सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले बागमती सरकारको निरन्तरताका लागि पहल गर्ने

बुधबार, ०७ चैत २०८०, २१ : ००
बुधबार, ०७ चैत २०८०

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरताका लागि पहल गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरताका लागि प्रदेश स्तरका दलहरुसँग सहकार्यको लागि पहल गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारको निरन्तरता र गठबन्धन दलको सरकार गठनका लागि प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुसँग सहकार्यका लागि छलफल अघि बढाउने निष्कर्ष निकालेको संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

केन्द्रको भागबण्डा अनुसार सरकार अघि बढाउने गरी मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वको निरन्तरताका लागि पार्टी र गठबन्धनको शीर्ष नेताहरुसँग पहल गर्ने बैठकको निष्कर्ष रहेको उनले बताए । माओवादी केन्द्रका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाको उपस्थितिमा बसेको उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले माओवादीकै नेतृत्व कायम राख्न केन्द्रमा पहल गरिदिन आग्रह गरेका थिए ।

बैठकमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेका मन्त्रीहरुको कार्य सम्पादन मूल्याङ्कन र मन्त्री फेरबदल गर्ने विषयमा पनि छलफल भएको उनले बताए । परिणाममुखी कार्य सम्पादन नभएका मन्त्रीहरुको विषयमा फेरबदल गर्ने गरी अघि बढ्न छलफलका क्रममा विषय उठेको उनको भनाइ छ । सो विषयमा आलोपालोमा मन्त्री फेरबदल गर्नेमा संसदीय दलको बैठक सकारात्मक रहेको उनले बताए ।

प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्रले नै लिएर मन्त्रिपरिषद्‍मा भने नयाँ र परिणाम दिन सक्ने व्यक्ति पठाउन सांसदहरुले माग गरेका थिए । बैठकमा मुख्यमन्त्री जम्कट्टेलले बदलिएको सत्ता समीकरण र प्रदेश सरकारको भविष्य तथा अंक गणितका विषयमा सांसदहरुलाई ब्रिफिङ् गरेका थिए ।

सरकारको निरन्तरताका विषयमा आफ्नो तर्फबाट भएका पहल कदमीको पनि मुख्यमन्त्री जम्कट्टेलले बैठकमा जानकारी गराएका थिए ।

बैठकमा सांसदहरुले सरकार र संसद तथा संसदीय दलको भूमिकाप्रति धारणा राखेका थिए । सांसदहरुले सरकारको नेतृत्व लिएर अघि बढ्न र नागरिकहरुको सेवा प्रवाहमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप