आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शालिन मृत्यु प्रकरणमा तीन प्रतिवादीले बयानमा के भने ?

बुधबार, ०७ चैत २०८०, १७ : ५७
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । चितनवको रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालिन पोखरेलको मृत्युका बारेमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दायर भइसकेको छ । कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते आफू बसेकै छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा प्रतिवादी बनाइएका बालहरि देवकोटा सोही विद्यालयका प्रिन्सिपलसमेत हुन् । अख्तियार प्राप्त अधिकारीसमक्षको बयानमा देवकोटाले शालिन पोखरेलसँग भेट भएको बेला बोलचाल हुँदा आफूले उनको हालखबर सोध्ने गरेको र उनले ‘राम्रै छ’ भनेर जवाफ दिने गरेको जनाएका छन् ।

शालिन होस्टेलबाट बिदा हुँदा उनको मामाघरबाट हजुरआमा लिन आउने गरेको र उनलाई लाई लिन वा समानहरू पुर्‍याउनका लागि सधैँजसो मामाघरबाट हजुरआमा आउने गरेको पनि उनले बयानमा भनेका छन् । शालिन पोखरेलको विद्यालय शुल्क उनकी आमाले हजुरआमा मार्फत बुझाउँदै आएको जनाउँदै देवकोटाले बयानमा भनेका छन्, ‘मिति २०८० सालको कार्तिक महिनातिर निज शालिन पोखरेलको विद्यालयमा बुझाउनु पर्ने शुल्क ४९ हजार १५० रुपैयाँ जति रकम बुबा दीपेन्द्र पोखरेलले मोबाइल बैंकिङ मार्फत बुझाउनु भएको भनी जानकारी भएको थियो ।’

सोही महिनाको अन्तिमतिर शनिबारको दिन शालिन पोखरेलको बुबा दीपेन्द्र पोखरेल विद्यालयमा आइ शालिन पोखरेललाई विद्यालयबाट लगेको र सोही दिन बेलुका शालिनलाई होस्टेलमा ल्याएर छाडेको आफूले कमल प्रसाद शर्मा सरबाट थाहा पाएको उनको भनाइ छ ।

गत फागुन १२ गते बिहान अन्दाजी १०ः३० बजेतिर किरण बहादुर अधिकारी सरले आफ्नो मोबाइलबाट फोन गरी विद्यालयको होस्टेलमा बस्ने शालिन पोखरेलले सुसाइड गरेको भनेर आफूलाई जानकारी गराएपछि घटनाबारे थाहा पाएको उनले बयानमा भनेका छन् ।

त्यसपछि आफूले नै तत्कालै प्रहरी कार्यालयमा खबर गर्न भनेको र आफूले तत्काल इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको कार्यालय प्रमुखलाई मोबाइलमा फोन गरेर घटनाको बारेमा जानकारी गराउना साथ गाडी चढेर विद्यालयमा पुगेको उनको भनाइ छ ।

‘सो विद्यालयको तेस्रो तलामा रहेको छात्रा होस्टेलमा प्रहरी, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू जम्मा भइसकेको र प्रहरीले घटनास्थललाई सुरक्षित राख्न कर्डन टेप लगाइ कोही कसैलाई जान दिएको थिएन,’ बयानमा देवकोटाले भनेका छन्, ‘म घटनास्थलमा पुगी विद्यालयमा रहनु भएका किरण बहादुर अधिकारी सरलाई भेटी घटनाको बारेमा बुझ्दा निजले शालिन पोखरेलले आफू बस्ने गरेको कोठा भित्रबाट बन्द गरी बसेपछि मैले पटक पटक बोलाउँदा समेत नबोलेकाले म समेतले कोठाको ढोका फोडी कोठाभित्र हेर्दा शालिन पोखरेल झुण्डी मृत अवस्थामा फेला परेको बताउनु भएको थियो ।’

त्यसपछी आफूले शालिन पोखरेलको बुबालाई फोन गरी घटनाको बारेमा जानकारी गराएको र मृतकको बुबा एवं जाहेरवाला दीपेन्द्र पोखरेल समेतका आफन्तहरू आइसकेपछि प्रहरीले जनप्रतिनिधिहरूको रोहवरमा कोठाभित्र प्रवेश गरी मुचुल्का गरी शवलाई अस्पतालतर्फ लगेको बयानमा उनले भनेका छन् ।

‘मुचुल्का गर्ने क्रममा म समेत कोठा नजिकै गई हेर्दा शालिन पोखरेल आफू सुत्ने गरेको बेडमाथि रहेको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा देखेको हुँ,’ बयानमा देवकोटाले भनेका छन् ।

अर्का प्रतिवादी हुन् किरण बहादुर अधिकारी । उनले होस्टेलमा बस्ने विद्यार्थीहरूलाई रेखदेख गर्न विद्यालयबाट आफू र कमल प्रसाद शर्मा सरलाई जिम्मेवारी दिइएको खुलाएका छन् ।

शालिन राम्रो चालचलन भएकी विद्यार्थी रहेको उनको भनाइ छ । शालिन पोखरेल भर्ना भएदेखि कै विद्यालयमा बुझाउनु पर्ने शुल्क निजको आमामार्फत हजुरआमाले बुझाउँदै आएको पनि उनले बयानमा भनेका छन् । गत कार्तिक महिनातिर शालिन पोखरेलले विद्यालयमा बुझाउनु पर्ने शुल्क ४९ हजार १५० जति रकमचाहिँ उनका बुबा दीपेन्द्र पोखरेलले मोबाइल बैंकिङ मार्फत आफ्नो खातामा पठाइदिएको र आफूले सो रकम होस्टेलको एकाउन्टमा बिल काटेर दाखिला गरिदिएको उनको भनाइ छ ।

आफूले शालिनको बुबालाई सोही महिनाको अन्तिमतिर देखभेट एवं चिनजान गरेको पनि उनले खुलाएका छन् । ‘शनिबारको दिन निज शालिन पोखरेलको बुबा दीपेन्द्र पोखरेल विद्यालयमा आइ शालिन पोखरेललाई विद्यालयबाट लैजानु भई सोही दिनको बेलुका होस्टेलमा ल्याइ छाडी जाने क्रममा देखभेट एवं चिनजान भएको थियो,’ बयानमा उनले भनेका छन् ।

फागुन १२ गते बिहान अन्दाजी १०ः१५ बजे तिर सरसफाइ गरी सकेर बोरा लिन भनी ग्राउण्डमा जाने क्रममा आफूलाई विद्यालयको ३ तला माथिबाट लक्ष्मी चौधरीले चिच्याउँदै ‘सर ! हेर्नु न, शालिन पोखरेलले कोठाको ढोका नै खोल्दिनन्’ भनेको बयानमा उनले खुलाएका छन् ।

आफूले कतै झगडा पो गरे कि भन्ठानी सिधै माथि होस्टेल कोठामा गइ सन्तोष भुजेल सर, लक्ष्मी चौधरी निषाद लगायतका विद्यार्थीहरू, जम्मा भएका मानिसहरूलाई सोध्दा उपस्थितमध्येका सन्तोष सरले ‘हेर्नु न, शालिन पोखरेलले कोठाभित्र ढोकाको भित्रबाट चुकुल लगाएर बसेकी छन्, धेरै पटक बोलाउँदा पनि बोलेकी छैनन्’ भनेको उनको भनाइ छ ।

‘मैले पटक पटक बोलाउँदा समेत नबोलेपछि जाली ढोका जबरजस्ती तानेकाले जाली ढोकाको चुकुल फुत्की खुलेको र भित्रपट्टीको ढोकामा लात्ताले पटक पटक हानेकोमा उक्त ढोकाको छिस्किने फुत्की ढोका खुलेपछि म कोठाभित्र हेर्दा शालिन पोखरेल आफू बस्ने गरेको बेडमाथि रहेको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा देखेको हुँ,’ बयानमा अधिकारीले भनेका छन् ।

अर्का प्रतिवादी कमल प्रसाद शर्माले विद्यार्थीहरूको रेखदेख समेत गर्नुपर्ने भएकाले किरणबहादुर अधिकारी छात्र होस्टेल नजिकै रहेको कोठामा आफ्नो परिवार सहित बस्ने गरेको र आफू विद्यालयको तेश्रो तलामा रहेको एकाउन्ट सेक्सनको माथि रहेको कोठामा बस्ने गरेको बयान दिएका छन् ।

मृतक शालिन पढाइ गर्ने बेला, होस्टेलमा रहँदा बस्दा राम्रो चालचलन भएकी विद्यार्थी रहेको उनले बताएका छन् । आफू भरतपुरस्थित अस्पतालमा छोरालाई चेकजाँच गराइरहेको अवस्थामा फागुन १२ गते दिनको अन्दाजी १०ः३० बजेतिर सन्तोष अधिकारी (शिक्षक)ले फोन गरी शालिन पोखरेल आफ्नै कोठामा झुण्डी आत्महत्या गरेको खबर सुनाएर छिटै आउन भनेको उनले बयानका क्रममा बताएका छन् ।

तत्कालै आफू अस्पतालबाट विद्यालयमा फर्किएको र विद्यालयमा प्रहरीले घेरा हाली मृतक शालिन पोखरेल भएको कोठामा कर्डन टेप लगाई कोही कसैलाई जान समेत नदिई घटनास्थललाई सुरक्षित राखेको उनको भनाइ छ ।

सोही दिन ३/४ बजेतिर निज मृतकको बुबा एवं जाहेरवाला दीपेन्द्र पोखरेल समेतका आफन्तहरू आइसकेपछि प्रहरीहरूले जनप्रतिनिधिहरूको रोहवरमा कोठाभित्र प्रवेश गरी मुचुल्का गरी शवलाई अस्पतालतर्फ लगेको बयानमा उनले खुलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप