शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दबाब खेप्न नसकेपछि घटाइयो फिर्केको मापदण्ड, फेवामा ६५ मिटर (अरूको कति ?)

आइतबार, १३ फागुन २०८०, २१ : ५०
आइतबार, १३ फागुन २०८०

पोखरा । २०७५ पुस ६ गते बसेको पोखरा महानगरको कार्यपालिका बैठकले फिर्के, बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर कायम गर्ने निर्णय गर्‍यो । १० मिटरभित्र धेरै घर संरचना भत्किने भएपछि दबाब खेप्न नसकेर अहिलेका जनप्रतिनिधिले फिर्केको मापदण्ड घटाएर ६ मिटर बनाइदिएका छन् ।

फिर्केसँगै बुलौंदी खोला र अन्य खोल्साको मापदण्ड पनि ६ मिटर तोकिएको इन्जिजियर सुरेन्द्र पौडेलले जानकारी दिए । पोखराले यहाँका ताल र खोला तथा नदीहरूको नयाँ मापदण्ड कायम गरेको छ । १० मिटरभित्र कति संरचना छन् भन्ने अध्ययन समेत महानगरले गरेको छैन । यसअघि ५ मिटरभित्रका संरचनाको अध्ययन गरिएकोमा १ सय ६० घर टहरा हटाउनुपर्ने उल्लेख छ ।

६ मिटर कायम गर्दा केही संरचना अझै बढ्छ । फिर्केका दुवै किनारमा महानगरले पोल गाडेर सीमा छुट्याएको छ । उक्त पोलबाट दुवैतर्फ ६÷६ मिटर मापदण्ड लागु हुने पौडेलले बताए । उक्त मापदण्ड राजपत्रमा प्रकाशन हुन बाँकी छ । ‘मापदण्ड तयार भयो । राजपत्रमा निस्किन बाँकी छ,’ उनले भने । पोखराको सबैभन्दा ठुलो नदी सेती सहित मर्दी, काली, हर्पन, सुरौंधी, पुँडी लगायत खोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको ७ मिटर मापदण्ड छ ।

  • फेवामा ६५ मिटर, रुपा बेगनास १ सय मिटर

सर्वोच्चको फैसला अनुसार फेवातालको मापदण्ड ६५ मिटर नै कायम गरिएको छ । दोस्रो ठुलो ताल वेगनास र तेस्रो ठुलो रुपातालमा चारैतिरको सिमानामा १ सय मिटर मापदण्ड कायम गरिएको महानगरले जनाएको छ । दिपाङ, मैदी, खास्टे, गुँदे, खास्टे र न्यूरेनी तालमा ५० मिटर बनाइएको छ । ठूलीपोखरी, कमलपोखरी र खुँडेपोखरीमा ६ मिटरको मापदण्ड तोकिएको छ । सबैभन्दा ठुलो तालको मापदण्ड ६५ मिटर र साना तालमा १ सय मिटर मापदण्ड तोक्नु असान्दर्भिक हुने स्थानीयहरूको गुनासो छ । वेगनासताल क्षेत्रका नागरिकहरूले फेवाको मापदण्ड घटेपछि अन्य तालमा पनि मापदण्ड घटाउनुपर्ने बताउँछन् ।

‘कि फेवाको मापदण्ड डेढ सय मिटर बनाइयोस् नत्र बेगनास र रुपामा सय मिटर मापदण्ड कार्यान्वयन हुन सक्दैन,’ उनीहरूले भने । यसअघि महानगरको ५५ औँ कार्यपालिका बैठकले फेवा सहित सबै तालको मापदण्ड घटाउने निर्णय गरेको थियो । फेवाको मापदण्ड ६५ मिटरबाट ३० मिटरमा झारिएको थियो भने रुपा र बेगनासको ५५ मिटर बनाइएको थियो । फेवाको मापदण्ड ६५ बनाउन सर्वोच्चले आदेश दिएपछि रुपा र बेगनासको पनि स्वतः १ सय मिटर हुने तर्क महानगरको छ ।

भवन तथा पूर्वाधार निर्माण मापदण्डले सडकको समेत मापदण्ड कायम गरेको छ । पोखराभित्रका राजमार्गमा २५ मिटर, मूल मार्ग १५ मिटर, शाखा मार्ग ७.५ मिटर, प्रशाखा ६ मिटर, पहुँच मार्ग ५ मिटर, स्थानीय मार्ग ४.५ मिटर फराकिलो हुनुपर्ने व्यवस्था गरिएको छ । महानगरले बनाउन लागेको चक्रपथको चौडाइ कम्तीमा १५ मिटरको हुनेछ । विशेष सहरीमार्ग ‘क’ १५ मिटर, ‘ख’ १२ मिटर र ‘ग’ वर्गको बाटो ८ मिटरको बन्नेछ । ग्रामीण गोरेटो, घोडेटो २.५ मिटर फराकिलो हुने मापदण्डमा उल्लेख छ ।

यस्तै, भवनको मापदण्ड पनि फेरिएको छ । २०३१ सालको गुरुयोजना अनुसार पोखराको लेकसाइड क्षेत्रमा साढे २ तला र त्यस बाहिर साढे ३ तालको घर बनाउन पाउने व्यवस्था थियो । यद्यपि दसौँ तलासम्मका घर पनि बनिरहेका छन् । अहिलेको मापदण्डले अधिकतम ५ तला अर्थात् १७ मिटरसम्मको घर बनाउन पाउने बाटो खोलिदिएको छ । युरोपियन युनियन, स्विच एसिया, नेपालमा ऊर्जा दक्षता निर्माण (बिन) लगायतको सहयोगमा तयार पारिएको मापदण्ड मेयर धनराज आचार्यले सार्वजनिक गरेका हुन् ।

यसअघि बनेका संरचनालाई अभिलेखीकरण गर्ने उनको भनाई छ । ‘पहिले बनिसकेका घरहरूलाई अभिलेखीकरण गर्न कार्यविधि बनाएका छौँ । त्यसकै आधारमा ती घरहरू अद्यावधिक हुन्छन्,’ उनले भने, ‘नयाँ घर बनाउँदा चाहिँ यो मापदण्ड कडाइका साथ कार्यान्वयन हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप