शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
सिंहदरबारमा छलफल

देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो

सोमबार, २२ वैशाख २०८२, १९ : ५९
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा कुराकानी भएको छ ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी रहेका थिए । बैठकपछि गृह मन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताए । मन्त्री लेखकले दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ । 

‘यो कमन र राष्ट्रिय एजेन्डा हो भिक्टिमले उठाएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र उनीहरूलाई कसरी समेट्ने भन्नेमा कुराकानी केन्द्रित भयो’, लेखकले रातोपाटीसँग भने, ‘भिक्टिम समन्वय इकाइमा इन्भल्व गर्न सकिन्छ ।’

भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको बताइएको छ । 

यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप