आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पार्टी एकता

प्रचण्ड–बाबुरामको ‘अहम्’ ले टर्‍यो माओवादी एकता

वृहत् वामपन्थी एकतामा धक्का
सोमबार, १२ चैत २०८०, १२ : १७
सोमबार, १२ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबिचको अहम‍्का कारण तत्काल पुनर्मिलन टरेको छ । यही चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा डा. भट्टराईलाई बाइपास गरी महिन्द्र राय यादव पक्षले माओवादीसँग एकता गर्ने ४ बुँदे सहमति गरेपछि यो स्थिति आएको हो । 

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने किचलोबिच नेसपा विभाजनको तहमा पुगेको छ । यही चैत ५ गते बसेको भट्टराई पक्षको केन्द्रीय समिति बैठकले एकता गर्ने सहमति खारेज गर्दै यादव पक्षधर नेताहरूलाई कारबाही गरेको छ ।

यादव पक्षले भने कारबाही खारेज गर्दै बहुमत आफूसँग रहेको दाबी गरेको छ । २०७९ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाबिच एकता गर्ने सहमति भएको थियो । उस बेला माओवादीको चुनाव चिन्हबाट उम्मेदवार उठाउन मात्र होइन, डा. भट्टराईले २०६४ देखि निरन्तर निर्वाचन जित्दै आएको गोरखाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ प्रचण्डका लागि त्याग गरे । यो चरणमा अर्का अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठले साथ दिएका थिए । 

गत मङ्सिर ५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले बाबुरामकै नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो । दुवै पक्षको वार्ता टोलीबिच पटक पटक छलफल पनि भयो । तर विश्वासको वातावरण बनेन । प्रचण्ड र भट्टराईबिचको अविश्वासले  गठन भएको २ वर्ष नपुग्दै नेसपा दुर्घटनामा पर्‍यो । एउटै पार्टीमा २५ वर्ष सहकार्य गरेका दुई नेता फेरि एक ठाउँमा जुट्न असम्भव जस्तै देखिएको छ । 

सांसदको गणित

माओवादीको चुनाव चिन्हबाट नेसपाले प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ स्थानमा विजय हात पारेको थियो । प्रतिनिधि सभामा सर्लाही-२ बाट यादव निर्वाचित भए भने समानुपातिकतर्फ मधेसी कोटाबाट उमरादेवी यादव निर्वाचित भइन् । 

प्रदेशसभातर्फ गण्डकीमा गोरखा २(१) बाट फणीन्द्र देवकोटा र बागमतीमा सिन्धुली २(२)बाट गंगानारायण श्रेष्ठ निर्वाचित भए । अहिले देवकोटाबाहेक तीन जना यादव पक्षमा खुलेका छन् । भलै निर्वाचन आयोगमा प्रवेश नभएसम्म यसको आधिकारिता छिनोफानो हुने देखिँदैन । भलै नेसपाको किचलोले वृहत् वामपन्थी एकताको प्रचण्ड–भट्टराई योजनामा धक्का लागेको छ । 

यो परिस्थिति निर्माण हुनुमा नेसपाका एक पक्षले अर्को पक्षलाई दोषी देखाइरहेका छन् । वार्ता टोलीका संयोजक सहअध्यक्ष श्रेष्ठले एकताप्रति भट्टराई उदासीन देखिएको जिकिर गरेका छन् । साथै भट्टराईको व्यवस्थापनले पनि एकता टरेको उनको बुझाइ छ । 

‘माओवादीसँग सिङ्गो पार्टी एकता नहुनुमा बाबुरामजीको सेटलमेन्ट हो । नत्र भने माओवादीसँग एकता गर्नु नपर्ने कारण थिएन’, श्रेष्ठले रातोपाटीसँग भने । 

८ औँ राष्ट्रिय महाधिवेशनबाट पारित माओवादी केन्द्रको दस्ताबेजका आधारमा एकता गर्ने र एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्ने सहमति भएको श्रेष्ठ बताउँछन् । ‘एउटा चुनाव चिन्हमा निर्वाचन लडिसकेपछि तुरुन्तै पार्टी एकता घोषणा गरिहाल्ने सहमति थियो । पार्टीको नाम पनि नेकपा(समाजवादी) राख्ने सहमति बनेकै हो’, उनले स्मरण गर्दै भने, ‘अहिले पनि माओवादी केन्द्रको महाधिवेशन दस्ताबेज परिवर्तन भएको छैन । हिजो त्यही दस्ताबेजको आधारमा एकता गर्न सहमत हुने । अहिले प्रतिगामी देख्ने, पुरातन देख्ने ठिक भएन ।’

यद्यपि बाबुराम बिना एकता प्रक्रियामा अगाडि बढ्ने योजना श्रेष्ठले सुनाए । सम्भव भए दुई वा दुईभन्दा बढी दलहरूबिच एकता हुने नभए माओवादीसँग तत्काल एकता हुने उनको भनाई छ ।

प्रचण्डको उपस्थितिमा केही मान्छे पार्टी प्रवेश गरेको कुरालाई पार्टी एकता भएको भनेर वक्तव्यबाजी गरेबाट भट्टराई आश्चर्यचकित छन् । ‘पार्टी एकताको भ्रमपूर्ण र जालसाजी प्रचार’ भएको उनको टिप्पणी छ ।

यही चैत ७ गते केन्द्रीय कार्यालय तीनकुनेमा भएको पत्रकार सम्मेलनमा उनले  भनेका थिए– ‘७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेका छौँ । पार्टी एकता भनेर भ्रमपूर्ण र जाली प्रचार गरियो ।’ 

‘कोही साथी कुनै पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर पठाउने नयाँ संस्कार बसाउन चाहन्छौँ । यसलाई हामीले ठुलो विषय मानेका होइनौँ’ भट्टराईले भने ।

माओवादी केन्द्रका महासचिव एवं वार्ता टोली सदस्य देव गुरुङ भने डा. भट्टराईसँग  विचार नमिल्दा एकता हुन नसकेको बताए । यद्यपि माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग भने समाजवादी मोर्चामार्फत एकता प्रक्रिया अगाडि बढाएको छ ।

‘पार्टी एकता विचार र सिद्धान्तको कुरा भयो । विचार मिल्नेबिच एकता हुन्छ । विचार मिलेन एकता भएन,’ गुरुङले भने । 

द्वन्द्वकालीन मुद्दा लिएर प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि  पूर्वमाओवादीका ८ घटक एकजुट भएका थिए । 

गत वर्ष फागुन २३ गते माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), बाबुराम भट्टराई नेतृत्वको(नेसपा), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी प्रधानमन्त्री निवास बालुवाटारमा सहभागी थिए । अहिले विप्लव नेतृत्वको नेकपा बाहेक अन्यसँग सहकार्य तहसम्म पुग्न सकेन । पूर्वमाओवादी घटकहरूबिच सहकार्य र संवादलाई निरन्तरता दिने भनिए पनि निष्कर्षमा नपुगी निष्क्रिय भएको छ । 

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चाहिँ माओवादीसँग एकतामा सकारात्मक प्रयास भइरहेको बताउँछन् । ‘एकताको कुरा नीतिगत कुरा हो । नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ ।  माओवादीबिचको एकता आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ’, शुक्रबार उनले भनेका थिए । 

गत वर्ष माओवादी घटकबाहेक एकीकृत समाजवादी, जनता समाजवादी दलसँग पनि एउटै समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो । अहिले चारवटै दल समाजवादी मोर्चामा सहभागी छन् । तर पार्टी एकताको तहसम्म छलफल नभएको नेताहरूले बताएका छन् । वामपन्थी ध्रुवीकरण र एउटै समाजवादी केन्द्र बनाउने उद्देश्यले माओवादीसहित एकीकृत समाजवादी, जसपा, नेसपा र नेकपाले गत वर्ष वार्ता टोली गठन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप