मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
पर्व

सोनाम ल्होछार : सांस्कृतिक जागरणदेखि पहिचान आन्दोलनसम्म

शनिबार, २७ माघ २०८०, १२ : ४४
शनिबार, २७ माघ २०८०

चन्द्रपात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि ल्होछार मनाइन्छ । तामाङ भाषामा ‘ल्हो’ भनेको वर्ष र छार भनेको नयाँ हो । तसर्थ ल्होछारको शाब्दिक अर्थ नयाँ वर्ष हुन्छ । आजदेखि २८६०औँ सोनाम ल्होछारको थालनी भएको छ । अर्थात् तामाङ नयाँ वर्षको सुरुवात भएको छ । तामाङहरू ‘ल्हो’ पद्धतिलाई मान्छन् । त्यस अनुसार जीवजन्तुमा आधारित १२ ल्हो र प्राकृतिक स्वभावका आधारमा पाँच खाम हुन्छन् । तामाङहरूको ‘ल्हो’ फेर्ने दिन नै ल्होछार हो । हरेक वर्ष एकपटक ल्होछार आउँछ । ल्होको एक चक्र पूरा हुन १२ वर्ष लाग्छ । त्यसलाई ल्होकोर अर्थात् ल्हेकोर भनिन्छ । त्यसपछि पुनः चक्र दोहोरिन्छ ।

१२ ल्होहरू : जिवा (मुसा), लङ (गोरु), ता (बाघ), य्हे (खरायो), ब्रुप (गडुल), ब्रुल (सर्प), त (घोडा), ल्हुक (भेडा), प्रे (बाँदर), ज्य (चरा), खि (कुकुर), फा (बँदेल) हुन् ।

पाँच खामहरू : छ्यु (पानी), ल्हुङ (बायु), मे (आगो), स (माटो), फे (फलाम हुन् । 

ल्होछारमा एउटा जनावरको समय सुरु भएपछि अर्कोमा नसरेसम्म त्यही जनावरको चरित्र, क्षमता, साहस, तीक्ष्णता, स्वभाव, आनीबानी आदि वर्षभर झल्किन्छ भन्ने मान्यता छ । तामाङ समाजको सामाजिक, सांस्कृतिक, धार्मिक जीवनमा ल्होछार परम्पराको आफ्नै विशिष्ट स्थान र महत्त्व रहेको छ । यस्तो महत्त्व बोकेको पर्वलाई राणाकाल र पञ्चायतकालमा लामो समयसम्म व्यापकतासाथ मनाउन राज्यले बाधा हालेका थिए । त्यस बेलाको राज्यको दृष्टिमा सामाजिक, सांस्कृतिक विविधता सौन्दर्य होइन कि बाधा र बोझ थियो । 

417660608_7303715449671552_3078395298727821553_n

  • किंवदन्ती

एकपटक एक ध्यानीले जंगलमा जनावरको दर्शन गरी मृत्यु हुने घोषणा गरेछन् । त्यस मुताबिक जंगलका जनावरहरू क्रमशः त्यस ध्यानी कहाँ पुगेछन् । पहिला रहरलाग्दो मुसा, दोस्रो कडा परिश्रमी गोरु, तेस्रो करिश्मामय बाघ, चौथो विवेकशील खरायो, पाँचौँ निश्चयी र महत्त्वाकांक्षी गरुड, छैटौँ विद्वान् तर चतुर सर्प, सातौँ उच्च मनोबल भएको घोडा, आठौँ भावुक भेडा, नवौँ चलाख बाँदर, १०औँ रंगीन तथा तुजुकवाल चरा, ११औँ स्नेहको भागिदार कुकुर अनि १२औँ पौरखी बँदेल पुगेछन् । १२औँ जनावरको दर्शनपश्चात् ती ध्यानीको मृत्यु भएछन् । त्यस ध्यानीले १२ जीवमार्फत पृथ्वीमा शासन गर्ने अवधारणा अगाडि सारेका थिए । त्यही आधारमा उनका चेलाहरूले ल्हो पद्धति बसाले भनिन्छ ।

ल्होछारअघि नै घर–आँगन मर्मत, लितपोत तथा सफा गर्ने, छेखाङ (पूजा कोठा) सफा गर्ने, बाटो, पँधेरो, चौतारो सफासुग्घर गर्ने, पूजा सामग्री, मिठा परिकार र लत्ताकपडा जोरजाम गरिन्छ । १२ ल्हो जनाउने १२ जनावरको आकृति बनाउने, आलुम पकाउने गरिन्छ । नयाँलाई स्वागत र पुरानोलाई बिदाइ गर्न गुथुग खाँदै रातभर दीपावली पनि गर्ने गरिन्छ । कुनै काम थालनी गरेको भए सिध्याउने चलन छ । 

ल्होछारको दिन बिहानै चोखोनितो गरेर यस भूमण्डलका सम्पूर्ण प्राणीहरूको सुख, शान्ति, रक्षा र कल्याणको कामना गर्ने, पूजापाठ गर्ने, घरमा दच्र्यु (पवित्र मन्त्र अंकित झन्डा) फहराउने गरिन्छ । 

दच्र्यु फहराउँदा ल्ह ग्यल्दो दुद् फम्मो (देवताको जय मारको पराजय) भनेर सामूहिक प्रार्थना गरिन्छ । यस अवसरमा आफन्त भेटघाट गरी अग्रजहरूबाट अनुजहरूले आशीर्वाद लिने गर्छन् । नाचगान, सांगीतिक कार्यक्रम, खेलकुद कार्यक्रमको समेत आयोजना गरी हर्षोल्लासका साथ ल्होछार मनाइन्छ । ल्होछारको दिनपश्चात् पनि गच्छे अनुसार म्हाबुसिङ (ज्वाइँचेली) खुवाउने, सम्धी खुवाउने, बुबामुमा, मामामाइज्यू, फुपूफुपाजु लगायतका आफन्त खुवाउने गरिन्छ । यसरी मान्यजन, नातागोता, कुल–कुटुम्ब, इष्टमित्र लगायत साथीसंगीसँग भेटघाट गरी आशीर्वाद शुभकामना आदान–प्रदान गरिन्छ ।

चिनियाँ मंगोल सभ्यताको इतिहासमा ल्होछार परम्परा पाँच हजार वर्ष पुरानो मानिन्छ । चिनियाँहरूले वसन्त ऋतुको अवसरमा र एसियाभरि मंगोल सभ्यताका रूपमा ल्होछार मनाउने गरेको नेपाल तामाङ घेदुङको दाबी छ । नेपालमा तामाङ, गुरुङ, शेर्पा, हुम्ली, खाम मगर, जिरेल, मनाङ्गे, तोप्गेगोला, भोटे, थकाली, नार, डोल्वा, नेस्यांवा र ह्योल्मो समुदायले विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरी हर्षोल्लासका साथ ल्होछार मनाउने गर्छन् ।

  • सोनाम ल्होछार 

आज मनाइरहेको ल्होछार सोनाम ल्होछार हो । सोनाम ल्होछार संसारकै अत्यन्तै पुरानो परम्परा मानिन्छ । तिब्बतीहरू किसानलाई सोनाम भन्छन् । खेती किसानी गर्नेहरूको उल्लासको समय भएकाले किसान उत्सवका रूपमा सोनाम ल्होछारलाई मान्ने गरिएको पाइन्छ । 

lohsar-(14)_ncL0eQw6Xn

  • सांस्कृतिक जागरण 

धार्मिक हिसाबले पाठपूजा गरेर मनाउने गरेको ल्होछार विभिन्न देशहरूमा राष्ट्रिय पर्वका रूपमा मानिन्छ । 

धार्मिक रूपमा भने सृष्टिकालमा ल्होछार मानेको बुझिन्छ । सामाजिक रूपमा धेरै पहिलेदेखि मान्दै आएको यस पर्वलाई सरकारले मान्यता दिनुपर्छ भनी तामाङ समुदायले लामो कालखण्डदेखि आन्दोलन गर्दै आएका थिए । लामो समयको माग, दाबी र दबाबका कारण २०५३ माघ १३ गते पहाडी तथा हिमाली समुदाय (ल्होछार मान्ने)हरूको साझा पर्वको रूपमा सरकारबाट ल्होछारलाई स्विकारियो । त्यस दिनदेखि सोनाम ल्होछार राजकीय पर्व भयो । अहिले यस पर्वमा सार्वजनिक बिदा दिने प्रचलन छ । 

एक समय यसरी जातजातिका पर्व मान्न बन्देज गरिएको थियो । ल्होछार मान्ने चलन हराउन लागेकाले नेपाल तामाङ घेदुङको अगुवाइमा विभिन्न तामाङ संघ–संस्थाहरू समेत सहभागी भई टुँडिखेलमा बृहत कार्यक्रम गरी राज्यलाई दबाब सिर्जना गर्ने काम यद्यपि भइरहेको छ । 

lohsar-(6)_eqYL2LGJ6v

काठमाडौँमा हुने यस प्रकारको कार्यक्रममा सरकारी उच्च ओहोदाका व्यक्तित्वलाई प्रमुख अतिथि बनाई जातीय समस्याहरू सुनाउने गरिन्छ । मौलिक संस्कृतिको रक्षा र पहिचानका लागि संघर्षहरू गरिँदै आएका छन् । अझ ल्होछारलाई उत्सवको रूपमा भन्दा पनि शक्ति प्रदर्शनका रूपमा समेत लिने गरिन्छ । यो चलन गाउँगाउँमा चलेको छ । यसले सामाजिक, सांस्कृतिक र राजनीतिक जागरण समेत ल्याएको छ । पहिचानका मुद्दाहरूलाई राज्यले किस्ता किस्तामा भए पनि सम्बोधन गरिरहेकै छ । तामाङहरूको हकहित र संस्कृतिको जर्गेनामा अझ धेरै कार्य हुन बाँकी नै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल फ्युबा तामाङ
गोपाल फ्युबा तामाङ
लेखकबाट थप