शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

भारतमा बजार खोज्दै नेपालमा उत्पादित अम्रिसो

आइतबार, १८ चैत २०८०, ०९ : ५३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । घरायसी प्रयोग र गाईबस्तुको घाँसका रूपमा उत्पादन हुँदै आएको अम्रिसो भारतीय बजारमा आफ्नो स्थान बनाउनतर्फ लागेको छ । नेपालको सबैजसो भूभागमा घरायसी प्रयोजनका लागि उत्पादन हुँदै आएको अम्रिसोको धेरैजसो जिल्लामा व्यावसायिक खेती हुन थालेपछि आन्तरिक आपूर्ति धानेर भारतीय बजारमा निर्यात हुन थालेको हो ।

तथ्याङ्कअनुसार पछिल्ला केही वर्षमा अम्रिसोको निर्यात बढ्दो क्रममा छ । अम्रिसोको निर्यात निरन्तररूपमा बढ्न थालेपछि व्यवसायीले नेपाल कूचो सङ्घ नै दर्ता गरेर यसको व्यावसायिकीकरण र निर्यातमा जोड दिन थालेका छन् । यससँगै सरकारको असहयोगका बाबजुद उल्लेख्यरूपमा भारततर्फ अम्रिसो निर्यात भइरहेको छ । यससँगै नेपालबाट अर्ब रुपैयाँभन्दा माथिको मूल्यमा निर्यात हुने वस्तुहरूको सूचीमा अम्रिसो समेत अँटाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्षको ८ महिना (साउन–फागुन)मा नेपालबाट १ अर्ब रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ । यस्तो तथ्याङ्क गत आर्थिक वर्षको ८ महिनाको अवधिमा ७६ करोड ७८ लाख रुपैयाँमा थियो । यसबाट पछिल्लो समय नेपालबाट अम्रिसोको निर्यात र यसबाट हुने विदेशी मुद्राको आम्दानी उकालोतर्फ देखिन्छ ।

अम्रिसोलाई मुख्यगरी गाउँघरमा गाईबस्तुको घाँसकारूपमा लिइन्छ । यसबाट उत्पादित कुचोलाई घरायसी प्रयोजनमा नै खपत गरिन्छ । तर, पछिल्लो आधा दशकयता भने व्यावसायीकरूपमा घाँसका लागि अम्रिसोको खेती सुरु भएपछि कुचोको उत्पादन समेत बढेको छ । नेपाल कुचो सङ्घका अनुसार सुरुमा पूर्वी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङतर्फ अम्रिसोको व्यापक खेती हुन्थ्यो ।

सङ्घको पछिल्लो तथ्याङ्कअनुसार भने अम्रिसो खेतीमा पूर्वी जिल्लालाई काभ्रेपलाञ्चोकले उछिनेको छ । यसपछि, दोलखा लगायतका जिल्लामा समेत उल्लेख्यरूपमा अम्रिसोको खेती हुन थालेको सङ्घका अध्यक्ष राजकुमार कार्की बताउँछन् । उनका अनुसार अम्रिसो खेतीबाट कुचोको उत्पादनसँगै दुध र मासुजन्य वस्तुको उत्पादन समेत बढ्नेछ । ‘अम्रिसोले पशुपालनका लागि समेत घाँसको काम गर्छ’ कार्की भन्छन्, ‘जसबाट पशुपालन व्यवसाय फस्टाउँछ र दुधसहित मासुजन्य वस्तुको उत्पादन बढ्छ ।’

अम्रिसोको खेतीमा नेपालभरका १ लाख परिवार प्रत्यक्ष र अप्रत्यक्षरूपमा जोडिएको अनुमान सङ्घको छ । देशभरबाट सङ्घमा जोडिएका कुचो बनाउने कारखानाको सङ्ख्या  ४० वटा छ । यसमध्ये १० वटा ठुला कारखाना छन् । ठुला कारखानाको सूचीमा वार्षिक ५ लाखभन्दा धेरै कुचो बनाउने क्षमता भएका उद्योगलाई मात्रै समेटिएको सङ्घ बताउँछ ।

भारतमा बढ्दै चुनौती, बंगलादेशमा करको मार

आधा दशकयता उल्लेख्यरूपमा बढ्न थालेको अम्रिसोको निर्यातसँगै भारतीय बजारमा चुनौती समेत बढ्दो छ । भारतमा असमसहित मेघालय क्षेत्रमा ठुलो मात्रामा अम्रिसोको खेती सुरु भइसकेको छ । सो क्षेत्रमा नेपालमाभन्दा ठुलो र आधुनिक तरिकाले व्यावसायिक खेती हुँदा नेपालको अम्रिसोको बजार प्रभावित बन्ने निश्चित छ ।

अघिल्ला वर्षहरूमा प्रतिकिलो १०० रुपैयाँभन्दा बढी मूल्यमा (सेमी फिनिस्ड) अम्रिसो (कुचो) भारत निर्यात भएको थियो । तर, यो वर्ष भारत निर्यात हुने अम्रिसोको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म आइपुगेको छ । यसबाट भारतीय बजारमा अम्रिसोको प्रतिस्पर्धा बढेको सङ्घको भनाई छ ।

सरकारले भारत निर्यातका लागि कुनै प्रत्यक्ष भूमिका नखेले पनि बंगलादेशको बजार खोल्नका लागि भने भूमिका खेल्नुपर्ने व्यवसायी बताउँछन् । बंगलादेशले नेपालको अम्रिसो आयातमा ५१ प्रतिशत भन्सार शुल्क कायम गरेको छ । यो भन्सार शुल्क तिरेर बंगलादेशतर्फ नेपालबाट अम्रिसो निर्यात सम्भव छैन । सोही कारण सरकारको पहलमा भन्सार शुल्क शून्यमा झार्न वा घटाउन पर्ने व्यवसायीहरू बताउँछन् ।

  • बढ्दै छ अम्रिसोको निर्यात

तथ्याङ्कअनुसार पछिल्ला आर्थिक वर्षहरूमा अघिल्ला आर्थिक वर्षको तुलनामा अम्रिसोको निर्यात बढ्दो क्रममा छ । गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा पनि चालू वर्षको सोही अवधिमा अम्रिसोको निर्यात बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा गत वर्षको तुलनामा अम्रिसोको निर्यात बढेको देखाएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको अम्रिसोको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको अवधिमा ७६ करोड ७८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यो चालू वर्षको सोही अवधिको तुलनामा २४ करोडले कम हो ।

नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यो तथ्याङ्कले पछिल्लो समय निरन्तररूपमा नेपालबाट विदेशतर्फ अम्रिसोको निर्यात बढ्दो अवस्थामा रहेको देखाएको छ ।

नेपालबाट निर्यात हुने अम्रिसोको निर्यात भारतीय बजारमा हुन्छ । भारतमा चालू वर्षको ८ महिनाको अवधिमा १ अर्ब ३ करोडको अम्रिसो निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप