शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
होली पर्व

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

सोमबार, १२ चैत २०८०, १२ : ०३
सोमबार, १२ चैत २०८०

यो वर्ष होली तराईमा चैत १२ गते सोमबार परेको छ भने पहाडमा हिजो (११ गते) मनाइयो । उत्सवको पर्व होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमा तिथिमा मनाइन्छ । फागुन शुक्ल पूर्णिमामा मनाइने हुनाले यसलाई फागु, फगुवा वा फागु पूर्णिमा पर्व पनि भनिन्छ । 

धार्मिक मान्यता अनुसार होलीको सम्बन्ध सत्ययुगको एउटा घटनासँग जोडिएको छ । विष्णुपुराणमा उल्लेख भए अनुसार, सत्ययुगमा दैत्यराज हिरण्यकशिपु राक्षसका शक्तिशाली राजा थिए । कठोर तपस्या गरी ब्रह्माबाट वरदान पाएर शक्तिशाली भएका उनी विष्णुलाई आफ्नो मुख्य शत्रु मान्थे तर हिरण्यकशिपुका छोरा प्रह्लाद विष्णुभक्त भए । जति सम्झाउँदा पनि प्रह्लादले विष्णुको भक्ति छाडेनन्, त्यसैले हिरण्यकशिपुले उनलाई ज्यान मार्ने योजना बनाए । प्रह्लादमाथि भगवान् विष्णुको कृपा थियो, त्यसैले उनलाई मार्ने हिरण्यकशिपुको हरेक प्रयास विफल हुँदै गयो । 

बिहानि पख होलीको शुरुवात

दाजुलाई चिन्तामा देखेपछि हिरण्यकशिपुकी बहिनी होलिकाले प्रह्लादलाई मार्ने योजना बनाइन् । आगोमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा प्रवेश गरिन् । प्रह्लादले विष्णुको मन्त्र जप गरिरहेकाले उनलाई केही भएन तर वरदानको गलत प्रयोग गरेकाले होलिकाको जलेर मृत्यु भयो । भगवान्बाट प्राप्त वरदानको प्रयोग दुष्ट मनसायबाट गरेको र अबोध बालक प्रह्लादमाथि अन्याय गर्दाको परिणामस्वरूप होलिकाको मृत्यु भएको घटनालाई दुष्ट प्रवृत्तिको हार र अन्यायमाथि न्यायको जित भएको मानिन्छ । त्यसैले होलिका दहनको भोलिपल्ट अर्थात् फागुन पूर्णिमाका दिन उत्सव मनाइएको मानिन्छ । तत्पश्चात् सोही दिनको सम्झनामा होली मनाउन थालिएको धार्मिक विश्वास छ । होलिका प्रवृत्तिको नाश हुनेसँग सम्बन्ध जोडिएको हुँदा यो उत्सवको पर्वको नाम होली रहन गएको बुझिन्छ । 

  • मिथिला क्षेत्र र होली  

सत्य युगको घटनासँग होलीको सम्बन्ध रहे पनि यसलाई पर्वको रूपमा नियमित रूपमा कहिलेदेखि मनाउन थालिएको भन्नेमा विभिन्न मत पाइन्छन् । एकथरीले होलीका दहन (जलेर मृत्यु) भएको दिनको भोलिपल्ट फागु पूर्णिमा परेको र सोही दिनदेखि नियमित रूपमा सो दिनलाई होली पर्वका रूपमा मनाइँदै आएको मत राख्छन् । अर्को मत अनुसार त्रेतायुगमा अयोध्याका राजा श्रीराम वनबासबाट फिर्ता आई राज्याभिषेक गरेपछि दीपावली मनाइएको र जनताले रामराज्यको अनुभूति गर्न थालेपछि फागुन पूर्णिमाका दिन होलीका दहनको अवसर पारेर रङ–अबिरसहित होली मनाउन थालिएको हो । होलीमा गाइने चर्चित फगुवा गीत ‘होरी खेले रघुविरा (राम) अवधमे होरी खेले रघुविरा’, ‘मिथिलामे राम खेलथि होरी’ आदिले पनि यो भनाइलाई पुष्टि गर्छन् । 

फागुन शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने परिक्रमा हनुमान नगर, कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोखर, औरही, करुणा, बिसौल हुँदै जनकपुरधाम आउने सदियौँदेखिको चलन कायम छ ।

आधुनिक युगसम्म होलीको नियमितता र विकासमा प्राचीन मिथिला क्षेत्र र अवधपुरीको विशेष योगदान छ । त्रेतायुगमा सामूहिक रूपमा भेला भएर होलीसम्बन्धी भजन गाउने, रङ–अबिर खेल्ने गरी होली मनाइयो । आधुनिक युगसम्म आइपुग्दा होलीको भौगोलिक, सामाजिक र सांस्कृतिक विकास र फैलावट व्यापक रूपमा बढेको छ । योसँगै होली मनाउने चलनमा पनि विविधता थपिँदै छ । 

जोगिरा गित

खुसियाली मनाउने चाडका रूपमा मनाइँदै गर्दा यसलाई ऋतुसँग पनि सम्बन्ध जोड्ने गरिन्छ । कठोर शिशिर ऋतुको बिदाइ र हरियाली वसन्त ऋतुको आगमनसँगै होलीको सुरुवात भएको मानिन्छ । माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी (सरस्वती पूजा)को दिनदेखि नै मिथिला क्षेत्रमा होली आगमनको स्वागत गरिन्छ अर्थात् होलीको गीत गाउन सुुरु गरिन्छ । तराई मधेसमा सरस्वती पूजाको दिनदेखि होलीको दिनसम्म (प्रायः दिन) गाउँ–टोलमा सामूहिक रूपमा भजन–कीर्तन गर्ने र होलीको गीत गाउने चलन छ । तराई–मधेसमा होलीको गीत ‘जोगिरा सररर’ गाउँदै रमाइलो गरेको पाइन्छ । धार्मिक स्थलहरूमा समेत भेला भई होलीसम्बन्धी गीत गाइन्छ । 

फागुन पूर्णिमाको अघिल्लो रात टोल–टोलमा सामूहिक रूपमा भेला भई होलिकाको प्रतिमूर्ति बनाई जलाउने चलन छ, जसलाई होलीका दहन वा समस जलाउने पनि भनिन्छ । यस प्रकार फागुन पूर्णिमाको दिन बिहानैदेखि घरघरमा पूजा गर्ने र देवता घरमा पिठोको विशेष परिकार पुवा–खिर चढाउने चलन छ । त्यस्तै एक अर्कासँग शुभकामना आदान–प्रदान गर्ने, रङ–अबिर दल्ने गरिन्छ । त्यसपछि दिनभरि समूह–समूहमा भेला भई रङ–अबिर खेल्ने, घरघरमा होलीको गीत ‘जोगिरा’ गाउने, बच्चाहरू पनि उमेर समूह अनुसार साथीहरूसँग रङ–अबिर खेली रमाइलो गर्ने चलन छ । 

प्राचीन मिथिलाको राजधानी मानिने जनकपुरधाममा भने होली मनाउने चलन अहिले पनि तराईकै अरु ठाउँभन्दा अलि फरक छ । प्रसिद्ध जानकी मन्दिरको भूमि मानिने धनुषा महोत्तरीमा होली पर्वलाई मिथिला परिक्रमासँग जोडेर मनाइन्छ । जानकी मन्दिरलाई केन्द्र मानी मिथिला बिहारीबाट उठाइएको डोला १५ दिनको परिक्रमापश्चात् जानकी मन्दिर भित्र्याइने चलन छ, यो चलनलाई मिथिलाको बाह्य परिक्रमा भनिन्छ । फागुन शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने परिक्रमा हनुमान नगर, कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोखर, औरही, करुणा, बिसौल हुँदै जनकपुरधाम आउने सदियौँदेखिको चलन कायम छ । परिक्रमाका क्रममा आठौँ दिन कञ्चन वनमा पुग्दा यात्रीले रङ–अबिरसहित भव्य होली खेल्न सुरु हुन्छ । 

१५औँ दिनमा यात्रीहरू जनकपुरधाम आइपुग्छन् । फागुन पूर्णिमाका दिन तराईका अन्य ठाउँमा होली मनाइरहँदा जनकपुरधाममा भने एकदिने अन्तरगृह परिक्रमा हुन्छ । सोको भोलिपल्ट मात्रै धनुषा महोत्तरीमा होली मनाउने चलन विद्यमान छ । यसलाई मध्यनजर गर्दै मधेस प्रदेश सरकारले तराई होलीको भोलिपल्ट मधेसमा थप एक दिन होलीको सार्वजनिक बिदा दिँदै आएको छ । 

सद्भावको पर्व होलीको सामाजिक र सांस्कृतिक फैलावट समय क्रमसँग बढ्दो छ । तराई मधेसमा होलीलाई विशेषतः धार्मिक मान्यतासँग जोडेर मनाइने गरिएको छ भने हिमाली तथा पहाडी क्षेत्रमा होलीलाई उत्सवको पर्व, सद्भावको पर्वका रूपमा व्यापक रूपमा मनाउन थालिएको छ । यस क्षेत्रमा प्रायः सबैजसो समुदाय होलीमा रमाएको पाइन्छ । फागुन पूर्णिमाको अघिल्लो दिन होली मनाइने यस क्षेत्रमा समूह–समूहमा भेला हुने रङ–अबिर खेल्ने, नाचगान गर्ने चलन बढ्दो छ । त्यस्तै विभिन्न संघसंस्था, कार्यालय, क्लबहरूले होली मिलन समारोह, होलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम राख्ने चलन छ ।

माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी (सरस्वती पूजा)को दिनदेखि नै मिथिला क्षेत्रमा होली आगमनको स्वागत गरिन्छ अर्थात् होलीको गीत गाउन सुुरु गरिन्छ ।

रमाइलो गरी होली मनाउने सन्दर्भका बिच हालका दिनमा कतिपय सहरमा लोला हान्ने, छतबाट पानी खन्याउनेजस्ता गतिविधि हुने गरेको पनि देखिन्छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सवारी चलाउने, अपरिचित व्यक्तिलाई जिस्काउने जस्ता क्रियाकलाप पनि विकृतिका रूपमा देखिएको छ । यद्यपि प्रशासनका तर्फबाट यस्ता क्रियाकलाप नियन्त्रणका लागि पूर्वसूचना जारी गर्ने तथा होलीका दिन सुरक्षा व्यवस्था कडाइ गर्ने गरिएको छ । धार्मिक मान्यतादेखि सामाजिक रूपमा पनि हर्षोल्लासपूर्वक मनाइने यो पर्वका नाममा देखिएका विकृति नफैलाउन सबै पक्ष स्वयं संवेदनशील हुनुपर्ने देखिन्छ ।

  • सरकारी मान्यता र सामाजिक सद्भाव

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुभाषिक धार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको छ । त्यस्तै मुलुकले सामाजिक सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति अवलम्बन गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै सांस्कृतिक रूपान्तरणमा योगदान गरिरहेको पर्व होलीलाई सरकारी मान्यता दिइएको छ । 

फागु गित जोगिरामा रमाउँदै

फागुन शुक्ल चतुर्दशीका दिन हिमाल, पहाडमा होलीको बिदा दिने गरिएको छ । तराईमा फागुन पूर्णिमाको दिन बिदा हुन्छ भने जनकपुरधामको होलीलाई मध्यनजर गर्दै मधेस सरकारले थप एक दिन बिदा दिँदै आएको छ । यस्तै होलीमा राज्यका उच्च पदस्थ पदाधिकारीबाट शुभकामना दिने प्रचलन छ । विभिन्न कार्यालय, राजनीतिक दल, संघ–संस्थाले सामूहिक रूपमा होली मिलन कार्यक्रमहरूको आयोजना गर्नुले पनि सद्भाव, हर्षोल्लास थप्दै गएको छ । 

सामूहिक रूपमा शुभकामना आदान–प्रदान गर्ने, रङ–अबिरसहित उत्सव मनाउने चलनले होली पर्व सामाजिक सद्भाव प्रगाढ बनाउने माध्यम बन्दै गएको छ । पारिवारिक र सामाजिक जमघट गराउने उचित अवसर प्रदान गर्ने यस पर्वले परिवार र समाजमा सकारात्मक ऊर्जा प्रदान गर्छ । बालबालिका, युवायुवतीसँगै महिला–पुरुष सबैका लागि रमाइलो पर्व बनेको होलीले विभिन्न समुदाय बिचको मनोमालिन्यता अन्त्य गर्ने प्रेरणा दिन्छ । त्यस्तै, यसले हाम्रो सामाजिक विविधताभित्रको एकतालाई पनि प्रस्ट पार्छ । होली मनाउने चलनको विविधताले यो चाडप्रति सबै समुदायको स्वीकार्यता बढ्दै गएको छ । 

(लेखक अधिवक्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकिशोर मेहता
राजकिशोर मेहता
लेखकबाट थप