बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जोमसोम–पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

शुक्रबार, १८ फागुन २०८०, २१ : १०
शुक्रबार, १८ फागुन २०८०

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो ।

गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले आजदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताए । मङ्सिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम–पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ । “मौसममा सुधार र पर्यटकीय याम सुरु भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो”, विमानस्थलका प्रमुख शाहले भने, “सुमित एयरलाइन्सले आज दुई उडान भरेको छ ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी–जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप