आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षमा  विपद् व्यवस्थापनमा १ लाख १ हजार २८३ जना प्रहरी परिचालन

बुधबार, २३ फागुन २०८०, १९ : १२
बुधबार, २३ फागुन २०८०

काठमाडौँ ।  ३ वर्षमा  विपद् व्यवस्थापनमा १ लाख १ हजार २८३ जना प्रहरी परिचालन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  भूकम्प, बाढी, पहिरो र भूक्षय, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, सवारी दुर्घटना, विमान दुर्घटना, औद्योगिक दुर्घटना, पशु आतंक आदि जस्ता विपद्का घटनामा प्रहरी जनशक्ति प्रयोग गर्ने गरिएको छ ।

जसअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३५ हजार ५९७ जना, आर्थिक वर्ष २०७९/०८० मा ४१ हजार ३६७ जना र चालु आर्थिक वर्षको ७ महिनामा २४ हजार ३१९ जना गरी जम्मा १ लाख १ हजार २८३ जना जनशक्ति परिचालन गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९३१ वटा, आर्थिक वर्ष २०७९/०८० मा ६ हजार २२९ वटा र चालु आर्थिक वर्षको ७ महिनामा ३ हजार २२४ वटा विपद्का घटना भएका थिए ।

विपद् व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि गरी विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज तथा कुशल उद्धार गर्ने नेपाल प्रहरीको मिसन रहेको छ । यो मिसन पूरा गर्न विपद् जोखिम, न्यूनीकरण, खोज तथा उद्धारको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने अर्जुनदृष्टि नेपाल प्रहरीको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले भने “शान्ति सुरक्षामा अहोरात्र खटिरहने नेपाल प्रहरी विपद् व्यवस्थापन तथा न्यूनीकरण अभियानमा पनि सक्रिय छ । प्रभावकारी तयारी, शीघ्र जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँगको समन्वयमा काम गर्ने गरिएको छ । प्रभावकारी खोज तथा उद्धारका लागि आगामी दिनमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ  ।”

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा जम्मा ३ हजार २२४ विपद्का घटना भएका छन् । ती घटनामा उद्धारका लागि २४ हजार ३१९ जना प्रहरी परिचालन गरिएको थियो । तीमध्ये आगलागीका १ हजार ९२७ वटा, पहिरोका ५२३ वटा, जनावर आक्रमण २७७ वटा, अविरल वर्षा १६९ पटक, बाढी १२४ पटक, भूकम्प ६९ पटक, चट्याङ ६३ पटक, लेक लाग्नु ४५ वटा, हावाहुरी ११ पटक, हिमपहिरो ३ पटक, हिमपात/शितलहर/ डुंगा दुर्घटना १/१ पटक र अन्य १० वटा घटना भएका थिए । तीमध्ये सबै भन्दा बढी आगलागीका घटना भएका छन् । ती घटनामा परेर ३१२ जनाको मृत्यु भएको छ । १ हजार १११ जना घाइते भएका छन् भने ९ जना बेपत्ता भएका छन् ।  

चालु आर्थिक वर्षमा जाजरकोट लगायतका ठाउँमा गरी ६९ वटा भूकम्पका धक्का महसुस भई १ सय ५५ जनाको दु:खद मृत्यु भयो भने ४ सय ९ जना घाइते भए । तत्काल २ हजार ५०४ जना प्रहरी कर्मचारी उद्धारमा परिचालन भए । यस्ता घटनाहरूमा सरकारी तथा गैह्रसरकारी सरोकारवालाहरू सँग समन्वय गरी प्रभावकारी खोज तथा उद्धार कार्य गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप