सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थायी समिति बैठक

माओवादीमा देखियो तीन प्रवृत्ति : अल्छी नेतासँग स्पष्टीकरण लिने तयारी

शुक्रबार, २६ माघ २०८०, २१ : ३५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा काम नगर्ने नेताहरूसँग स्पष्टीकरण सोध्ने भएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसम्पादन मूल्याङ्कनको आधारमा केही न केही कारबाही प्रक्रिया अगाडि बढाउने बताएको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले भदौ १६ देखि पुस १६ सम्म चार महिने विशेष रुपान्तरण अभियान चलाएको थियो । अभियानको क्रममा केन्द्रीय सदस्यहरूले अन्तरजिल्लाको वडामा केन्द्रित रहेर काम गरेका थिए । सम्बन्धित प्रदेशका इन्चार्जले स्थायी समिति बैठकमा अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए । समग्र रिपोर्टिङको आधारमा तीन खालको प्रवृत्ति देखा परेको ती नेताले बताएका छन् ।

पहिलो खालको प्रवृत्तिमा इमानदार भएर पार्टीको नीति र विधिमा बसेर काम गर्ने खालको पाइएको छ । दोस्रोमा अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने खालको पाइएको छ । इमानदार भएर काम गर्ने नेता ६० देखि ८० प्रतिशतको हाराहारीमा रहेको सम्बन्धित प्रदेशका सचिवालयले जनाएको छ । बैठकमा काम नगर्ने नेताहरू यकिन गरी केन्द्रीय समिति बैठकमा पेस गर्न इन्चार्जहरूलाई निर्देशन दिएको बुझिएको छ ।

काम नगर्नेको हकमा स्पष्टीकरण लिने र आवश्यक परेको खण्डमा कारबाही गर्ने विषय राख्दै जाऔँ, केही न केही गर्नुपर्छ भनेर प्रचण्डले भनेको स्रोतले बतायो ।

अभियानमा केन्द्रीय समितिको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धित प्रदेशका इन्चार्जले बुझाउने निर्णय पार्टीले गरेको थियो । यस सम्बन्धमा विस्तृत रिपोर्ट लिन खटाएको र शनिबार बेलुकासम्म आइपुग्ने सचिव चक्रपाणि खनालले जानकारी दिए ।

बैठकको सुरूमा अध्यक्ष प्रचण्डले मस्यौदा विधान, अभियानको समग्र अवस्था, समसामयिक राजनीतिबारे संक्षिप्त भनाइ राखेका थिए । अभियानको समीक्षाका लागि २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । अभियनमा खटिएका नेताहरूको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी प्रचण्डले गरेका छन् ।

यद्यपि कुन प्रदेशमा कति जना फिल्डमा गएनन् भन्ने स्पष्ट तथ्याङ्क प्राप्त हुन सकेको छैन । तर कुन प्रदेशमा कति प्रतिशत नेता फिल्डमा गएका छन् भन्ने तथ्याङ्क प्राप्त भएको छ । फिल्डमा जाँदै नजाने केन्द्रीय सदस्यहरू सुदूरपश्चिमा बढी छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा केही कमी देखिएको छ ।

कुन प्रदेशमा कति छन् अल्छी नेता ?

कोशीमा चार प्रकारले नेताहरूको कार्य विभाजन गरिएको पाइएको छ । इमानदार अर्थात् क वर्गमा केन्द्रीय सदस्य ३३ प्रतिशत रहेको सचिवालयले जनाएको छ । ख वर्ग अर्थात ठिकठिकै काम गर्ने नेताहरू ३० प्रतिशत, अलिअलि काम गर्ने २५ प्रतिशत र कामै नगर्ने नेताहरू १२ प्रतिशत जति रहेको बुझिएको छ । 

कर्णालीमा ६८ प्रतिशत इमानदारपूर्वक खटिएको पाइएको छ । २२ प्रतिशत मध्यम र १० प्रतिशतले कामै नगरेको सचिवालयले जनाएको छ ।

लुम्बिनी कामै नगर्ने नेताहरू ५ प्रतिशत, इमानदारपूर्वक काम गर्ने ८० प्रतिशत र मध्यम खालका १५ प्रतिशत रहेको सचिवालयले जनाएको छ । गण्डकीमा बिरामीका कारण केही नेता फिल्डमा नगए पनि समग्रमा राम्रो रहेको प्रदेशकी अध्यक्ष गायत्री गुरुङको दाबी छ ।

बागमती प्रदेशको तथ्याङ्क प्राप्त भएको छैन । यद्यपि ९० प्रतिशतको हाराहारीमा फिल्डमा खटिएको सचिवालयले जनाएको छ । मधेशमा प्रदेश समिति नभएकाले स्पष्ट तथ्याङ्क प्राप्त भएको छैन । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत केन्द्रीय नेताहरू फिल्डमा नगएको पाइएको छ । ४० प्रतिशतले इमानदारपूर्वक काम गरेको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप