सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेशनल मेडिकल कलेज छापा प्रकरण

पक्राउ परेका प्रबन्ध निर्देशक हिरासत छल्न बिरामीको बहानामा अस्पताल भर्ना

मोबाइल चलाएर दिन कटाउँदै
मङ्गलबार, २७ चैत २०८०, १६ : २७
मङ्गलबार, २७ चैत २०८०

वीरगन्ज । प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी बिरामीको बहानामा अस्पतालमा भर्ना भएका छन् ।

मेडिकल कलेजको ल्याबबाट म्याद नाघेका केमिकल र औषधि बरामद भएपछि अन्सारीलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरी हिरासतमा नबस्न अन्सारी बिरामीको बहानामा वीरगन्जस्थित हेल्थ केयर अस्पतालको डिलक्स केबिन नम्बर– ५ मा भर्ना भएका छन् ।

पक्राउपछि सामान्य स्वास्थ्य परीक्षण गराउन पुगेको प्रहरी टोलीलाई अस्पतालको इमरजेन्सी सेवामा खटिएका चिकित्सकले आइसियूमा लैजान रेफर गरेको बताइएको छ । अन्सारीको परिवारकै जोडबलमा चिकित्सकले अस्पतालमै भर्ना गर्न सिफारिस गरेको स्रोत बताउँछ ।

नारायणी अस्पतालका आकस्मिक सेवामा सोमबार कार्यरत डा. राजीव यादवले रेफर गर्दै लेखेका छन्, ‘बिरामीको ब्लड प्रेसर बढेको छ, १२ वटा लीडमध्ये तेस्रो र छैटौँमा परिवर्तन आएको छ । छाती दुखिरहेको बिरामी भनाइ छ, हामीसँग सुविधासम्पन्न बेड तथा आइसीयू पनि खाली छैन । त्यसकारण थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान रेफर गरिएको छ ।’

मेडिकल कन्सल्टेन्ट (फिजिसियन) डा. यादवको यही रेफर पत्रको आधारमा अन्सारीलाई सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार कानुनले दिएको प्रावधान अन्तर्गत नारायणी अस्पतालले रेफर गरेपछि थप उपचारका लागि अन्सारीलाई अस्पतालमा पठाइएको हो ।

घटनाको अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नुपूर्व मुलुकी फैजदारी कार्यविधि नियमावली, २०७५ अनुसार अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

यसको परिच्छेद २ मा पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्थाको दफा ७ मा हिरासतमा राख्ने अनुमति दिँदा विचार गर्नुपर्ने कुराबारे भनिएको छ । जसको बुँदा नम्बर (४) मा हिरासतमा रहेको अभियुक्त बिरामी भइ उपचार गर्नुपर्ने देखिएमा अदालत÷मुद्दा हेर्ने अधिकारीले आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिन सक्ने व्यवस्था छ ।

यही कानुनी व्यवस्था अन्तर्गत प्रहरीले हिरासतमा राख्नुपूर्व अन्सारीको सामान्य स्वास्थ्य परीक्षण गराएको पर्सा प्रहरी प्रमुख ढुंगेलको भनाइ छ ।

के उपचार भइरहेको छ अन्सारीको ?

पर्सा प्रहरीले सोमबार राति अन्सारीलाई सामान्य स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पतालमा लगेको थियो । यस क्रममा अन्सारीले एकाएक छाती दुख्यो भन्दै चिकित्सकलाई जानकारी गराए । त्यस बमोजिम नारायणी अस्पतालमा त्यसबेला खटिएका डा. यादवले तुरुन्त इसीजीसहितका चेकजाँच गरेर बिरामी भएको भन्दै रेफर गरेपछि अहिले उनी बीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालको डिलक्स क्याबिनमा उपचारार्थ रहेका अन्सारी भने मोबाइल खेलाउँदै, फोनमा कुरा गर्दै बेडमा सामान्य तरिकाले सुतिरहेका छन् ।

refer paper brj

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.चितरञ्जन साहले सामान्यतः कुनै बिरामीलाई उपचारका लागि आवश्यक सेवासुविधा पर्याप्त नभए रेफर गर्ने पाइने चिकित्सकीय नीति रहेको बताए ।

उनले भने, ‘गम्भीर बिरामी भएपछि सुविधायुक्त ठाउँमा आइसीयूमा लैजान रेफर गरिन्छ, त्यसरी रेफर गरिएको बिरामी अर्को अस्पतालमा भर्ना भएपछि इसीजी मोनिटर र अक्सिजन लगाएर अब्जरभेसनमा राखिएको हुनुपर्छ ।’

यदि सामान्य अवस्थाको बिरामीलाई कसैले प्रलोभनमा परेर रेफर गरेमा गलत मानिने उनी बताउँछन् । तर वीरगन्ज हेल्थ केयरमा थप उपचारका लागि भर्ना भएका एमडी अन्सारी भने मोबाइल चलाएर बिना ‘अब्जर्भेसन’ बेडमा सुतिरहेको तस्बिर सार्वजनिक भएको छ ।

यता वीरगन्ज हेल्थ केयरका सञ्चालक अबुलहैस अन्सारीले नारायणी अस्पतालले रेफर गरेपछि त्यहीअनुसार भर्ना गरिएको जनाए । उनले भने, ‘हामीले बिरामीलाई उच्च निगरानीमा राखेका छौँ, अवस्था ठिक नभएकाले छातीसँग सम्बन्धित चिकित्सकको २४ घण्टे निगरानीमा राखेर उपचार चलाइरहेका छौँ ।’

यो विषयमा आफू थप जानकार नरहेको उनको प्रतिक्रिया छ । तर उपचारमै संलग्न एक चिकित्सकले एमडी अन्सारीमा खासै समस्या नदेखिएको रातोपाटीलाई बताए ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. फर्मा सतिश देवले व्यावसायिक आचरणविरुद्ध कुनै चिकित्सकले काम गरेमा त्यसमाथि कारबाहीको व्यवस्था रहेको जनाए ।

उनका अनुसार स्वास्थ्य उपचारको क्रममा व्यावसायिक आचरणविरुद्ध गतिविधि गरेको भेटिएमा काउन्सिल ऐन अनुसार कारबाही हुने व्यवस्था छ । उनले भने, ‘कुनै चिकित्सकले आचरणविपरीत काम गरेको प्रमाणित भएमा, काउन्सिल ऐनले कारबाहीको व्यवस्था गरेको छ । हामी त्यस्तो कोही भेटिएमा त्यही अनुसार कारबाही पनि गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप