मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जिल्ला अदालत मकवानपुरले आजबाट सुविधा सम्पन्न नयाँ भवनबाट  सेवा प्रवाह गर्ने

आइतबार, २८ माघ २०८०, ०८ : ३८
आइतबार, २८ माघ २०८०

मकवानपुर । जिल्ला अदालत मकवानपुरले आइतबारबाट सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अदालतको सुविधायुक्त भवन बनेको करिब ३ महिनापछि सो भवनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको हो । 

भवन निर्माण करिब ३ महिनासम्म पनि हस्तान्तरण नहुँदा प्रयोगमा आउन सकेको थिएन। उक्त भवन निर्माण बापत कवीन्द्र नवसिर्जन सेलेट निर्माण कम्पनी काठमाडौँले ३ करोड ३६ लाख रुपैयाँ भुक्तानी लिनु बाँकी रहेको छ।

अदालतले आइतबारबाट नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । उनका अनुसार अदालतको भवन निर्माण बापतको रकम निर्माण व्यवसायीलाई अर्थ मन्त्रालयले रकम उपलब्ध नगराउँदा हस्तान्तरणमा समस्या हुँदै आएको थियो । अर्थ मन्त्रालयमा रकम भुक्तानीका लागि अदालतको निरन्तरको ताकेता भइरहेको र व्यवसायीको रकम भुक्तानी छिट्टै हुने भएकाले भवन हस्तान्तरण गरिएको उनले बताए । सेवा प्रवाह र भवनको औपचारिक उद्घाटन आगामी फागुन १६ मा गर्ने गरी तयारी गरिएको उनको भनाइ छ ।

हेटौँडा उपमहानगरपालिका-२ मा रहेको जिल्ला अदालतको भवन पुरानो भएकाले भत्काएर नयाँ भवन निर्माणका लागि २०७७ माघमा ठेक्का लगाएर काम सुरु गरिएको थियो । पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौँडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो । साँघुरो भवन भएकाले अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा प्रवाह गरिरहेका थिए भने सेवाग्राहीले पनि समस्या भोगिरहेका थिए । जिल्ला अदालत मकवानपुर ४ जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् । 

अदालतको नवनिर्मित भवन करिब १७ करोड लागतमा गत भदौमा निर्माण सकिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सामुन्ने बनेको उक्त अदालतको भवन सात तले रहेको छ । १३१ वटा कोठा रहेको भवनमा २ वटा लिफ्ट रहेका छन् ।

७ वटा इजलास कक्ष रहेको उक्त भवनमा १५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अन्डर ग्राउन्ड पार्किङ रहेको भवनमा १ सय ४ वटा सोलार प्यानलसमेत जडान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप