सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको विधान अधिवेशनमा छलफल हुने जनार्दन शर्माको पूरक प्रस्तावमा के छ ?

मङ्गलबार, ०१ फागुन २०८०, १५ : २०
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु भएको विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माको पूरक प्रस्तावमाथि पनि छलफल हुने भएको छ ।  

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरक प्रस्तावमाथि पनि छलफल हुने जानकारी दिँदै पम्फा भुसाल नेतृत्वको समितिले तयार गरेको मस्यौदा विधानमाथि २० समूहमा छलफल हुने जानकारी दिएका हुन् ।

सोही अनुसार २० वटा समूहमा छलफल गरेर सुझाव नेतृत्वसमक्ष पेस गरिनेछ । सोही सुझावको आधारमा नयाँ विधानको टुंगो लगाउँदै अधिवेशन सम्पन्न हुनेछ ।

शर्माको पूरक प्रस्ताव ९ बुँदामा समेटिएको छ । पहिलो बुँदामा पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलावा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाँट, निर्वाचन, सरकार निर्माण सम्बन्धी सबै अधिकारहरु प्रयोग गर्ने गरी विधानमा उल्लेख गर्नु पर्ने प्रस्ताव गरिएको छ ।

यस्तै दोस्रो बुँदामा पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको (पोलिटब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

तेस्रो बुँदामा सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था हुनुपर्ने, सबै तहका पदाधिकारीहरुको कार्यकाल र उमेर तोक्नु पर्ने पनि प्रस्तावमा उल्लेख छ।  

यस्तै अर्को बुँदामा पार्टीको नाम नेकपा समाजवादी राख्नु पर्ने प्रस्ताव गरिएको छ ।

यस्तै जवस सम्बन्धी नीतिमा पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढीकरण, परिचालन, पेसागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ भने जवस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउन प्रस्ताव पनि शर्माले गरेको छ । यसबाहेक जिल्ला समितिको कार्यक्षेत्रको सन्दर्भमा पनि शर्माले पूरक प्रस्ताव लगेका छन् ।

जसमा वैचारिक राजनैतिकअन्तर्गत संगठन निर्माण, सुदृढीकरण तथा परिचालन, आर्थिक उत्पादन रोजगारी /विकास निर्माण र सरकार सम्बन्धी काममा सामाजिक सांस्कृतिक रुपान्तरण/सामाजिक न्याय/अनुगमन र मूल्याङ्कन हुनु पर्ने प्रस्ताव गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप