शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

के गर्दैछन् नेपालमा रहेका अवैतनिक दूतहरू ?

आइतबार, २७ फागुन २०८०, ०७ : १३
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपालमा इथोपियादेखि युगान्डासम्मका देशका लागि अवैतनिक वाणिज्य दूतहरू छन् । तीमध्ये अधिकांश व्यापारीहरू छन् । 

कूटनीतिक मामिलाको सामान्य जानकारीसमेत नराख्ने कतिपय व्यक्तिहरू विभिन्न देशका लागि अवैतनिक वाणिज्य दूत तथा महावाणिज्य दूत भएका छन् । उनीहरूले निलो प्लेट तथा झण्डा भएको गाडी प्रयोग गर्नेबाहेक दुई देशको सम्बन्धको विषयमा खासै काम नगरेको टिप्पणी हुने गरेका छन् । उनीहरू पटकपटक विभिन्न कारणले विवादमा समेत आउने गरेका छन् । 

परराष्ट्र मन्त्रालयबाट प्राप्त विवरण अनुसार नेपालमा विभिन्न ६२ वटा देशका लागि वाणिज्यदूतहरू छन् । त्यसमा वसन्तकुमार चौधरीदेखि अरुणकुमार चौधरी, चन्द्रप्रसाद ढकाल, निर्वाण चौधरी, राजेन्द्र खेतान, शाशीकान्त अग्रवाल, सुमित अग्रवाल, सुरज वैद्य भवानी राणासम्मका व्यापारीहरू छन् । 

नरेश दास, लोकमान गोल्छा, करण वैद्य, अशोककुमार अग्रवाल, विदुषी राणा, प्रदीपकुमार श्रेष्ठ, विक्रम पाण्डे, नवराज दाहाल, विष्णु अग्रवाल, नरेश दुगड, अम्बिका श्रेष्ठ, प्रेमप्रकाश खेतान, मौसमी श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, साहिल अग्रवाल, क्याबिनेट श्रेष्ठ, पदम ज्योतिलगायतका उद्योगपति कुनै न कुनै देशको अवैतनिक वाणिज्य दूत छन् । अवैतनिक दूतहरूको विवरण हेर्दा त आधाभन्दा बढी उद्योगपति नै छन् । कूटनीति क्षेत्रमा व्यापारीहरू हाबी भएको यो विवरण हेर्दा नै प्रस्ट हुन्छ । 

अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली २०३९ (२०७५ मा संशोधन) का अनुसार अवैतनिक वाणिज्यदूत हुनका लागि ३५ वर्ष उमेर पुरा भएको, सार्वजनिक जीवनमा ख्याती कमाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिरे बापत कालो सूचीमा नपरेको, साहुको दामासाहीमा नपरेको लगायतका मापदण्ड तोकिएको छ । 

विदेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले जे काम लागि उनीहरूलाई नियुक्त गरिएको हुन्छ, त्यस अनुसार केही पनि काम नभएको बताए । उनी भन्छन्, ‘निलो प्लेट र विदेशी झण्डा झुण्ड्याएर हिँड्नेबाहेक अरू केही काम गरेको देखिँदैन । आफ्नो सान देखाउनका लागि मात्रै यसमा नियुक्ति लिएका हुन्छन् ।’

परराष्ट्र मन्त्रालयका एक पूर्वअधिकारी भन्छन्, ‘व्यापारी वा उद्योगपति नै दूत हुनुपर्छ भनेर किटान नगरिए पनि सो नियमावलीको उपनियम (६) मा नेपाली नागरिकलाई अवैतनिक वाणिज्यदूतमा नियुक्तिको लागि प्रस्ताव गर्दा व्यापार, व्यवसाय, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा सहयोग पुर्‍याउन सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । नेपालका व्यापारीहरूले त्यही कुरालाई समातेर आफ्नो पहुँच र पैसाको बलमा वाणिज्यदूत बन्ने गरेका छन् ।’

विदेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले जे काम लागि उनीहरूलाई नियुक्त गरिएको हुन्छ, त्यस अनुसार केही पनि काम नभएको बताए । उनी भन्छन्, ‘निलो प्लेट र विदेशी झण्डा झुण्ड्याएर हिँड्नेबाहेक अरू केही काम गरेको देखिँदैन । आफ्नो सान देखाउनका लागि मात्रै यसमा नियुक्ति लिएका हुन्छन् ।’

यहाँका ठूलाठूला उद्योगपतिहरूले त्यतिकै पनि यहाँका नेतादेखि प्रधानमन्त्री र मन्त्रीसम्मलाई प्रभाव पार्ने गरेको र त्यही प्रभावका कारण अवैतनिक वाणिज्यदूतमा नियुक्ति पाइरहेको उनले दाबी गरे । उनीहरूले राज्य संयन्त्रलाई प्रभावमा लिएर नियुक्ति लिएका हुन्छन् र समाजमा आफ्नो रवाफ देखाउनेभन्दा अरू केही पनि काम नगरेको उनको जिकिर छ । 

परराष्ट्र मन्त्रालयका पूर्वसचिव एवं विदेश मामिलाका जानकार मधुरमण आचार्यले यो अवैतनिक वाणिज्यदूतको पद पटकपटक विवादमा पर्दै आएको बताए । उनले भने, ‘म छोटोमा भन्छु, उनीहरूले जे गर्नुपर्ने त्यो गरिरहेका छैनन् ।’

‘अहिले रुसमा फसेका नेपालीहरूलाई निकाल्न किन उनीहरूले प्रयास गरिरहेका छैनन् ? इजरायलमा पनि त्यस्तै अवस्था छ । ती विषयहरूमा किन पहल लिइरहेका छैनन्,’ उनले प्रश्न गरे । 

परराष्ट्र मन्त्रालयका पूर्वसचिव एवं विदेश मामिलाका जानकार मधुरमण आचार्यले यो अवैतनिक वाणिज्यदूतको पद पटकपटक विवादमा पर्दै आएको बताए । उनले भने, ‘म छोटोमा भन्छु, उनीहरूले जे गर्नुपर्ने त्यो गरिरहेका छैनन् ।’

निलो प्लेट र विदेशी झण्डाको आडमा गलत काम गरिरहेको आरोप पनि उनीहरूमाथि लाग्दै आएको छ । कोभिडका समयमा ज्वरो नाप्ने थर्मल गन निलो प्लेट भएको गाडीमा कालोबजारी गरेको आरोपमा उद्योगी सुलभ अग्रवाल पक्राउ परेका थिए । 

त्यतिबेला सुलभ अग्रवाल किर्गिस्तानका अवैतनिक वाणिज्यदूत थिए । उनी जस्तो अन्य वाणिज्यदूत पनि पटकपटक विवादमा आएका छन् । 

अवैतनिक दूतहरूमाथि उठेको विभिन्न प्रश्नको बारेमा जान्नका लागि इक्वेडरका लागि नेपालको अवैतनिक वाणिज्यदूत शाशीकान्त अग्रवाल र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासँग पटकपटक सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।  

con2con1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप