बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक परीक्षा सकेपछि...

सोमबार, १२ चैत २०८०, १७ : १०
सोमबार, १२ चैत २०८०

मैले कक्षा ७ को अन्तिम परीक्षा सकेँ । अन्तिम परीक्षाको अन्तिम दिन अर्थात् चैत ९ गते । म परीक्षा दिन मनभरि जोश, जाँगर बोकेर हलमा पसे । किनकि अन्तिम परीक्षा सकेर के गर्ने भन्नेबारे मनभरि उत्सुकता थियो । अघिल्लो दिनहरूको जस्तो अन्तिम दिन पनि परीक्षा सोचेजस्तो राम्रो भयो । परीक्षा दिएर म र मेरी साथी सांसारिका विद्यालयबाट बाहिरिँदै थियौँ । 

९ गते अर्थात् होलीको दुई दिनअघि परीक्षापछि लामो बिदा भएकाले साथीहरू त्यही दिन होली खेल्ने तयार थिए । मलाई होली खोल्न खासै मन पर्दैन तर खेल्नेहरूका लागि शुभकामना । सबैलाई सबै पर्व मन नपर्न सक्छ, म साथीहरूको रहरलाई सकारात्मक रूपमा लिँदै विद्यालयको गेटबाट बाहिरिँदै थिएँ । साथी सांसारिकासँगै थिइन् । पछाडिबाट अचानक कसैले मलाई होलीको रङ लगाएर भाग्यो, हामी दुवैले फर्केर हेर्‍यौँ तर चिन्न सकिएन । रङ लगाएकामा खासै रिस पनि उठेन । होलीकै बारेमा कुरा गर्दै हामी आ–आफ्नो घरको बाटोमा छुट्यौँ ।

घरमा आइसकेपछि सरसफाइ र फ्रेस भएँ । परीक्षापछिको तीन साता के गर्ने भन्ने योजना बनाउन थालेँ । कतै घुम्न जानका लागि बुबा–आमालाई प्रस्ताव गर्ने योजना मनमा तय भयो । घुम्न गएँ भने म त्यस ठाउँका बारेमा पनि हजुरहरूसँग सेयर गर्नेछु है !

अँ साँच्चि मेरो परीक्षाको नतिजा चैतको अन्तिम सातामा सार्वजनिक हुन्छ रे । नतिजाको पर्खाइ र उत्सुकताको त कुरै नगरौँ, कुनै सीमै छ । नतिजा कस्तो होला ? एक वर्षभरि पढेका कुराहरू केही प्रश्नको वरिपरि रहेर केही घन्टामा दिने उत्तरले कहाँ सबै समेट्छ र ? हाम्रो सिकाइको मापन गर्ने परिपाटी नै परीक्षा हो । यसलाई स्वीकार गर्नैपर्‍यो ।

पछाडिबाट अचानक कसैले मलाई होलीको रङ लगाएर भाग्यो, हामी दुवैले फर्केर हेर्‍यौँ तर चिन्न सकिएन । रङ लगाएकामा खासै रिस पनि उठेन । होलीकै बारेमा कुरा गर्दै हामी आ–आफ्नो घरको बाटोमा छुट्यौँ ।

कक्षा ८ को पहिलो दिन कस्तो होला ? जेहोस् मनमा सधैँ सकारात्मक सोच मात्रै राखेकी छु । सकारात्मक सोचले मन शान्त हुन्छ रे । आमा भन्नुहुन्छ, ‘मन शान्त भयो भने स्मरण गर्नुपर्ने कुरा पनि सहजै स्मरण हुन्छ; सधैँ सकारत्मक मात्रै सोच्नुपर्छ ।’ पहिले त यस्ता कुरा नपत्याउने म जब आमाको सोचलाई व्यवहारमा लागु गर्न थालेँ, त्यसबाट आएको नतिजा र आफैँमा देखिएको स्फूर्तिपछि म पनि यस्ता सवालमा चासो राख्न थालेकी छु । आमाले सकारात्मक ऊर्जा दिने कुराहरू पढ्ने र हेर्ने गर्नुहुन्छ । म पनि त्यसमा चासो दिन्छु । विश्वास पनि गर्छु ।

ल भुसुक्कै बिर्सेंछु, तपाईंहरूको पनि वार्षिक परीक्षा सकियो होला है, कस्तो भयो परीक्षा ? नतिजा राम्रो आओस् मेरो तर्फबाट शुभकामना । परीक्षा चल्दै छ भने पनि बेस्ट अफ लक है ।

बिदाको समय बिताउने मेरो अरू योजना पनि छन् । मलाई खानाको परिकार बनाउन खुब रहर लाग्छ, तर जान्दिनँ । नियमित पढाइ, कोचिङ कक्षाको प्रेसरले आमाबुबासँग सिक्नै भ्याउँदिनँ; अब बिदामा सिक्नेछु । हाम्रो घरमा सानो करेसाबारी छ, त्यहाँ आमाले विभिन्न तरकारी र फूलहरू रोप्नुभएको छ । म बिदामा तरकारी गोडमेल गर्ने र पानी पट्याउने काम गर्न सिक्नेछु । माटोमा पानी हाल्दा आउने सुगन्ध मलाई धेरै मन पर्छ । माटोसँग खेल्दै काम गर्न पनि रहर लाग्छ । कहिलेकाहीँ मामाघर र ठुलीआमाको घरमा जाँदा आमा र ठुलीआमा, हजुरआमासँग म पनि खेत र पाखातिर जान्छु । माटो र बिरुवा नियाल्छु, धेरै रमाइलो लाग्छ । आमा र ठुलीआमाहरू सधैँ त्यही काम गर्नुपर्दा भने दुःख हुन्छ हुन्छ होला तर कहिल्यै दुःख देखाउने र सुनाउने गर्नुहुन्न । ठुलीआमा र हजुरआमाले हामीलाई घरमा फर्कंदा कोसेली पठाउनुहुन्छ, तरकारी फलफूलहरू ।

मेरो सानो भाइ छ । उसलाई कक्षा १ परीक्षाको तयारी गराउनु छ । उसको परीक्षा १५ चैतबाट सुरु हुँदै छ । उसलाई पढ्नभन्दा मसँग खेल्न औधि मन पर्छ । मसँग खेल्न पाएपछि उसमा देखिएको खुसीले मलाई पनि आनन्द लाग्छ । भाइ मसँग जिक्सिरहन्छ । ऊ मान्छे पनि सानो छ, सानै कुरामा खुसी र सानै कुरामा दुःखी हुन्छ । अबको एक साता म भाइलाई खेलाउँदै परीक्षाको तयारीमा बढी केन्द्रित हुनेछु । ऊ पनि परीक्षा सकेर घुम्न जान हतारिएको छ । योबिचमा केही अतिरिक्त किताब (आउट अफ कोर्स) पढ्ने योजना पनि छ मेरो । सकेसम्म मैले पढेका ती किताबका बारेमा पनि लेख्नेछु । केही थान किताब ल्याइदिनु हुन बुबालाई भनिसकेकी छु । रातोपाटीले मलाई लेख्न प्रेरित गरिदिएकोमा आभारी छु । थ्याङ्स रातोपाटी !

(सिद्धार्थ मावि हेटौंडा मकवानपुर ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वरूपा गुरागाईं
स्वरूपा गुरागाईं
लेखकबाट थप