बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
बाल मन्दिर जग्गा प्रकरण

बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन

बुधबार, २४ वैशाख २०८२, २१ : २१
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा घोटाला गरेको प्रकरणमा सरकारले १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्र अनुसार दुई जनासँग बयान लिइएको छैन । बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्य र उपाध्यक्ष योगेन्द्र बहादुर शाहीसँग बयान नलिई सरकारी वकिलले अभियोग पत्र दायर गरेको हो ।

रिता सिंह वर्तमान उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । काठमाडौँ महानगरपालिका–१६ बस्ने ७१ वर्षीया सिंहकी छोरीले उनी बिरामी भएको भनेर निवेदन दिएको हुनाले बयान नलिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ अल्जाइमरको बिरामी भनेर छोरीले दिएको निवेदनको आधारमा बयान लिन सम्भव भएन ।’

डोटीको शिखर नगरपालिका–२ घर भएका बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाहीसँग पनि अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएको छैन । बयान नै नलिई उनलाई प्रतिवादी कायम गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । ६८ वर्षीय शाही पक्राउ नपरेको हुनाले बयान लिन नसकिएको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख काफ्लेले बताए । उनले भने, ‘उहाँसँग पनि बयान लिन सम्भव भएन ।’

करिब २९ रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाएर उनीहरूले ६० करोड ३९ लाख ७ हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले ६० करोड ३९ लाख ७ हजार बिगो मागदावी लिएको छ । प्रतिवादीहरू पक्राउ नपरेको हुनाले उनीहरू विरुद्ध अदालतबाट म्याद जारी हुन्छ । म्याद जारी भएसँगै उनीहरू अदालतमा हाजिर हुनसक्ने काफ्लेले बताए । उनले भने, ‘ठगी मुद्दामा मिलापत्र हुनसक्ने अवस्था पनि रहन्छ, उँहाहरु अदालतमा हाजिर भएर मुद्दा लड्न सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप