मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

पतनको दिशामा औपचारिक पाठ्यक्रम

शनिबार, १९ फागुन २०८०, ०९ : २०
शनिबार, १९ फागुन २०८०

बबिटले आधुनिक पाठ्यक्रमको सिद्धान्तको प्रतिपादन गरेको धेरै समय भएको छैन । संसारका औपचारिक तथा अनौपचारिक शिक्षा प्रदान गर्ने निकायले पाठ्यक्रमलाई शिक्षा प्रणाली वा शैक्षणिक पद्धतिको मेरुदण्ड माने पनि आजको समयमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा बबिटले परिभाषित गरेको औपचारिक पाठ्यक्रमको अवधारणा दिन प्रतिदिन स्खलित हुँदै गइरहेको छ । यसो भन्दा यथास्थितिवाद तथा संरचनावादमा विश्वास गर्ने विद्वत् वर्गले कुनै पनि हालतमा पचाउन सक्ने छैनन् तर निकट भविष्यमा औपचारिक कठोर पाठ्यक्रमको मान्यता अवश्य पतन हुनेछ भन्ने तर्कमा खास अर्थ छ भनेर दाबी गर्न सकिन्छ । 

विद्यालय र विश्वविद्यालयमा बनाइने कठोर प्रकृतिको औपचारिक पाठ्यक्रम केही तथाकथित विद्वान्हरूको संरचनावादी सोचको उत्पादन हो । त्यस्तो संरचनावादी सोचले उत्पादन गरेको औपचारिक पाठ्यक्रम सिकारुमुखी नभई ज्ञानमुखी बन्दछ भन्नेतर्फ सोच्दा आलोचनावादी नभई समालोचनावादी तर्क हो भन्ने मान्यता दिन प्रतिदिन बलियो बन्दै गएको छ । कठोर औपचारिक पाठ्यक्रमले ज्ञानको हस्तान्तरणलाई जोड दिन्छ भने भिगोस्की र पियाजेको ज्ञानको पुनर्निर्माण भन्ने सिद्धान्तलाई नकार्छ । अहिलेको समय भनेको ज्ञानको पुनर्निर्माण, सीपको पुनर्संगठन, धारणाको पुनः प्राप्ति र अनुभवको पुनर्संयोजनको समय हो । 

औपचारिक कठोर प्रकृतिको पाठ्यक्रमले सिकाइलाई यान्त्रिकीकरण गरायो, शिक्षकलाई निर्धारित पाठ्यक्रमले सिफारिस गरेको भूमिका मात्र निर्वाह गर्ने नाटककार बनायो, सिकारुलाई घोकन्ते विधार्जन गर्ने सुगा बनायो । यस्तो पाठ्यक्रमले सिकारुलाई कहिले पनि एक सामाजिक, सांस्कृतिक, सिर्जनात्मक, वैयक्तिक मानव हो भन्ने सोचेन । यसले सिकारुलाई पाठ्यक्रमको दास बनायो भने शिक्षकलाई ज्ञान, सीप तथा अनुभवको ठेकेदार बनायो । 

दुई–चारजना कोठे विद्वान्ले तय गरेको सिकाइको विधान आम सिकारुको जीवनको मार्गदर्शक बन्न सक्दैन । डेढ–दुई सय वर्ष पुराना विषयवस्तुलाई घोक्न बाध्य बनाउने औपचारिक पाठ्यक्रमले सिकारुमा निहित सिर्जनात्मक, रचनात्मक तथा बौद्धिक क्षमतालाई नष्ट गरिरहेको छ भन्दा तथाकथित विद्वान्हरू यो विचारमा सहमत हुन सक्दैनन् । घोक्ने–घोकाउने र परीक्षामुखी औपचारिक पाठ्यक्रमले स्वच्छ सिकारुलाई रोगी बनाइरहेको छ भन्ने तर्क रुसोको विचारसँग मेल खाए पनि हामी त्यसलाई परिमार्जन गर्ने सोचमा छैनौँ । 

संरचनावादी सोचले सिकारुलाई गलायो, अभिभावकलाई तर्सायो, शिक्षकलाई सक्रिय अनि विद्यार्थीलाई निष्क्रिय बनायो; विद्यालय तथा महाविद्यालयलाई वस्तु उत्पादन गर्ने कारखाना बनायो; विश्वविद्यालयहरू आविष्कारमुखी भन्दा पनि उत्पादनमुखी प्रतिस्पर्धाको स्थल बने; विद्यार्थीले सिकाइमा आफ्नो स्थान बिर्से; शिक्षकले पाठ्यक्रमभित्रको पाठ्य घण्टीमा आफूलाई विस्थापित गरे; सामाजिक सांस्कृतिक पुनर्उत्पादन भन्ने मान्यता स्खलित भयो भने ज्ञानका लागि ज्ञान भन्ने यथास्थितिवादी कथनले बलियो स्थान पायो । यी सबै कठोर औपचारिक पाठ्यक्रमका उत्पादन मात्र नभई आधुनिक समयमा पुनर्उत्पादन समेत बन्ने परिस्थिति सिर्जना भयो; जसले विद्यार्थीलाई दिन प्रतिदिन औपचारिक शिक्षाप्रति नैराश्यता पैदा गर्दै लग्यो । 

कक्षा कोठामा फरक–फरक रुचि, क्षमता, आवश्यकता तथा सामाजिक–सांस्कृतिक परिवेश भएका विद्यार्थी हुन्छन् भन्ने तथ्य औपचारिक पाठ्यक्रमले ख्याल गर्न सक्दैन ।

शिक्षा र शिक्षण फरक कुरा हुनुनपर्ने हो, शिक्षाका लागि शिक्षण गरिनुपर्ने तर शिक्षणलाई केवल पूर्वनिर्धारित पाठ्यक्रमले तोकेका विषयवस्तु विद्यार्थीलाई जबर्जस्ती पेलाइदिने माध्यमका रूपमा हेरियो । कक्षा कोठामा फरक–फरक रुचि, क्षमता, आवश्यकता तथा सामाजिक–सांस्कृतिक परिवेश भएका विद्यार्थी हुन्छन् भन्ने तथ्य औपचारिक पाठ्यक्रमले ख्याल गर्न सक्दैन । शिक्षकले सिकारु अनुसारको सिकाइ र आफ्नो विवेक अनुसारको बुझाइ विद्यार्थीलाई बताउन औपचारिक पाठ्यक्रमले सक्दैन । शिक्षक एक दन्त्यकथाको वाचकजस्तै औपचारिक पाठ्यक्रमप्रति वफादार रही आफूलाई पूरै समय कक्षाकोठाभित्र बेच्दछ; सिकारु आफूलाई पूर्ण रूपमा बिर्सेर बेग्लै दुनियाँको अनुभूति गर्दै आफ्नो अमूल्य समय कैदीका रूपमा कक्षाकोठाभित्र बिताउँछ । नक्कली राजकुमारका रूपमा शिक्षक–विद्यार्थी दुवै औपचारिक पाठ्यक्रमले जताजता धकल्यो त्यतैत्यतै पछि लाग्छन् । 

अहिलेको समय सूचना प्रविधिमैत्री भइसकेको छ; सिकारुले शिक्षक र पाठ्यपुस्तकलाई भन्दा आफ्नो हातमा भएको मोबाइल, ल्यापटप र कम्प्युटरलाई विश्वास गर्दछ । उसले शिक्षक र पाठ्यपुस्तकको विश्वास पनि किन गरोस् ? आफ्नो अगाडि उभिएको शिक्षक गुरुकुलको वेदवाचक जस्तो छ, आफूसँग भएको पाठ्यपुस्तक पाण्डित्यवादको बाइबलजस्तो छ तर विद्यार्थीसँग भएको मोबाइलमा हरेक समय नयाँ–नयाँ ज्ञानहरू अपडेट भइरहेका छन् । सिकारुले जुन कुरा सिक्न चाहन्छ त्यो आफ्नो मोबाइल र ल्यापटपबाट सिक्न पाउँछ, परीक्षा दिनका लागि उसले किताब पढ्नुपर्दैन, नोट लेख्नुपर्दैन अनि शिक्षकको प्रवचन सुन्नुपर्दैन, ‘एआई’को प्रयोग गरेरै परीक्षाको तयारी गर्न सक्छ । ज्ञान लिन वा परीक्षाको तयारी गर्न मोबाइल र ल्यापटप भए पुग्छ, अनि जागिर गर्न फेरि छुट्टै तयारी गर्नुपर्छ भने जीवनको तयारीका लागि औपचारिक पाठ्यक्रमभन्दा बाहिरको संसारै काफी छ । 

यसर्थ विद्यालय र विश्वविद्यालयको मेरुदण्डका रूपमा मानिएको कठोर औपचारिक पाठ्यक्रम दिन प्रतिदिन पतनको दिशामा छ । सिकाइ व्यक्तिको जीवनसँग जोडिनुपर्दछ । सिकेको कुरा सकेसम्म उसको वर्तमान जीवनमा प्रयोगमा आउनुपर्छ, त्यति भएन भने निकट भविष्यमा प्रयोगमा आउने सिकाइ व्यक्तिले प्राप्त गर्नुपर्छ, शिक्षालाई व्यक्तिको जीवनसँग जोडेर हेर्नुपर्छ । के र कति सिक्यो भन्दा पनि सिकेको कुरा जीवनमा कहाँ, के–कति मात्रामा प्रयोगमा आयो भन्ने चिन्तनबाट अबको शिक्षालाई हेरिनुपर्छ । 

पाठ्यक्रमलाई सैद्धान्तिक ज्ञानको ठेलीको रूपमा हेर्नुभन्दा व्यावहारिक ज्ञानको बास्केटका रूपमा बुझ्नुपर्छ । कठोर प्रकृतिको पाठ्यक्रमलाई विद्यार्थी, अभिभावक र शिक्षक मिलेर सामूहिक रूपमा जलाउनुपर्छ । पाठ्यक्रम निर्माणको जिम्मा विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रदान गरिनुपर्छ । पाठ्यक्रमसम्बन्धी नीतिको तर्जुमा सम्पूर्ण सरोकारवालाहरूको गोलमेच सम्मेलनबाट गरिनुपर्र्छ । हरेक दिन परिवर्तन हुन सक्ने लचिलो पाठ्यक्रमको नीति अवलम्बन गरिनुपर्छ । यति गरेपछि कठोर प्रकृतिको औपचारिक पाठ्यक्रममा व्यापक सुधार आउन सक्छ । विद्यार्थीको परिस्थिति सुध्रन सक्छ । शिक्षकको मनस्थिति सुध्रन सक्छ । अभिभावकको अपेक्षा बदलिन सक्छ । समाजको दिशा परिवर्तन हुन सक्छ । होइन भने कठोर प्रकृतिको औपचारिक पाठ्यक्रमको अवधारणा कुनै दिन अवश्य पतन हुनेछ । 

(लेखक मध्यपश्चिम विश्वविद्यालयमा उप–प्राध्यापक छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा
लेखकबाट थप