सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारीमा राजनीतिज्ञ र व्यापारीको गिद्धे आँखा

सहकारी ठगीमा चर्चित अनुहार : रविको समेत नाम जोडिएपछि के भन्छन् सरोकारवाला ?

बिहीबार, २५ माघ २०८०, १९ : ५४
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । सहकारी ठगीमा चर्चित अनुहारहरु जोडिन थालेपछि सहकारी सम्बद्ध सरोकारवालाहरुले बदमासी गर्ने राजनीतिज्ञलाई कठोरतापूर्वक कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

रातोपाटीसँग बिहीबार कुरा गर्दै राष्ट्रिय सहकारी महासंघ, नेपालकी अध्यक्ष ओमदेवी मल्ल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटै आवाज आयो– सरकार सहकारी ठग राजनीतिज्ञलाई खोजीखोजी कारबाही गर । हामी सहयोग गर्छौ ।

सहकारी ऐन, २०७४ मा गरिएका व्यवस्थाहरु सरकारले कार्यान्वयनमा नल्याएकाले सहकारीमा ठगी बढेको उनीहरुको भनाई छ । सहकारीको विषय सदनदेखि सडकसम्म गुञ्जायमान हुन थालेको छ । 

पछिल्लो समय सहकारी ठगी प्रकरणमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको संलग्नता खुल्दै गएपछि सहकारी क्षेत्र नै तहसनहस हुने हो कि भन्ने चिन्ता सरोकारवालाहरुमा देखिन्छ ।

पछिल्लो समय सहकारी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिएको छ । तर, सहकारीमा एमाले निकटस्थहरु नै बढी संलग्न छन् । 

देशको अर्थतन्त्रको एक खम्बा सहकारी ठगी अहिले राजनीतिक अजेण्डा बनेको छ । देशमा रहेका ३१ हजार ३ सय  ७३ सहकारीमध्ये ५ सय सहकारीमा समस्या देखिएको छ । ८ खर्बको कारोबार गर्ने सहकारी क्षेत्रको ६० अर्ब रुपैयाँ जोखिममा परेको छ ।  

राजनीतिक र ठूला ब्यपारीले सहकारीको सिद्धान्त लत्त्याउँदै कमाऊ धन्दा चलाएसँगै यो क्षेत्र नराम्ररी धर्मराएको छ । सहकारीमा पछिल्लो समय जोडिएका चर्चित पात्र पत्याउनै नसकिने खालका छन् । 

रवि लामिछाने

रास्वपा सभापति लामिछानेलाई राजनीतिमा आउनुभन्दा अघिको कारोबारले अहिले सताएको छ । २०७७ फागुन ११ मा खुलेको ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम हिनामिनामा गरेको आरोप उनीमाथि छ । टेलिभिजन सञ्चालक जीबी राईसँगै लामिछानेको नाम सहकारीको रकम हिनामिनाकर्ताको सूचीमा चढेको छ । यही माघ २२ मा लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी पीडितहरुले जाहेरी दिएका छन् ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर नतिरेको अभियोगबारे छानबिन भइरहेको छ ।

रास्वपा उपसभापति डीपी अर्याल भने रवि विरुद्ध लागेको आरोपबारे निष्पक्ष छानबिनको पक्षमा आफ्नो दल रहेको बताउँछन् । ‘रास्वपा उजुरीबारे निष्पक्ष छानबिनको पक्षमा छ’ उनले भने ।

जीबी राई 

गितेन्द्रबाबु (जीबी) राईको पृष्ठभूमि राजनीतिक–व्यवसायी हो । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । २०६८ मा सरकारले सो व्यवसायमा प्रतिबन्ध लगाएपछि उनी जोडिए, सहकारीतिर । चमत्कारिक रुपमा देशभर  करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । सर्वसाधारणले ती सहकारीमा जम्मा गरेको रकमको चरम दुरुपयोग गरी नेचर हब्र्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाए । यो सारा लुट लुकाउन २०७७ मा उनी मिडियामा जोडिए, रविसँगै ।

ग्यालेक्सी टेलिभिजनमा पनि सहकारीकै रकम लगानी गरे, बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग भयो । 

एमालेको युवा संगठनमा आबद्ध राईले अन्य राजनीतिक दलका नेतासँग पनि साईनो जोडे सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी गत भदौदेखि फरार छन् । पक्राउका लागि उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।

इच्छाराज तामाङ

सहकारी ठगी प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्व सांसद इच्छाराम तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएपछि जेल सजाय भोगिरहेको छन् । विशेष अदालतले माघ २१ गते उनलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय हुने फैसला सुनाएको थियो । इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठलाई पनि अदालतले दोषी करार गरेको छ । शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ । ओखलढुंगाका तामाङले काठमाडौँमा सिभिल बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद् थिए । 

महेन्द्र भोटे

एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी प्रकरणमा जेलमा छन् । महेन्द्र पोखराको चर्चित एलजी ग्रुपमार्फत गुण्डागर्दी समेत रहेका उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहे पनि राजनीतिक ओतले जोगायो । उनी एमालेका उपल्ला नेताको आशीर्वाद प्राप्त पात्र हुन् । 

देवकुमार नेपाली

इमेज बचत तथा ऋण सहकारीको करिब २ अर्ब हिनामिना गरेको अभियोग लागेपछि  ढोरपाटन नगरपालिकाका मेयरमा देवकुमार नेपाली गत जेठदेखि फरार छन् । उनी २०७४ मा माओवादी छाडेर एमालेमा जोडिएपछि दुई पटक नगर प्रमुख निर्वाचित भएका थिएँ ।

सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमार सहित ११ जना विरुद्ध प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बाग्लुङले मुद्दा दायर गरेको छ । मुद्दा दायरसँगै एमालेका गण्डकी प्रदेश कमिटी सदस्य पदबाट पार्टीले उनलाई निलम्बन गरेको छ ।

दिपेश पुन

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको छोरा नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगीमा जोडिएका छन् । दीपेशविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा उजुरी दिएका छन् । सहकारीको एक अर्ब ३५ करोड ५३ लाख ठगीमा उनलाई जोडिएको छ ।

कैलाशकुमार दर्लामी 

सूर्यदर्शन र मित्रमिलन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा कैलाशकुमार दर्लामी जेलमा छन् । उनी गत पुसमा पक्राउ परेका थिए ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका — ७ का अध्यक्ष हुन् । दर्लामी माओवादी केन्द्र लिखु तामाकोशी गाउँपालिका अध्यक्षसमेत हुन् । 

के भन्छन् सरोकारवाला ?

सहकारी ठगी प्रकरणमा ठूलाबडाको नाम जोडिएपछि सहकारीको मुद्दा नै ओझेलमा परेको  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष ढकाल बताउँछन् । 

‘सहकारीमा भएको ठगी प्रकरणमा राजनीतिक मान्छे जोडिँदा सहकारी छायामा परेको छ । नियामक निकायको प्रभाव कमजोर भयो’ उनले भने । 

राष्ट्रिय सहकारी महासंघ, नेपालकी अध्यक्ष मल्ल सरकारले सहयोग नगर्दा यो दिन आएको बताउँछिन ।

‘सहकारी ऐन र नियमावली भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षा कोषलगायतका कुरा सरकारले कार्यान्वयन नगर्दा यो स्थिति आयो’ उनले भनिन् ।

सहकारीलाई राजनीतिक दल र सरकारीकै कर्मचारीले पनि नबुझेको उनको गुनासो छ ।

सहकारीको बदमासी गर्ने राजनीतिज्ञलाई कारबाही गर्न महासंघले सरकारलाई दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता मल्लले जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप