आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
विषादी परीक्षण

तरकारी तथा फलफूलमा प्रयोग हुने १६३ थरी विषादीमध्ये १२ को मात्रै परीक्षण

शुक्रबार, १८ फागुन २०८०, १४ : १२
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । कृषि बालीका लागि प्रयोग गर्न विभिन्न १६३ भन्दा बढी विषादी दर्ता भए पनि उत्पादित तरकारी तथा फलफूलमा १२ प्रकारका विषादीको मात्र परीक्षण हुने गरेको छ । देशमा रहेका विभिन्न प्रयोगशालामा १० देखि १२ वटा किटनाशक विषादीको मात्रै परीक्षण हुने केन्द्रीय कृषि प्रयोगशालाका निमित्त प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले बताए ।

‘हामीले १० देखि १२ वटा किटनाशक विषादीको मात्रा परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘हामीकहाँ झण्डै १५० वटाभन्दा बढी विषादी दर्ता भएको छ, हालसम्म कृषि उपजमा ढुसीनाशक, झारनाशक विषादीको मात्रा परीक्षण गरिएको छैन ।’

आयात गरिएको तरकारीभन्दा स्थानीय उत्पादनमा कम विषादी प्रयोग हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए । ‘बाहिरी मुलुकको तुलनामा हाम्रो देशमा उत्पादन हुने तरकारीमा विषादीको मात्रा कम हुन्छ,’ उनले भने, ‘विकसित मुलुकमा व्यवसायका लागि बढी तरकारी उत्पादन गर्ने भएकाले त्यहाँ विषादीको प्रयोग बढी हुन्छ, त्यसकारण आयातित भन्दा स्वदेशी तरकारी विषादीको हिसाबले बढी सुरक्षित छ ।’

‘अफ सिजन’को तरकारीमा विषादी जाँच केन्द्रित

तरकारीमा विषादीको मात्रा जाँच गर्नका लागि ‘अफ सिजन’को तरकारीको नमूना बढी संकलन गरिन्छ । व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दा छिटो उत्पादन लिन, रोग किराको प्रकोप न्यूनीकरण गर्न विभिन्न खाले विषादी प्रयोग गरिन्छ । ‘विषादीको रोकावट जाँच गर्न सेम्पल कलेक्सन गर्दा अफ सिजनको तरकारीमा बढी फोकस छौँ,’ पौडेलले भने, ‘अफ सिजनको तरकारीमा बढी विषादी प्रयोग हुन्छ ।’

विषादीको मात्रा कसरी नापिन्छ ?

देशभर ७ वटा कृषि प्रयोगशालाले दैनिक रुपमा तरकारी तथा फलफूलको नमूना संकलन गर्छन् । संकलित नमूना हरेक दिन परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाकी बाली संरक्षण अधिकृत सिर्जना श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘जाँच गरेर उपभोगयोग्य, केही समय पखर्नु पर्ने र अयोग्य छुट्याएर तरकारी तथा फलफूल बजारमा जानकारी गराउँछौँ ।’

श्रेष्ठका अनुसार बढी उपभोग अयोग्य तरकारी तथा फलफूल नष्ट गरिन्छ । केही समय पर्खेर खान योग्य तरकारी दुई–तीन दिनपछि पुनः जाँच गरेर खानयोग्य भएपछि मात्रै बजार लगिने उनको भनाइ छ ।

तरकारी तथा फलफूलको संकलित नमूनामा विषादीको रोकावट जाँच गरिन्छ । अधिकृत श्रेष्ठका अनुसार तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम रोकावट देखिएमा सो वस्तु उपभोगयोग्य हुन्छ, जसलाई हरियो रङले संकेत गरिन्छ ।

यस्तै, ३५ देखि ४५ प्रतिशतको रोकावट मात्रा देखिएमा त्यसलाई खान केही समय पर्खनुपर्ने हुन्छ, जसलाई पहेँलो रङले संकेत गरिन्छ । यसलाई केही समयपछि पुनः जाँच गरी हरियो संकेत आएमा खानयोग्य मानिन्छ ।

यस्तै, तरकारी तथा फलफूलमा विषादीको जाँच गर्दा ४५ प्रतिशतभन्दा बढी रोकावट देखिएमा उपभोग अयोग्य ठहरिन्छ । यसलाई रातो रङले संकेत गरिन्छ, जुन तरकारी तथा फलफूल नष्ट गर्नुपर्ने हुन्छ ।

विषादीको रोकावट प्रतिशत कार्वामेट र अर्गानोफस्फेट समूहका किटनाशक विषादीहरुको मात्र परीक्षण हुने भएकाले अन्य विषादी, रसायन आदिको हकमा यो नतिजा लागु नहुने श्रेष्ठले बताइन् ।

सात महिनामा २६ वटा नमूना खान अयोग्य

चालु आर्थिक वर्षमा देशभरबाट संकलित ४ हजार ४३७ वटा नमूनामध्ये २६ वटा नमूना खान अयोग्य, १२ वटा केही समय पर्खनु पर्ने र ४ हजार ३९९ वटा खान मिल्ने पाइएको प्रयोगशालाको तथ्याङ्कमा उल्लेख छ ।

प्रगोगशालाले ७ वटा स्थानबाट विषादीको रोकावट जाँच गर्दै आएको छ । चालु आर्थिक वर्षको फागुन ११ गतेसम्म कालीमाटीबाट ६७९ वटा नमूना संकलन गरेकोमा ७ वटा खाना अयोग्य, ४ वटा केही समय पर्खनु पर्ने र ६६८ वटा खाना मिल्ने पाइएको थियो ।

यस्तै, झापाको विर्तामोड प्रयोगशालाबाट ६६१ वटा नमूना संकलन गरी परीक्षण गर्दा एउटा वटा खाना अयोग्य र ६६० वटा खान मिल्ने पाइएको थियो ।

यस्तै, सर्लाहीको नवलपुर प्रयोगशालाबाट ५४५ वटा नमूना संकलन गरी परीक्षण गर्दा २ वटा केही दिन पर्खनुपर्ने, ५४३ वटा नमूना भने खानयोग्य थियो ।

यस्तै, रुपन्देहीको बुटवलस्थित प्रयोगशालाबाट ६२० वटा तरकारी तथा फलफूलको नमूना संकलन गरिएको थियो । जसमध्ये एउटा खान अयोग्य, ३ वटा केही समय पर्खनुपर्ने र ६१६ वटा खानयोग्य रहेको केन्द्रीय प्रयोगशालाले जनाएको छ ।

यस्तै, कास्कीको पोखराबाट ६३५ वटा नमूना संकलन गरिएकोमा ८ वटा नमूना खान अयोग्य, एउटा केही समय पर्खनु पर्ने र ६२६ वटा खानयोग्य पाइएको थियो ।

बाँकेको नेपालगञ्जस्थित प्रयोगशालाबाट ६०३ वटा नमूना संकलन गरिएकोमा एउटा खान अयोग्य र ६०२ खान मिल्ने थिए ।

कैलालीको अत्तरिया प्रयोगशालाबाट ६९४ वटा नमूना संकलन गरिएकोमा ८ वटा खान अयोग्य, २ वटा पर्खनुपर्ने र ६८४ वटा नमूना खान मिल्ने पाइएको थियो ।

यस्तै एक वर्षको अवाधिमा काठमाडौँको फलफूल तथा तरकारी बजार विकास समितिको बजार परिसरबाट संकलन गरिएका तरकारीमध्ये २६ वटा नमुना तरकारी तथा फलफूल खानयोग्य नरहेको पाइएको छ ।

यसअघि समाचारमा १६३ थरी विषादी हुनुपर्नेमा अन्यथा हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप