मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बिमा कम्पनी कार्यालय अम्लेखगञ्जमा तालाबन्दी

आइतबार, २५ चैत २०८०, २१ : १३
आइतबार, २५ चैत २०८०

बारा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले ८० करोड हिनामिना गरेको विषयमा छानबिनको माग गर्दै राष्ट्रिय बिमा  कम्पनीको अम्लेखगञ्जस्थित कार्यालयमा तालाबन्दी गरेको छ ।  आयल निगमको अम्लेखगञ्ज डिपो अन्तर्गत रहेको बिमा  कार्यालयमा आम ढुवानी व्यवसायी र सरोकारवाला निकायहरूले आज तालाबन्दी गरेका हुन् । 

उनीहरुले २०३८ सालमा स्थापना भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले २०६८ सालदेखि कागजको चिर्कटोमा  ढुवानी बिमा बापतको रकम उठाउँदै आएको र सो रकम बिमा कम्पनीको खातामा जम्मा नगरेको आरोप लगाएको छ । 

‘२०६८ सालदेखि ढुवानी बिमा बापत सङ्कलन गरेको रकममध्ये ८० करोडभन्दा धेरै हिनामिना भएको छ, कागजको चिर्कटोमा रकम उठाउने र उठाएको रकम संस्थाको खातामा जम्मा नभएको, लेखा  परीक्षण गर्दा बेरुजु देखिने र ठुलो रकम अपचलन तथा अनियमितता भई भ्रष्टाचार भएकोले छानबिन गरी कारबाहीको माग गर्दछौ’ आम ढुवानी व्यवसायी तथा  सचेत नागरिकहरूले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘एसोसिएसनले हालसम्म ८० करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको,मूल्य अभिवृद्धि कर र अन्य करहरू समेत अपचलन गरेकोले तत्काल छानबिन नभएसम्म एसोसिएसनको शाखा कार्यालय अमलेखगन्जमा काम कारबाही अगाडी बढाउन नदिने भनी ताल्चा लगाइ ‘विरोधको कार्यक्रमलाई चरणबद्ध रूपमा अगाडी बढाउने जानकारी गराउँछौँ ।’ 

आर्थिक हिनामिनाको आरोपमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन विरुद्ध पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल बिमा प्राधिकरण, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सङ्घीय संसद्को लेखा समितिमा आवश्यक छानबिन र कारबाही गरिपाऊँ भन्दै उजुरी परेको छ । एसोसिएसन विरुद्ध परेको उजुरीमा तत्काल छानबिन हुनुपर्ने अम्लेखगञ्ज डिपो अन्तर्गत रहेका ढुवानी व्यवसायीहरूको माग छ ।

b1

ढुवानी व्यवसायी रिकेश नगरकोटीले एसोसिएसनले व्यवसायीहरूको करोडौँ रुपैयाँ उठाएर भ्रष्ट्राचार गरेको बताएका छन् । ‘हामी व्यवसायीहरूको पैसाको खुल्ला भ्रष्टाचार भएको छ’ नगरकोटीले भने ‘हाम्रो गाडीले प्रत्येक वर्ष बिमा बापत १० देखि १५ लाख बुझाउँछ, तर उहाँहरूले दिने सेवा सुविधा भनेको हाम्रो ट्यांकीमा आगजनी भयो भने तेल पोखियो भने मात्रै हामीलाई हेर्ने हो, त्यो पनि ५ वर्ष १० वर्षमा झुक्किएर एउटा घटना हुन्छ ।’

ढुवानी व्यवसायीहरूको समस्यामा एसोसिएसनले कुनै सुनवाइ नगरेको उनीहरूको गुनासो छ । अर्का ढुवानी व्यवसायी गम्भीर नेपालीले बिमाको नाममा वार्षिक लाखौं लाख रुपैयाँ उठाएर हिनामिना भएकोले तत्काल छानबिन हुनुपर्ने  माग गरेका छन् ।

‘हामीले ढुवानी बिमा बापत वार्षिक लाखौं रुपैयाँ बुझाउँछौ तर स्थानीय ढुवानी व्यवसायीहरूका लागि एसोसिएसनले १ प्रतिशत पनि लगानी गरेको छैन, हाम्रो पैसा उठाएर उहाँहरूले पदमा बसेर मिलेमतोमा व्यक्तिगत लाभ लिइरहनुभएको छ’ ढुवानी व्यवसायी नेपालीले भने ‘सञ्चार माध्यममार्फत सरोकारवाला निकायहरूले यसको निष्पक्ष छानबिन हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’ 

आन्तरिक ढुवानी बिमा बापतको रकम तत्कालका लागि ट्यांकर चालकले जम्मा गरे पनि यो रकम पेट्रोल पम्प सञ्चालकहरूले बुझाउने गर्दछन् । आयल निगमबाट लोड भएर निस्किएको ट्यांकर दुर्घटना तथा आगलागी नहोस् भन्नेका लागि अनिवार्य बिमाको व्यवस्था गरिएको छ ।

एउटै पम्प सञ्चालकले ढुवानी बिमा बापत वार्षिक लाखौं रुपैयाँ एसोसिएसनलाई बुझाउँदै आएका छन् ।  आयल निगमको अम्लेखगञ्ज डिपो अन्तर्गत रहेको राष्ट्रिय बिमा कम्पनीका प्रमुख विनय अधिकारीले ६ महिना अघिदेखि मात्रै अनलाइन प्रकियाबाट भ्याटमा रसिद काट्न सुरु गरेको  बताएका छन् । 

‘पहिलाको ढुवानी बिमाको नाममा घोटाला भएको हो/होइन जानकारी लिनको लागि हाम्रो केन्द्रीय कार्यकय अथवा बिमा प्राधिकरणमा सम्पर्क गनुपर्छ’ राष्ट्रिय बिमा कार्यालय अम्लेखगञ्जका प्रमुख अधिकारीले भने, ‘पहिला एसोसिएसन आफैँले रसिद काट्ने चलन रहेछ, एसोसिएसनले यहाँ कति पैसा उठाउँथ्यो हामीलाई केही थाहा छैन, हामीले औपचारिक रूपमा २०८० असोज ७ गतेदेखि बिमा कम्पनीमार्फत भ्याट बिल काट्न थालेको हो’

अम्लेखगञ्जस्थित राष्ट्रिय बिमा कम्पनिमा करिब ४ सय पेट्रोल पम्प आबद्ध रहेका छन् । बिमा प्राधिकरणले प्रतिलिटर पेट्रोल, डिजेलमा ० दशमलव ०६ रुपैयाँको दरले रसिद काट्ने गर्दछ । 

एसोसिएसनले २०६८ सालदेखि उठाउँदै आएको करोडौँ रकम हिनामिना भएकाले छानबिनको माग गर्दै अम्लेखगञ्जमा ढुवानी व्यवसायीहरूले शनिबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए  । आज बिहान ढुवानी व्यवसायीले अम्लेखगञ्ज बिमा कार्यालयमा लगाएको ताला केही बेरमा प्रहरीले खोलेको थियो । 

b6b7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप