आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ मा रास्वपाले कसरी गर्दैछ चुनावको आन्तरिक तयारी ?

शनिबार, १० चैत २०८०, १८ : २८
शनिबार, १० चैत २०८०

काठमाडौँ । आगामी वैशाख १५ इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक तयारी थालेको छ । यही चैत १४ गतेसम्मका लागि उम्मेदवार हुन चाहनेहरूबाट आवेदन माग गरेको रास्वपाले पार्टी सदस्यहरूबाट प्रारम्भिक मतदान गराएर उम्मेदवार छान्ने नीति लिएको छ  ।  यसका लागि उम्मेदवारी दर्ता र मतदान कार्य मोबाइल एपमार्फत गरिनेछ । 

रास्वपाले गत चैत ६ गतेदेखि १४ गतेसम्म उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन मागेको थियो । प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते प्रकाशन गर्ने, ⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, १५ गते साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल गर्ने र सोही दिन राति ८ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । 

चैत १७ गते उम्मेदवारको टुङ्गो लगाउने रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले रातोपाटीलाई जानकारी दिए । पार्टी अहिले एमाले माओवादी केन्द्र लगायतसँगको गठबन्धनमा आबद्ध भई सरकारमा सामेल भएपनि चुनावमा भने एक्लै भाग लिने उनले ढकालले बताए । 

उनले भने–‘हाम्रो उम्मेदवार हामी आफ्नो तरिकाले उठाउँछौँ । गठबन्धन दलहरूसँगपनि यसबारे हामीले जानकारी गराइसकेका छौँ । यो विषयमा हामीबिच मतभिन्नता छैन, गठबन्धन बन्ने बेला नै यो विषयमा दलहरूसँग समझदारी बनेको थियो, हाम्रो कुरालाई उहाँहरूले स्वीकार गर्नुभएको छ ।’

उम्मेदवार छनौट गर्दा कुनै पनि दाग नलागेको, पार्टीको नीति अवलम्बन गरेको, भ्रष्टाचार विरोधी रहेको, कुनै विषयमा राम्रो ज्ञान भएको लगायतका कुरालाई ध्यान दिइने ढकालले बताए । 

चैत १७ गते उम्मेदवार छनौट गरेपछि सोही दिन इलाममा कार्यक्रम गरेर उम्मेदवार सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए । चुनावी कार्यक्रम कसरी गर्ने, प्रचार प्रसारको काम कसरी गर्ने, को कहाँ कसरी खटिने भनेर आन्तरिक रूपमा खाका निर्माणको काम गरिसकेको उनले बताए । 

मन्त्री भएका पार्टीका नेताहरू चुनावका बेला प्रचारमा जाँदा कस्तो अवस्थामा आचार संहिता लाग्छ भन्ने अध्ययन गरेर पहिलेको जस्तो राज्यको सम्पत्ति दुरुपयोग नहुने गरी मन्त्रीहरू चुनावी प्रचारमा जाने पनि रास्वपाको तयारी छ । 

  • यस्तो छ अन्य दलहरूको तयारी 

एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको यो निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा भाग लिन विभिन्न दलहरूले आन्तरिक तयारी गरिरहेका छन् । 

नेम्वाङ निर्वाचित भएको क्षेत्र भएकोले उनको लिगेसी थाम्ने सुरसारमा उनका कान्छा छोरा सुहाङ नेम्वाङपनि सक्रिय बनेका छन् । नेकपा एमाले पार्टी नेतृत्वलाई आफू उम्मेदवार हुन चाहेको सन्देश उनले दिइसकेका छन् । 

नेम्वाङका अलवा एमाले नेता उदय राई, जयप्रकाश राई, डा.देवी क्षेत्री दुलाल, प्रदेश सदस्य गणेश बराल, क्षेत्रीय इन्चार्ज बुद्धि खनाल, युवा नेता रवीन्द्र सुवेदी लगायतका नेताहरू पनि उम्मेदवार बन्ने लाइनमा छन् । 

यता नेपाली कांग्रेसले पनि उम्मेदवार चयनका लागि आन्तरिक तयारी गरिरहेको छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसको पनि बलियो उपस्थिति समेत रहेको छ । 

कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल लगायतका नेताहरू उम्मेदवार बन्ने लाइनमा छन् । गत बर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित भएका खड्काले फेरी उम्मेदवारी दिन खोजेका छन् । 

कांग्रेसको तर्फबाट उम्मेदवार छनौटका लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, शान्तिकला तामाङ (राई) र चन्द्रमाया लिम्बूको नाम पार्टी केन्द्रमा पुगेको छ । 

माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छैन भने नेकपा एकीकृत समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनालले उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि त्यसबारे निर्णय गरिसकेको छैन ।  

जनता समाजवादी पार्टीबाट नेताहरू डा.महेन्द्र लावती, लोकसागर साम्बा र यामप्रसाद लिम्बूको नाम उम्मेदवार छनोटका लागि केन्द्रमा पठाइएको छ । 

राजनीतिक दल बाहेक केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिने आशय पनि सार्वजनिक गरेका छन् । डेकेन्द्रसिंह थेगिम, पत्रकार समेत रहेका मिलन लिम्बू र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने उल्लेख गरेका छन् । 

आगामी चैत २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सो उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा २० वटा राजनीतिक दल दर्ता भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप