आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

गठबन्धन दलबाटै सरकारको चर्को आलोचना
आइतबार, ०६ फागुन २०८०, १८ : १९
आइतबार, ०६ फागुन २०८०

वीरगन्ज । मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । 

विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए । आजको प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उनको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । 

प्रदेशसभामा तेस्रो पटक लिन लागिएको विश्वासको मतमा सत्ता गठबन्धनमा आबद्ध दलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरूले समर्थन जनाउँदै विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरू नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीसहित स्वतन्त्र प्रदेश सांसदहरूले समेत विश्वासको मत दिएका हुन् ।

योसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जसपाका प्रदेश सांसदहरूले पनि विश्वासको मत दिएका हुन् । 

प्रदेश सरकारलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्रका ९, लोसपा ९, एकीकृत समाजवादीका ७  र साना दलहरूबाट ३ जना सांसदले अहिलेको सरकारको पक्षमा मतदान गरेका हुन् । योसँगै स्वतन्त्र सांसदहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए  । 

  • कुन कुन दलले दिएनन् विश्वासको मत?

तेस्रो पटक मधेस प्रदेश सभाबाट लिइएको विश्वासको मतमा २ दलले विपक्षमा मतदान गरेका छन् । मधेस प्रदेश सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै नेकपा एमाले र जनमत पार्टी मुख्यमन्त्री यादव नेतृत्वको सरकारको विपक्षमा मतदान गरेको हो । 

प्रदेश सभामा एमालेको सांसद सङ्ख्या सभामुखबाहेक २३ र जनमत पार्टीको सिट सङ्ख्या १३ छ । तर मुख्यमन्त्री यादवको विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेका थिए ।

  • सदनमा गठबन्धन दलबाटै मुख्यमन्त्रीको चर्को विरोध

प्रदेश सरकारले लिएको तेस्रो पटकको विश्वासको मतदानमा सत्ता गठबन्धन दलसहित अन्य दल तथा प्रदेश सांसदहरू सरकार र मुख्यमन्त्री यादवको आलोचना गरेका थिए ।

सत्ता गठबन्धन दलहरूमध्ये लोसपाबाट बोल्दै उपेन्द्र महतोले सरकार हरेक काममा असफल हुँदै गइरहेको टिप्पणी गरेका थिए । उनका अनुसार सरकार भ्रष्टाचारदेखि लिएर लुटतन्त्रमा समेत लागेको छ । सरकारले एक वर्षमा खासै केही उपलब्धि नगरेको उनको आरोप छ । 

उनले सरकारले विश्वासको मत लिनु भन्दा पहिले रिपोर्ट कार्ड दिनुपर्थ्यो, जुन आउँदैन । तर यसको बाबजुद पनि माथिल्लो गठबन्धनको निर्देशन अनुसार बाध्यताका कारणले सरकारलाई विश्वासको मत दिइरहेको बताउँदै लोसपा सांसद महतोले आगामी दिनमा सरकारका काममा सुधार ल्याउन सुझाव दिएका थिए ।

लोसपा मात्रै होइन, कांग्रेसले पनि मुख्यमन्त्री यादव नेतृत्वको सरकारप्रति गुनासो गरेको छ । कांग्रेस संसदीय दलका नेता एवम् सरकारका मन्त्री कृष्ण यादवले सरकारको क्रियाकलापमा सुधार ल्याउनुपर्ने औँल्याएका थिए । उनले अहिलेको सरकार अरूको इसारामा चलिरहेको आरोप लगाएका थिए । 

उनले भने,‘त्यसकारण अबको दिनमा यी सब कुराहरूमा सुधार आउनुपर्छ, नत्रभने आगामी दिनमा कांग्रेसले समर्थन जनाइरहन्छ भने जरुरी छैन ।’ यसै गरी माओवादी सांसद भरत साहले सरकार असफल हुँदै गइरहेको बोलेका थिए  । 

विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले एक आर्थिक वर्ष बितिसक्दा पनि कुनै ठोस उपलब्धि नरहेको बताए । मधेस सरकार कम एकदम गतिमा हिँडिरहेको सरकारको रूपमा देखिएको एमाले संसदीय दलका नेता यादवको आरोप छ । 

उनले अहिलेको सरकारको चाबी अन्त्यै रहेको आरोप लगाएका थिए । यसको साथै रेडबुकमा राखिएका योजनाहरू समेत किनबेच भइहरेको उनले टिप्पणी गरे । प्रदेश सरकारले चिठी दिएर योजनाहरूको किनबेच गरिरहेकोले यसतर्फ सुध्रिन उनको सुझाव छ । 

सरकारले प्रगतिमा शून्य नतिजा ल्याएकाले  हामीले यो सरकारलाई दिँदै आएको समर्थन यो पटकका लागि भने नदिने निर्णय गरिएको उनले बताए । 

के भने मुख्यमन्त्री यादवले ?

सदनमा सत्ता पक्ष तथा विपक्षी दलबाट उठाइएका कुराहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफूले कुनै गलत काम नगरेको जनाए । उनले सरकारले नराम्रो काम के गरेको छ भने त्यो जानकारी दिन माग गरे । बजेटको सन्दर्भमा सातै प्रदेशमध्ये मधेस प्रदेशमा राम्रो खर्च भएको उनले प्रष्ट पारे । 

उनले भने,‘मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, न त कसैसँग एक रुपैयाँ पनि मागेको छु । जनताको सेवा गर्न सबै मन्त्रीलाई समेत भन्ने गरेको  छु ।’ यसको बाबजुद पनि आगामी दिन सदनबाट आएका सबै सुझावलाई पालना गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विश्वासको मत दिने आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप