मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण’ विमोचित

बुधबार, ०२ फागुन २०८०, २१ : ५२
बुधबार, ०२ फागुन २०८०

पाटन । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ ।  मामाघर आश्रमद्वारा आज बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणका आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको विमोचन गरे ।

पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखनबाट झाले आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई अमर बनाएको धारणा राखे । उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउँदै सीताविना रामको कथा अधुरो हुने धारणा राखे ।

“सीताको बर्णन ओझेलमा परिरहेको छ । सीता नेपाली चेली हुन् । मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो । यसलाई बृहत् ढङ्गले हेर्नुपर्छ र बृहत् ढङ्गले व्याख्या गर्नुपर्छ”, नेता निधिले भने । 

उनले हामीले रामायणलाई कुन आँखाले हेर्छौं भन्ने कुरामा निर्भर गर्छ भन्नुहुँदै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ हो उल्लेख गरे । उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिकरुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा राखे ।  

प्रकाशित कृतिमाथि समीक्षा गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढी गरिएको बताउँदै सीताको भूमिमा सीताको चर्चालाई व्यापकता दिइनुपर्नेमा जोड दिए ।

“मिथिलामा महिलालाई प्राथमिकता दिइन्छ, तर रामायणमा कम प्राथमिकता दिइएको पाइन्छ । पूर्वीय दर्शनमा लेखिएको सबै पुस्तकमध्ये रामायण सबैभन्दा बढी सङ्ख्यामा लेखिएको पुस्तक हो । यो जति सङ्ख्यामा अरु कुनै पनि पुस्तक लेखिएको छैन, आजको दिनमा रामायणको कुरा गर्दा हाम्रै भूमिमा जन्मिएको सीताबारे हाम्रैमा कम चर्चा हुने गरेको छ । तसर्थ हामीले सीतालाई पनि न्याय हुने तरिकाले व्याख्या गर्नुपर्ने स्थिति छ”, अध्यक्ष झाले भने ।

उनले मैथिली भाषामा लेखिएको रामायण स्थानीय जनवनेलीमा लेखिएको र सबैले बुझ्नसक्ने पहिलो कृति भएको बताउँदै मैथिली समाजमा यसले भाषा कसरी लेख्ने भनेर एउटा बहस सृजना गर्ने वातावरण बनेको बताए ।

साहित्यकार डा.मञ्चला झाले मैथिली भाषामा अनुवाद गरेर लेख्ने आँट गरेकामा लेखक झाप्रति आभार व्यक्त गरिन् । उनले यो पुस्तक  सजिलैसँग बुझ्न सकिने बताइन् । हालसम्म ५० वटाभन्दा बढी भाषामा रामायण लेखिएको बताउँदै उनले यो पुस्तक प्रकाशनबाट मैथिली भाषाको व्यापकतामा सहयोग पुगेको बताइन् । हिन्दूहरुका भगवान रामबारेमा वर्णन गरेर वाल्मिकीले रामायणमा चित्रण गरेर राम नामको महिमालाई व्यापकता दिइएको उनको भनाइ थियो । 

गद्यात्मक शैलीमा अनुवादित ‘अर्चनाकृत रामायण’मा करिब ६४ हजार शब्द रहेको अनुवादिका अर्चना झाले जानकारी गराइन् । रामायणमा हिन्दू धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा श्री राम र लक्ष्मी माताका अवतार सीता माताको गाथा लेखिएको छ ।

यसमा आठवटा अध्याय छन् जसलाई काण्ड भनिन्छ । नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत आदिलगायत भाषामा पढ्न पाइने रामायण अब प्राचीन मिथिलावासीले सरल मैथिली भाषामा सम्पूर्ण पढ्न पाउने अवसर मिलेको अनुवादिका झाले बताइन् । 

यस किताबको सम्पादन वरिष्ठ साहित्यकार विनित ठाकुरले गरेका छिन् । महर्षी तथा संस्कृत भाषाका आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मिकी रामायण’ त्रेतायुगमा भएको मानिन्छ ।

पवित्र धार्मिकग्रन्थका रूपमा रहेको रामायणमा दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रिव, जटायु आदिलाई मुख्य पात्रकारुपमा चित्रित गरिएको छ । 

मामाघर आश्रम आश्रमका अध्यक्ष श्री बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले अहोरात्र खटिएर पुस्तक प्रकाशन गरेकामा अनुवादिका झाप्रति हार्दिक आभार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप