शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

खेत घरले भरियो, कौसीमा तरकारी !

आइतबार, २८ माघ २०८०, १० : ११
आइतबार, २८ माघ २०८०

पोखरा । पोखरा १७ विरौटाकी गीता क्षेत्रीले घरको छतमा तरकारी लगाएकी छिन् । फालिएका झोला र ड्रमहरूमा उनले तरकारी लगाएकी हुन् । उनको छतमा ३ किलोको बन्दा फलेको छ । ‘काउली बन्दाहरू खाने तयारीमा छ । अरू तरकारीहरू पनि रोपेको छु,’ उनले भनिन्, ‘सिजन हेरेर लगाउँछु । राम्रो उत्पादन हुन्छ ।’ 

तरकारी उनले खासै किन्न परेको छैन । ‘किचनको फोहोर कुहाएर मल घरमै उत्पादन गर्छौँ । विषादी प्रयोग गर्दैनौँ,’ उनले भनिन्, ‘कौसी खेतीबाट फाइदै फाइदा छ । पैसा बचत हुन्छ, निरोगी भइन्छ । तरकारी किन्ने पैसा बैंकमा राखेको छु । व्यस्त पनि भइने रहेछ ।’ उनले भिर्ने झोलादेखि प्लास्टिकमा समेत तरकारी रोपेकी छिन् ।

हालसालै गरिएको एक अध्ययन अनुसार पोखरामा सन् १९९० देखि २०१८ सम्मको अवधिमा ४० हजार रोपनी अर्थात् २ हजार हेक्टर कृषियोग्य भूमि घटेको देखाउँछ । विज्ञहरूले जिआइएस र स्थलगत अध्ययन गरेर उक्त विवरण सार्वजनिक गरेका हुन् । उनीहरूको रिपोर्टले कृषियोग्य जमिन घट्ने दर उच्च रहेको पनि निष्कर्ष निकालेको छ । यसका प्रमुख कारणहरूमा ग्रामीण भेगमा बाँदर आतंक र सहरी क्षेत्रमा प्लटिङ हो ।

पोखरा महानगरपालिकामा पूरा क्षेत्रफलको ४१ प्रतिशत भूमि कृषियोग्य रहेको पुरानो तथ्यांक छ । महानगरपालिकाले नै जग्गा वर्गीकरण गर्दा भने उक्त तथ्यांक १९.३ प्रतिशतमा झरेको छ । ‘गाउँमा बाँझोकरण बढ्दो छ । गाउँका जमिन बाँझिएका छन्, सहरी क्षेत्रमा खण्डीकरण छ,’ अध्ययन भन्छ, ‘यो दर अझै बढ्दो छ । बाँझिने क्रम व्यापक थपिएको छ ।’ गाउँमा खेती गर्न छोडेपछि गाउँलेहरू सहर झरेका छन् ।

२०७८ को जनगणना अनुसार पोखरामा १ लाख ४० हजार घरधुरी छन् । पोखरामा पेरिफेरिसँगै नजिकका जिल्लाहरूबाट पनि बसाइसराइ बढ्दो छ । जसका कारण जग्गा खण्डीकरण अस्वाभाविक रूपमा बढेको हो । शनिवार पोखरा महानगरपालिकाले अलि फरक लाग्ने इभेन्टको आयोजना गर्‍यो, ‘कौसी क्विन’ अर्थात् छतमा तरकारी फलाउनेलाई पुरस्कार । 

शनिवार भएको स्पर्धामा पोखरा ६ लेकसाइडकी भावना रानाभाटले पहिलो कौसी क्विन उपाधि जितिन् । फाइनलमा १८ प्रतिस्पर्धीलाई हराएर उपाधि जितेकी उनले नगद १५ हजार, ट्रफी र ताज पाइन् । प्रतिस्पर्धामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ दोस्रो, पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो तथा पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएका छन् । विजेताहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई जोडेर कौसी खेती प्रवर्द्धन गरिएको बताए । ‘अहिले सहरको फोहोर व्यवस्थापन विघ्न चुनौति छ । घरबाट फोहोर नै ननिकाल्ने मान्छे खोज्ने हो,’ उनले भने, ‘यसबाट आम्दानी पनि हुन्छ । वातावरण प्रदूषण पनि रोकिन्छ । यो काम सबैले गर्न सक्छन् भन्ने उदाहरण महानगरले देखाउन लागेको हो ।’

पोखरामा करिब ३० हजार किसानहरू कौसी खेतीमा आबद्ध छन् । महानगरले कौसी खेती गर्नेलाई अनुदानमा कम्पोस्ट बिन, असिना छेक्ने जाली, मल, बिउ लगायत सहयोग गर्छ । ‘२ कार्यकालमा १० हजारजति कम्पोस्ट बिन वितरण भैसकेको छ । सुन्दा अस्वाभाविक लागेपनि अब हामी अनुकलनतिर जानुपर्छ,’ उनले भने, ‘कौसी खेती प्रभावकारी छ । यसको प्रवर्द्धन गर्नुपर्छ ।’

कौसी खेतीलाई आयआर्जनसँगै सरसफाइसँग पनि जोडिएको छ । बढ्दो सहरीकरणमा हुन सक्ने प्रदूषण र उत्सर्जन हुने फोहोरलाई घरघरबाटै व्यवस्थापन गर्न कौसी खेती प्रभावकारी माध्यम हुनसक्ने विज्ञहरूले सुझाएका छन् ।

 कडरियाका अनुसार कौसी खेती गर्नेहरूले वार्षिक २५ करोडजतिको तरकारी र फलफूल उत्पादन गरेका छन् । ‘हरियो सागसब्जी, सिजनका तरकारी नकिन्ने किसान हजार हाराहारी छन् । कौसी र करेसामा तरकारी लगाएर कसैले मनग्गे कमाएका पनि छन्,’ उनी भन्छन्, ‘सहर समृद्ध हुन प्रदूषण रहित हुनुपर्छ । हरियाली आवश्यक छ । वातावरणीय हिसाबले नै यो राम्रो हुने रहेछ ।’

मेयर धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न कौसी खेतीले सहयोग पुगेको बताए । ‘जसको घरमा कौसी खेती छ, कम्तीमा उनीहरूले तरकारी बाहिरबाट किनेर खाँदैनन् । नजिकका छिमेकीलाई पनि बाँड्छन्,’ उनले भने, ‘घरमै फलेको तरकारी अर्ग्यानिक पनि छ । बचत पनि हुन्छ ।’ उनले बाँझो जमिनको प्रयोगसँगै कौसी खेती प्रवर्द्धन गर्ने बताए । ‘जमिन बाँझो छ, कौसी खेती किन भन्ने प्रश्न आउँछ । एक हिसाबले यो जायज प्रश्न पनि हो,’ उनले भने, ‘तर बाँझो जमिन गाउँमा छ, मान्छे सहरमा छन् । यसलाई पनि हामीले नजरअन्दाज गर्नु हुँदैन ।’ खासगरी वडा नम्बर १ देखि १७ सम्म कौसी खेती बढी हुन्छ । महानगरले कौसी खेती तालिम पनि दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप