सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनताबाट अलग भइसकेपछि समाजवादी पार्टीहरूको बिजोग हुन्छ : माधव नेपाल

मङ्गलबार, २० चैत २०८०, १६ : ३४
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए । 

अध्यक्ष नेपालले भने,‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ, धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’

उनले समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भननेमा ध्यान दिनुपर्ने बताए । समाजको गरिबी, अभाव र पछौटेपनले नेताहरुलाई पोल्छ कि पोल्दैन ? भन्दै उनले प्रश्न गरे । 

नेपालले भने,‘समाजमा विद्यमान अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र छुवाछुत त्यसले हामीलाई पिरोल्छ कि पिरोल्दैन ? एउटा मैले भिडियो देखेको थिएँ, त्यसमा लेखिएको थियो, रौतहट गौरको घटना भनेर, थाहा छैन कहाँको घटना थियो । त्यहाँ दलितका ३ वटा बच्चालाई पछाडि हात बाँधेको छ । एउटा ठुलो जातीको मान्छेले उसलाई लठ्ठीले उसलाई हिर्काइरहेको छ । बच्चा कराइरहेको छ । वरिपरि सिंगै दलित वस्तिलाई बोलाइएको छ । सम्रान्त वर्गको मान्छेले कुटिरहेको छ, अरू चुपचाप थिए । मैले त्यहाँको एसपीलाई फोन गरेर घटनाको छानबिन गर्न भनेँ ।’

उनले देशका प्रत्येक गाउँमा कम्युनिस्ट पार्टीका संगठन र कार्यकर्ता रहेको भन्दै ती कार्यकर्ताले कस्तो काम गरिरहेका छन्, पार्टीहरूले हेर्नुपर्ने बताए । उनले जनतासँग जोडिनुपर्ने, बस्तीमा नेताहरू जानुपर्ने र बस्तीमा गएमा चुनावमा गएर शासन सत्तामा जानुपर्ने बताए । बस्तिका जनतालाई चेतनशील बनाउने काम राजनीतिक दलको भए उल्लेख गरे । यसका लागि राजनीतिक दलहरू गम्भीर छन् त भन्दै उनले प्रश्न गरे । 

अध्यक्ष नेपालले भने,‘कम्युनिस्ट पार्टीभित्रको भ्रष्टीकरणलाई हामीले रोक्न सकेका छौँ त ? कार्यकर्ताहरूमा व्यक्तिवाद चरम रूपमा बढेको रोक्न सकेका छौँ ? मैले के पाएँ भन्ने प्रवृत्तिलाई रोक्न सकेका छौँ । कार्यकर्तालाई रुपान्तिरित गर्न सकेका छौँ ? जनताको रूपान्तरण टाढाको कुरा हो, अहिले जनताको अगुवा भनिएका कार्यकर्ताहरू तिनीहरूको आचरण र शैली कस्ता छन् ? उनीहरूका संस्कारहरू कस्ता छन्, हाम्रो समाजमा छाउपडी प्रथा छ, बोक्सी भनेर महिलाहरूलाई यातना दिने गरिन्छ । धेरै गरिबका छोराहरू अहिलेपनि पढ्न जान सक्दैनन्, भ्रष्टाचार व्याप्त छ, यस्ता कुराहरूलाई हामी चुनौतीका रूपमा लिन्छौँ कि लिँदैनौँ ?’

अध्यक्ष नेपालले समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामलाई प्रशंसा गर्नुपर्ने र नराम्रो काम गरेको छ भने ध्यान दिनुस् भनेर पनि भन्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप