आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आयात-निर्यात

विश्वका डेढ सय देशसँग नेपालको व्यापार, अमेरिकासहित २७ मुलुकसँग मात्रै नाफा

आइतबार, २१ माघ २०८०, ०७ : ५२
आइतबार, २१ माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को ६ महिनाको अवधिमा नेपालले विश्वका १५५ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा विश्वका डेढ सयभन्दा धेरै मूलकसँग व्यापार सम्बन्धी स्थापित भएको हो ।

तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । १५५ वटा देशसँग व्यापारिक सम्बन्धी स्थापित हुँदा १२८ वटा देशसँग व्यापार घाटामा छ । बाँकी २७ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । नाफामा रहेका मुलुकसँगको मात्रा समेत न्यून रहेको देखिएको छ ।

यी मुलुकसँग अर्बमाथिको घाटा
जसमध्ये सबैभन्दा धेरै व्यापारघाटा दक्षिण छिमेकी भारतसँग छ । भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा छ । ६ महिनाको अवधिमा भारतबाट नेपालमा ४ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात हुँदा ५० अर्ब ४४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

यसपछि, चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ । तथ्याङ्कले नेपालको सबैभन्दा ठुलो व्यापार घाटा दुई छिमेकी मुलुक चीन र भारतसँग छ ।

यसपछि, अर्जेन्टिनासँग ६ अर्ब र अस्ट्रेलियासँग ६ अर्ब रुपैयाँको व्यापार घाटा छ । यसपछि बङ्गलादेशसँग २ अर्ब रुपैयाँ घाटा हुँदा बेल्जियमसँग २ अर्ब ६२ करोड रुपैयाँ घाटा छ । ब्राजिल र क्यानडासँगको व्यापारमा समान २-२ अर्ब रुपैयाँको घाटा हुँदा फ्रान्ससँगको व्यापारमा ४ अर्ब रुपैयाँ घाटा देखिएको छ ।

यता ग्वाटेमालासँगको व्यापार र जर्मनीसँगको व्यापार समान १÷१ अर्ब रुपैयाँले नोक्सानीमा छ । यस्तै, हङकङसँग १ अर्ब, इन्डोनेसियासँग ६ अर्ब, जापानसँग ३ अर्ब, कोरियासँग २ अर्ब, मलेसियासँग साढे ८ अर्ब, मोरोक्कोसँग साढे २ अर्ब रुपैयाँको नोक्सानी देखिएको छ ।

न्यूजिल्याण्डसँग १ अर्ब, नाम नखुलेका मुलुकसँग २ अर्ब र ओमानसँग साढे ३ अर्बभन्दा बढीको घाटा हुँदा रुससँग साढे २ अर्बको घाटा बेहोरिएको छ । यस्तै, साउदी अ‍ेरिबियासँग ३ अर्ब र सिंगापुरसँग २ अर्ब, दक्षिण अफ्रिकासँग साढे १ अर्ब, ताइवानसँग २ अर्ब थाइल्यान्डसँग ४ अर्ब रुपैयाँको घाटा देखिएको छ ।

टुर्किय र तुर्किमिनेस्तानसँग समान १-१ अर्ब रुपैयाँ घाटा रहँदा युक्रेनसँगको व्यापारमा १० अर्ब घाटा छ भने युएईसँग १२ अर्ब, बेलायतसँग ३ अर्ब र भियतनामसँग ३ अर्ब रुपैयाँको घाटा रहेको तथ्याङ्कले देखाएको छ ।

नेपाल नाफामा रहेका देश

नेपाल अफगानिस्तानसँग १ करोड रुपैयाँले नाफामा छ । यस्तै, बारबुडासँग २ लाख, अरुबासँग २४ लाख, बाहामाससँग ५ लाख, बर्मुडासँग ९ लाख रुपैयाँले नेपालको व्यापार नाफामा छ । यसपछि, छाडसँग ४७ लाखले नाफामा हुँदा कोलम्बियासँग २ लाख, क्रोएसियासँग ५३ लाख रुपैयाँ नाफा छ ।

यस्तै, डोमिनिकासँग ३८ लाख, जर्जियासँग ३९ लाख, आइसल्यान्डसँग ५६ लाख, किर्गिस्तानसँग ८ लाख र लात्भियासँग १ करोड ७६ लाख रुपैयाँले नाफामा रहेको विभागको तथ्याङ्कले देखाएको छ । यता लाइबेरियासँग ३७ लाख रुपैयाँको नाफा हुँदा मालदिभ्ससँगको व्यापारमा २ करोड ३४ लाख रुपैयाँ नाफा छ भने माल्टासँग ६६ लाख, मौरिसिनियासँग ४९ लाख रुपैयाँको नाफा छ ।

यस्तै, मौरिसस, न्यू क्यालोडोनिया, नर्वे, पानामा, सेक्लेस, सायरा लिओने, सुडान, अमेरिका र युरुग्वेसँगको व्यापारमा समेत नेपाललाई नाफा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप