मुख्य बाटो भएको छ । युवा मन्त्रालयलाई नाम अनुरूपको काम केन्द्रित हुन दबाब दिने, राष्ट्रिय युवा परिषद्को प्रभावकारिता र औचित्य साबित गर्ने, सहुलियत ऋणका ९ वटा क्षेत्रमा देखिने बुझिने गरी ऋण कार्यान्वयनमा गर्ने, स्वरोजगार कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने र बैंकहरुबाट प्रवाह भएका ऋणको निश्चित प्रतिशत युवा उद्यमशीलताको क्षेत्रमा अनिवार्य लगानी गर्न नीति निर्माण गर्ने कार्य गर्दा मात्रै युवा राजनीतिले ठिक दिशा पक्रन सक्नेछ । 

  • राजनीतिक स्थिरता

राजनीतिक अस्थिरताका कारण देश अविकासतर्फ गयो । गरिब भयो । भन्ने सही निष्कर्ष हो । राजनीतिक स्थिरताको लागि बलियो राष्ट्रिय शक्ति निर्माण आजको आवश्यकता हो । त्यसको लागि निर्वाचन प्रणालीमा भएका कमजोरीलाई सुधार गर्नुपर्ने छ । समानुपातिक प्रणाली र थ्रेस होल्डको विषयमा आवश्यक सुधार गर्नै पर्ने देखिएको छ ।

  • राजनीतिक कार्यदिशा

मूलभूत रूपमा जनवादी क्रान्तिको एक चरण पार गरिएकाले अव समाजवादी क्रान्तिको आधार तयार गर्न विकास र समृद्धिको एजेन्डा तयार पार्नुपर्ने  छ । कसो गर्दा समाजवाद स्थापना हुन्छ ? नेपालको संविधानले परिकल्पना गरेको समाजवाद कस्तो खालको समाजवाद हो ? परिपूर्ण लोकतन्त्रको स्थापना कसरी गर्न सकिन्छ ? निर्वाचनलाई निष्पक्ष र पारदर्शी कसरी बनाउन सकिन्छ ? धन प्रभावी भइरहेको निर्वाचनलाई एजेन्डा प्रभावी कसरी बनाउन सकिन्छ ? यी र यस्तै प्रश्नको उत्तर खोज्ने राजनीतिक कार्यदिशा नै युवा राजनीतिको कार्यदिशा बन्नुपर्ने छ ।

  • राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता

देश भूगोल, अर्थतन्त्र, जनसङ्ख्या आदिका आधारमा ठुलो सानो होला तर स्वाभिमान बरावर हुन्छ भन्ने मान्यतामा अडिग रहनु पर्दछ । विदेश नीतिका सन्दर्भमा भूराजनीतिक अवस्थिति, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा तय गर्ने कुरामा सदैव दृढ हुनुपर्छ । मित्रता बदल्न सकिएला तर छिमेक बदल्न सकिँदैन । चीन र भारत हाम्रा छिमेकी हुन् । छिमेकसँग कुरा गर्दा पारस्परिक हितका कुरा, स्वाभिमानका कुरा, आँखामा आँखा जुधाएर बराबरीमा कुरा गर्नुपर्छ भन्ने कुरामा हामी दृढ हुनै पर्दछ । तर वर्तमान सरकार भारतसँग प्रत्यक्ष रूपमा भेट्दा गिडगिडाउने र बाहिर पट्टी गएर ठुला ठुला कुरा गर्ने दोधारे चरित्र प्रकट गरिरहेको छ । नेपाल कहिल्यै कसैको गुलाम नभएको मुलुक हो । सार्वभौम सत्ता सम्पन्न देश हो भन्ने कुरालाई हृदयङ्गम गर्नै पर्दछ । नेपाल भारत सिमानाका सवाल, चुच्चे नक्सा अनुसार जमिन फिर्ताको सवाल, नागरिकता विधेयकको सवालमा राष्ट्रहितमा पक्षमा युवा राजनीतिले विशेष ध्यान दिनु जरुरी छ । 

  • सामाजिक सद्भाव

नेपाल अल्पसंख्यकहरु मिलेर बसेको देश हो । कुनै क्षेत्र त्यस्तो छैन जहाँ एकै जातिको मात्र बसोबास होस । सबै जाति, भाषा र संस्कृति मिलेर बनेको र बसेको सहिष्णु समाज भएको राष्ट्र हो नेपाल । भौगोलिक हिसाबले नेपाल विश्व मानचित्रमा सानो राष्ट्र देखिए तापनि बहुजाति बहुसाँस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छवि भएको देश हो । अक्षांशको हिसाबले हेर्ने हो भने प्रत्येक किलोमिटरमा भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता देखिन्छ । यिनै विशेषताले गर्दा नेपाल विश्वमा पर्यटकीय हिसाबले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । नेपाली संस्कृति भन्ने बित्तिकै भेषभूषा, सामाजिक रीतिरिवाज, धार्मिक मेला, पर्व, खानपान, जीवनशैली आदि पर्छन् । यसमा अझ मौलिकपन आकर्षण बनेको छ । सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी छन् भने बाँकी अन्य धर्मावलम्बी रहेका छन् । धर्म, संस्कृतिका नाममा प्रचलित संस्कारहरू जातजाति, छुवाछुत, भेदभावपूर्ण व्यवहार, महिला तथा बालबालिका हिंसालगायत परम्परागत हानिकारक अभ्यास हुने गरेको छ । यसको विरुद्ध अभियान सञ्चलन गर्ने र सद्भाव फैलाउने काम युवा राजनीतिको हो । 

नेपालको मौलिक विशेषता भनेकै विविधतामा एकता हो ।  विश्वका प्रमुख धर्ममध्ये अधिकांश धर्म, सम्प्रदायका व्यक्तिहरू नेपालमा आपसमा मिलेर रहेको अवस्था छ । विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्ने बित्तिकै नेपालको नाम अग्रस्थानमा आउँछ । यसै गरी जातिगत बनोट पनि बहुत घुललिमपूर्ण अवस्थामा रहेको छ । राज्यमा शान्ति, अमनचैन कायम गरी देश विकास र निर्माणको काममा नागरिकलाई अग्रसर बनाउनु हाम्रो मुख्य एजेन्डा हो । अतः युवा राजनीतिले समाजको वाहकका रूपमा समाजलाई एकजुट गराउन आफ्नो जिम्मेवारी वहन गर्न सक्नु पर्छ । प्रत्येक नागरिकको शान्तिपूर्वक जीवनयापन गर्ने चाहना हुन्छ । देशमा शान्ति, सुव्यवस्था कायम गरी राष्ट्र विकासको काममा सफलता हासिल गर्न सामाजिक सद्भाव जरुरी छ । 

हामीले राज्यको पुनःसंरचनाको कुरा गर्दा “फुटे आफ्नो टाउको फुटोस् तर राष्ट्रियता नटुटोस्” भन्ने नारा तय गरी अभियान चलाएका थियौँ । राष्ट्र राज्य होइन, राज्य राष्ट्र हो भन्ने दृढ मान्यतामा अडिग रहेर लसुनको जस्तो सजिलै चोइटिन सक्ने संघीयता होइन भित्र केस्रा केस्रा भएको बाहिरी दरिलो बोक्राले घेरिएको सुन्तला जस्तो संघीयता देशको आवश्यकता हो भन्ने मान्यतालाई हामीले अघि सारेका हौँ । तर यो वर्तमान गठबन्धन सरकार यस मामला चुकी रहेको छ । सरकारमा बसेर सामाजिक सद्भाव र सहिष्णु समाजलाई भड्काउन उद्धत देखिएको छ । यसलाई करेक्सन गर्नु युवा राजनीतिको अर्को कार्यभार थपिएको छ ।

  • सामाजिक न्याय

विधि र कानुनको शासनभन्दा पनि जनतालाई सबै प्रकारका न्याय प्रवाह गर्नु चाहिँ महत्त्वपूर्ण मानिन्छ । सामाजिक न्याय भनेको त्यो आधारभूत संरचना हो, जहाँ सबै किसिमका असमानताको अन्त्यका लागि आधिकार, शक्ति, अवसर, आय र सम्पत्तिको वितरण समान, सन्तुलित र न्यायपूर्ण किसिमले गरिन्छ । शक्ति सम्पन्न र शक्तिविहीन, ठुलो र सानो, धनी र गरिब, उँच र नीचको विभेदको अन्त सामाजिक न्यायको मूल मर्म हो । 

विकासको क्रमका समाज स्रोत साधन, सम्पत्ति तथा ज्ञान हुने र नहुने वर्गका विभाजित भयो । विभिन्न जातजातिको समान रूपमा विकास हुन सकेन । पिछडिएको जातजाति र विकसित जातजातिका रूपमा समाज विभक्त हुन पुग्यो । समाज लैङ्गिक आधारमा समेत असमान रह्यो र पुरुष महिलाको दाँजोमा धेरै सुविधा भोगी भए । असमान समाजको विकासले सक्नेहरूले राज्य सञ्चालनको, अवसरको र सुविधाको राइँदाइँ गर्ने र नसक्नेहरू असमानता, अभाव, अशिक्षा र अन्धकारमा जीवनयापन गर्न बाध्य भए । नागरिकले राजनीतिक अधिकार उपयोग निर्भयतापूर्वक गर्न सकिरहेको अवस्था छैन । गरिबी निवारण र रोजगारी सिर्जना गर्ने कार्यक्रम सफल हुन सकेका छैनन् । सामाजिक सुरक्षाका कार्यक्रम अपर्याप्त छन् । यस्तो अवस्थामा राजनीतिक एवं नागरिक अधिकार प्राप्त गर्दैमा र समृद्धि लक्षित आर्थिक विकासका नीति तर्जुमा हुँदैमा सामाजिक न्याय प्राप्त हुँदैन । 

राजनीतिक एवं नागरिक अधिकारको स्वतन्त्र उपयोग, आर्थिक विकास र रोजगारीका अवसरको विस्तार र समान वितरण सँगसँगै समान रूपमा सामाजिक सांस्कृतिक विकास भएन भने सामाजिक न्याय प्राप्त हुन सक्दैन । सामाजिक न्याय ः राजनीतिक स्वतन्त्रता र आर्थिक उपलब्धिको समान वितरण हो । सामाजिक न्याय समाजमा रहेका सबै वर्ग, लिङ्ग र जातिको समान सुरक्षा र सम्मानको सुनिश्चितता हो ।

सामाजिक अन्तरनिर्भरता र नागरिकको स्वनिर्णयको सुरक्षाको सुनिश्चितता सामाजिक न्यायको महत्त्वपूर्ण पक्ष मानिन्छ । समाजमा शक्ति र स्रोत साधनबाट सम्पन्न र सम्भ्रान्त वर्गले मात्र राज्य लाभ असीमित रूपमा उठाइरहेको पाइन्छ । एउटा वर्ग र सम्प्रदायको मात्र समाजमा उपलब्ध संरचना र स्रोत साधनमाथि नियन्त्रण रहने तर अर्को वर्ग र सम्प्रदायको पहुँच सर्वथा न्यून रहने विषमतापूर्ण अवस्थालाई अन्यायपूर्ण मानिन्छ । आर्थिक समानता सामाजिक न्यायको मेरुदण्ड हो । समाजमा रहेको एउटा वर्गको हातमा अथाह सम्पत्ति, असङ्ख्य अवसर, स्रोतसाधन केन्द्रित रहने र अर्को वर्ग ती अवसर, स्रोतसाधनको उपभोगबाट वञ्चित रहने अवस्था सामाजिक न्यायको गम्भीर चुनौती हो । सामाजिक न्यायले आयको स्तर र उपभोगमा सन्तुलन र समानताको अपेक्षा राखेको हुन्छ । सामाजिक न्यायका लागि सम्पत्ति, अवसर र आयको वितरणमा समानता आवश्यक हुन्छ । यसकारण आय, सम्पत्ति र अवसर वितरणका लागि उत्पादन रोजगारी बढाउने र समान तथा सन्तुलित वितरणको व्यवस्था गर्नुपर्छ । यस विषयमा अबको युवा राजनीति केन्द्रित हुनुपर्दछ ।

  • देश बनाउने सपनाहरूको जागरण

देश मागेर बन्दैन । देशबाट भागेर पनि देश बन्दैन । रेमिटेन्समा आधारित अर्थतन्त्र देश विकासको मूल आधार बन्न सक्दैन । देश बनाउन उत्पादनमा आधारित अर्थतन्त्र आवश्यक पर्दछ । देशको लागि अव केही त गरौँ भन्ने हरेक युवामा सोच र इच्छाशक्ति जरुरी छ । इपीएस पास गरेर कोरियातिर होइन नेपालकै खोरियामा लाग्छु भन्ने सङ्कल्प आवश्यक छ । विदेशमा श्रम हैन उत्पादन बेच्ने सङ्कल्प चाहिएको छ । त्यसको लागि राज्यले आशा जगाउनै पर्छ । युवा राजनीतिको खास विषयमा यही हो । निराशालाई आशामा, आक्रोशलाई जोसमा, कुण्ठालाई ऊर्जामा, कुशासनलाई सुशासनमा र अधैर्यतालाई धैर्यतामा बदल्नै खालको राजनीति नै युवा राजनीतिकाको मूल मर्म बन्नुपर्छ । मुर्छित भएको सपनालाई जागृत गर्नै पर्ने छ । नेपालमा सम्भव छ र गर्न सकिन्छ भन्ने आधार तयार गर्ने काम हाम्रो हो । देशमा गरिखाने युवा तयार गरेर नै समृद्ध नेपाल सुखी नेपाली निर्माणको आधारशिला तयार गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णहरि केसी
कृष्णहरि केसी
लेखकबाट थप