बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : उपाधि लुम्बिनीको पोल्टामा, कर्णालीलाई ३१ रनले हरायो

सोमबार, १७ वैशाख २०८१, १५ : १५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३१ रनले हरायो ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने १५.३ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याएको कर्णाली प्रदेशलाई जितसम्म पुग्न नदिन लुम्बिनीका बलर अभिषेक गौतम एक्लैले पाँच विकेट लिए ।

अभिषेकले ३.३ ओभरमा केवल १० रन खर्चिएका थिए । नर सार्कीले पनि दुई विकेट लिए । देव खनाल र निर्मल गुरुङले पनि एक–एक विकेट हात पारे । कर्णाली प्रदेशका लागि विपिन शाहीले सर्वाधिक २८ रन बनाएका थिए ।

ओपनर विपिन रावलले टोलीको खातामा २३ रन थपे । दीपेन्द्र रावतले अविजित १२ रन बनाए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अभिषेक गौतम प्लेयर अफ दि म्याच घोषित भए ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । ओपनर मृनाल गुरुङले टोलीका लागि सर्वाधिक २७ रन बनाएका थिए । उनले ३० बलमा तीन चौका हिर्काएका थिए ।

विराट भण्डारीले २६ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले २३ बलमा दुई चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान कृष्ण कार्कीले पनि टोलीको खातामा २२ रन थपे । उनले २१ बलको सामना गरी दुई चौका पनि हिर्काए ।

लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तानसमेत रहेका अर्का ओपनर देब खनाल भने आठ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।

सुनिल भण्डारीले पनि आठ रनमात्र बनाउन सके । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो । कर्णाली प्रदेशका बलर युनिस ठकुरीले तीन विकेट लिए । दीवान पुन र दिनेश अधिकारीले पनि दुई–दुई विकेट हात पारे । प्रकाश जैसीले पनि एक विकेट लिए ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । समूहगत चरणको खेलमा लुम्बिनी पहिलो र कर्णाली प्रदेश दोस्रो हुँदै फाइनलमा पुगेका थिए । समूहगत चरणमा लुम्बिनीले ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

दोस्रो भएको कर्णाली प्रदेशले पनि ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । बागमती प्रदेश र मधेश प्रदेशले पनि आठ–आठ अंक बटुलेका थिए । तर, नेट रन रेटमा यी दुई प्रदेश लुम्बिनी र कर्णालीसँग पछाडि परेका हुन् ।

समूहगत चरणमा सुदूरपश्चिम प्रदेशले ६ र गण्डकी प्रदेशले चार अंक बटुलेको थियो । कोशी प्रदेश भने आफूले खेलेको ६ वटै खेलमा पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप