शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा २ सहित ६ जना मृतावस्थामा फेला

आइतबार, २८ माघ २०८०, १२ : १६
आइतबार, २८ माघ २०८०

काठमाडौं । काठमाडौँमा दुई जनासहित विभिन्न स्थानमा गरी ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-९ बिजयचोकस्थित सिरहा-धनुषा गेष्ट हाउसमा करिब ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । 

यसैगरी काठमाडौंकै टोखा नगरपालिका-६ धापासीस्थित टहरामा  डेरा गरी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-३ घर भएका २३ वर्षीय दिपेश खड्का पनि गएराति मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका-४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका-४ घर भएकी २८ वर्षीया कौसिला गौतम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
गुल्मीको रूरूक्षेत्र गाउँपालिका-२ ईजरे डाँडा बस्ने ६२ वर्षीय हिम बहादुर कामी पनि सोही गाउँपालिका-२ घड्लङ डाँडामा शनिबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हिँडि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिका-४ गैरी गाउँ बस्ने ७६ वर्षीय श्रीकृष्ण तामाङ सोही ठाउँस्थित अजेरी भन्ने जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिका-१ ईमाडोलमा पनि एक जनाको मृत्यु भएको छ ।  सो स्थानमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ६० वर्षीय नाबुराम तुलामी  शनिबार मृत अवस्थामा फेला परेका हुन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप