शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मंगलगढी–काँक्रेविहार सडक

‘अटेरी’ ठेकदारले बनाएनन् सडक, कारबाहीको तयारी

निसासिने धुलोले जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड
बिहीबार, २५ माघ २०८०, २३ : ४४
बिहीबार, २५ माघ २०८०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९, का वसन्त खत्रीको घर सडक छेवैमा छ । कुनै गाडी रोडमा गुड्यो कि धुलो सिधै घरभित्र पुग्छ । दिउँसोको समयमा त धुलोले घर नै छपक्कै पारिदिन्छ । उनी मात्र होइन मंगलगढी–काँक्रेविहार सडक किनारामा रहेका हजारौँ नागरिकहरू सडकको धुलोबाट आजित छन् । 

३–४ वर्ष भयो लाटिकोइली क्षेत्रका नागरिकहरूले धुलोबाट मुक्ति खोजिरहेको । तर, ठेकदारका कारण जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको बताउँछन्, खत्री । मंगलगढीदेखि काँक्रेविहार जोड्ने यो सडकमा दैनिक हजारौँको सङ्ख्यामा सवारी साधन ओहर–दोहर गर्छन् । प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जानका लागि पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले प्रयोग गर्ने सडक पनि यही हो । 

तर, बेहाल सडकको अवस्थाले पर्यटकहरू दिक्क मानिरहेका हुन्छन् । बुधवार कैलालीबाट काँक्रेविहारको अवलोकन गर्न आएका कमल शाहीले भने, ‘प्रमुख पर्यटकीय स्थल जोड्ने सडक त कम्तीमा सफा, चिटिक्क हुनुपर्थ्यो तर, यो सडकको अवस्था हेर्दा निकै दयनीय रहेछ । यसले त पर्यटन क्षेत्रमा कसरी सहयोग पुग्ला ? सडकको धुलोले त नागरिकमाथि गम्भीर अपराध भइरहेको देखिन्छ ।’ 

उनी मात्र होइन यो सडक भएर काँक्रेविहार पुग्ने हरेक व्यक्तिले यस्तै भन्ने गर्दछन् । मंगलगढीबाट दक्षिणतर्फ पर्ने यो सडकको ट्र्याक ओपन भएको पञ्चायतकालमै हो । तर पनि अहिलेसम्म सडकको दुरावस्थै छ । यही सडक किनारामा पर्छ, वडा नं.–९, को कार्यालय । धुलो–धुवाँले उक्त कार्यालय पनि छपक्कै हुन्छ । वडा कार्यालयको ठिक बायाँ किनारामा छ, प्रवास खाक्यको घर । बिचमा सडकको उचाइ माथि उठाइँदा उनको घरको छत र सडक बराबर देखिन्छन् । मोटरसाइकल चल्यो भने पनि सिधै धुलो उनको भान्सा कोठासम्मै पुग्छ । ‘जसको कमजोरी भए पनि नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन,’ उनी भन्छन्, ‘यतिसानो सडक वर्षौँदेखि बन्न नसक्ने, त्यो पनि राजधानीको प्रमुख सडक ।’ घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुन थालेको बर्षौँ भइसक्यो । 

यो सडक हुँदै तल्लो सुर्खेततर्फ ठुला ट्रक, टिपरहरु पनि ओहर–दोहर गर्दछन् । तल्लो सुर्खेतबाट निर्माणका सामाग्री ल्याउनका लागि जब ट्रकहरूको जान्छन्, त्यो बेला सडक पुरै धुलोले छपक्कै हुन्छ भने यात्रुहरू मुख छोपेर हिँड्नुपर्छ । मंगलगढीदेखि शिव मन्दिरसम्मको दुरी करिब २४ सय मिटर छ । सडकको निर्माणका लागि अमर सिस्ने नेपाल मेघा जेभी नेपालगन्जले जिम्मेवारी पाएको ०७८ मंसिर ४ गते हो । ०८० असारमा काम सम्पन्न गरिसक्ने लक्ष्यसहित कम्पनीले कामको जिम्मेवारी पाएको थियो । तर त्यो अवधिसम्म आधा काम पनि हुन सकेन । २४ सय मिटर सडक कालोपत्रे गर्ने गरी १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँ लागत रहेको थियो । अहिलेसम्म ४३ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । 

यो सडकका कारण प्रदेश सरकारले निकै आलोचना खेप्नु परेको छ । तोकिएको सीमा सकिए पनि प्रदेश सरकारले ०८० फागुनसम्म म्याद थप गरेको छ । तर, अहिले काम पूर्ण रूपमा बन्द छ । अर्थात जति निर्देशन दिएपछि ठेकदारले अटेर गर्दै आएका छन् ।  ‘यो प्रदेश सरकारले बनाउन थालेको सडक हो, नागरिकहरू प्रदेश सरकारसँग आक्रोशित हुन्छन्, गाली गरिरहेका छन् तर, ठेकदारका कारण यस्तो भएको हो,’पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरि शर्मा धिताल भन्छन्, ‘त्यहाँ हाम्रो कुनै कमजोरी छैन । यसअघि भएका सबै विवादहरू समाधान भइसकेका छन् ।’ जनताले आफ्नो घर कम्पाउन्ड छाडेर भित्र सारिसकेको अवस्था छ । 

मंगलगढी- कांक्रेबिहार सडक

सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्ने लगायतका कामहरू मात्रै भएका छन् । तर, ठेकदारका लापरबाहीका कारण बनेको पूर्वाधारका कामहरू पनि जीर्ण बनिरहेका छन् । फागुनसम्म म्याद थप गरे पनि अहिलेसम्म काम सुचारु भएको छैन । अब एक महिनाको अवधिमा कुनै हालतमा काम सम्पन्न हुँदैन । यद्यपि काँक्रेविहार आउने पर्यटकदेखि स्थानीयले गाली भने सरकारलाई गरिरहेका हुन्छन् । उक्त सडक हेरिरहेका पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डे निर्माण व्यवसायीबाट नै सुस्त गतिमा काम भएकाले गाली खानु परिरहेको बताउँछन् । ‘बेस बिच्छ्याउने काम भइरहेको थियो, गाडी, घोडाहरू साइटमै छन् तर, काम भएको छैन,’ उनले रातोपाटीसँग भने  ‘हामीले काम ढिलो भएको भन्दै कानुनी उपचार खोज्छौँ ।’ 

समयमा सडक निर्माण नभएपछि स्थानीयहरूले पटक–पटक गाडी चल्न नदिने भन्दै खबरदारी पनि नगरेका होइनन् । तर ठेकदारले न सरकारको भनेको मान्छ न स्थानीयको खबरदारी नै । चर्को आलोचना भए पनि पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही आफै सडक अनुगमनमा पुगेका थिए भने अहिलेका भौतिक पूर्वाधार मन्त्री मंगलबहादुर शाहीले पनि सडकमै पुगेर चाँडो काम सम्पन्न गर्न निर्देशन दिएका थिए । तर, ठेकदार कम्पनी भने कसैको निर्देशनलाई टेर्दैन । ‘सरकार, जनताभन्दा ठेकदार बलिया भए हजुर, के गर्ने,’निर्देशनालयका सूचना अधिकारी धिताल भन्छन् । प्रदेश सरकारबाट निर्माण थालेको तर काम नहुँदा सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ, यो सडक ।

प्रमुख सडक भएका कारण पनि सबैको केन्द्रबिन्दुमा पर्छ, यो सडक । यही क्षेत्रबाट प्रदेश सांसद रहेका जानकी सिंह भन्छिन्, ‘बिचमा बजेट नहुँदा अलपत्र भयो, बिचमा करिब ८ वर्षदेखि बाटो पर्ने क्रम जारी हो । तीन वर्षअघिदेखि प्रदेश सरकारले नै बनाउन थाल्यो । तर, काम नहुँदा नागरिकमाथि अत्याचार भइरहेको छ ।’ उनका अनुसार यो सडक मुख्य बजारदेखि वीरेन्द्रनगरको दक्षिण क्षेत्रमा जाने सबैभन्दा ठुलो सडक हो । पञ्चायतकालदेखिनै बन्न सुरु भएको यो सडकले तल्लो सुर्खेतको सबै फाँटलाई समेट्छ । ‘सडक व्यवस्थित नहुँदा सारा घरभित्र धुलो हुन्छ, स्वास्थ्यका हिसाबले पनि हानिकारक छ, बाटोको धुलोले गर्दा जनतापनि आतङ्कित छन्,’सिंह भन्छिन्, ‘जनताले पनि बाटो अवरोध गरेका छन्, स्कुलका विद्यार्थी नै आएर बाटो छेक्नु परेको छ ।’  

यसअघि सडक विस्तार र निर्माणका क्रममा केही ठाउँमा विद्युत् प्राधिकरण बाधक थियो । यो सडक अन्तर्गत ४८ वटा विद्युत् पोल सार्नुपर्ने थियो । अहिले उक्त समस्याको पनि समाधान भइसकेको छ । निर्देशनालयले प्राधिकरणलाई ५० लाख भुक्तानी दिइसकेको छ । यस सडक अन्तर्गतका ३४ वटा घर हटाइसकिएको छ । ठेकदार कम्पनीले अहिलेसम्म पौने २ करोड रकम भुक्तानी पनि लिइसकेको छ । सडकको विषयमा ठेकदार प्रतिनिधि दीपेन्द्र शाहीलाई पटक–पटक बुझ्न खोज्दा फोन उठेन । 

ठेकदारले काम गर्ने कुनै छाँटकाँट नदेखेपछि भौतिक मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि कम्पनीको बैंक ग्यारेन्टी थुत्नका लागि उक्त क्षेत्र हेर्ने सब–इन्जिनियर प्रेमचन्द्र पाण्डे बुधवार नेपालगन्ज नै पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप