सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

आइतबार, ०६ फागुन २०८०, १७ : १८
आइतबार, ०६ फागुन २०८०

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन्  । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । 
मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका–१०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका–२ र ३,  विनयी त्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ”, उनले भने । 

कृषि ज्ञान केन्द्र नवलपुरले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।

  “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो”, उनले भने, “यस वर्ष एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएको छ । गतवर्ष भन्दा अहिले एक सय १५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।” जिल्लामा गतवर्ष एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो । 

बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए । “चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उनले भने, “जिल्लामा विशेष गरी चैते-५ र हर्दिनाथ-१ जातको चैते धान रोप्ने गरिन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप