बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यू–१६ अन्तर स्कुल क्रिकेटमा १६ टोली

सोमबार, १७ वैशाख २०८१, १५ : ०६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघले यसै महिना ‘जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता वैशाख १९ गते सुरु हुनेछ । विद्यालय स्तरदेखि नै प्रतिभाशाली क्रिकेट खेलाडी उत्पादन गरी उमेर समूहका राष्ट्रिय टोलीमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।  

नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नाममा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । वैशाख ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ ।

प्रतियोगिताका सहभागी टोलीलाई चार समूहमा विभाजन गरिने छ । समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेश्नल स्कुल, सैनिक आवासिय महाविद्यालय र त्रियोग हाइस्कुल रहेका छन् । यसैगरी समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडेमी, आलोक विद्याश्रम स्कुल र डीएभी स्कुल छन् । समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्टस एकेडेमी स्कुल छन् ।

यसैगरी प्रतियोगिताको समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेशनल एकेडेमी र एलआरआई स्कुल रहेका छन् । विजेता टोलीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उपविजेता टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र इमर्जिङ खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार र विभिन्न उपहार प्रदान गरिने छ । यसैगरी प्रतियोगिताको प्लेयर अफ दि म्याचलाई २७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । मुख्य प्रायोजकमा जयकुमार नाथ शाहको परिवार रहेको आयोजकले जनाएको छ ।

सहप्रायोजक आयुष इन्टरनेसनल ओभरसिज सर्भिज रहेको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख २६ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप