सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

रवि लामिछानेलाई रोक्दै बालुवाटारमा ओलीको एक घण्टा ‘प्रवचन’

कांग्रेसले क्लिन चिटको कुरा गर्दा प्रचण्ड धेरै बोलेनन्, माधव खुलेनन्
मङ्गलबार, २७ चैत २०८०, १८ : २०
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान नछाडेपछि मंगलबार बिहान गरिएको सहमतिको प्रयास विफल बनेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सदनको अवरोध कसरी खुलाउने भनेर निकास खोज्न बसेको सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्ष दलका नेताबिचको  बैठकमा ‘गरमागरम’ छलफल हुनुबाहेक केही प्रगति नभएको हो । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा नेता कृष्ण सिटौला सहभागी थिए ।

करिब साढे २ घण्टा नेताहरूबिच भएको छलफलमा झन्डै एक घण्टा एमाले अध्यक्ष केपी शर्मा ओलीमात्र बोलेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा छानबिन समिति गठनको माग गरेर संसदमा उल्झन गरेको आरोप लगाएका थिए ।

बैठकमा सहभागी एक नेताले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि अलोकतान्त्रिक चरित्र देखायो, प्रतिशोध साँध्न खोज्यो । सहकारी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कुनै आवश्यकता छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओली कांग्रेसलाई लोकतान्त्रिक चरित्र देखाउन आग्रह गर्दै उपप्रधानमन्त्री समेत रहेका रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा निर्दोष रहेको भन्दै उनको बचाउमा उत्रेका थिए ।

‘रविजीविरुद्ध ठाडो उजुरी कसैले हाल्यो भन्दैमा संसदीय छानबिन समिति बनाउँदा हाम्रो संसदको गरिमा कहाँ पुग्छ ? भोलि अर्काको विषयमा पनि कसैले बेनामे उजुरी देला फेरि संसदीय समिति गठन गर्ने ?’, कांग्रेस नेताहरूलाई प्रश्न गर्दै ओलीले भने, ‘कांग्रेसले संसद् अवरोध गर्दा सन्देश कस्तो जाला आफै विचार गर्नुपर्ने हो ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मिलाएर अघि बढ्नुको विकल्प नभएको धारणा राखेका थिए । ‘सदन अवरोध गरेर मात्रै पनि हुँदैन । के गर्दा सहमतिमा पुग्न सकिन्छ, त्यसबारे छलफल गरौँ र समाधान खोजौँ, गृहमन्त्रीलाई बोल्न दिऔँ’, बैठकको अन्तिमतिर थोरै बोलेका प्रधानमन्त्रीको भनाइ थियो । तर त्यसअघि रवि लामिछानेले आफ्ना तर्फबाट धारणा राख्ने प्रयास गरेका थिए ।

434435955_957617235533275_1198927998137970554_n

‘छानबिन समिति नै गठन गर्ने भए सबै सहकारीको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्छ । समस्या एक ठाउँमा मात्र छैन र होइन’,लामिछाने आफ्नो धारणा राख्दै गर्दा अध्यक्ष ओली उनलाई रोकेर बिचैमा बोल्न सुरु गरेका थिए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने समिति गठनको पक्ष वा विपक्षमा प्रस्ट बोलेनन् ।

‘अध्यक्ष नेपालले संक्षिप्त कुरा राख्नुभयो । उहाँ समिति गठनको पक्ष विपक्षमा खासै खुल्नुभएन’,बालुवाटार स्रोतले नेपालको भनाइ उद्धृत गर्दै भन्यो, ‘समस्या धेरैतिर छ । जनता निराश छन् । जनताको भावना जगाउन सक्नुपर्छ ।’ त्यसपछि कांग्रेस महामन्त्री गगन थापा र नेता कृष्ण सिटौलाले पालैपालो बोलेका थिए । उनीहरूले संसदीय छानबिन समिति बनाउने परम्परा र अभ्यास रहेको भन्दै अहिले पनि समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए ।

‘समिति बनाऔँ । निर्दोष भए क्लिन चिट नै पाउनुहुन्छ । यसले सरकारलाई पनि फाइदा नै होला । यदि कोही दोषी भए जो पनि कारबाहीमा पर्नुपर्छ’, कांग्रेस नेता सिटौलाले बैठकमा भनेका थिए । महामन्त्री थापाले पनि सिटौलाको भनाइमा समर्थन जनाएका थिए ।  त्यसक्रममा उनीहरूले तत्कालीन अर्थमन्त्री रामशरण महत, जनार्दन शर्मा, भरत मोहन अधिकारी लगायतको उदाहरण समेत दिएका थिए । उनीहरूले यो विषय अहिले मात्रै नउठेर नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला देखि नै उठेको स्मरण गराएका थिए । ‘यो विषय अहिले मात्र उठेको पनि होइन । नारायणकाजीजी गृहमन्त्री भएकै बेला उठ्दा राज्य व्यवस्था समितिमा गएर छानबिन जारी भएको समेत बताउनुभएको हो’, कांग्रेस नेताहरूको भनाइ थियो । त्यसमा सत्तापक्षका नेताहरूले प्रहरीले नै छानबिन गरिरहेकाले उसैलाई छानबिन गर्न छोड्नुपर्ने आशय व्यक्त गरेका थिए । तर सत्तापक्षको यो भनाइमा कांग्रेस नेता सहमत हुन सकेनन् । 

‘प्रहरीले आफ्नै कमान्डर मानिने गृहमन्त्रीको कसरी छानबिन गर्छ यो हुँदैन’, कांग्रेस नेताहरूको अडान थियो । त्यसक्रममा कांग्रेस नेताहरूले रवि लामिछाने गृहबाहेक अर्को मन्त्री भएको भए छानबिन समितिको कुरा समेत नगर्ने बताएका थिए । त्यसक्रमा उनीहरूले ओलीजीले भनेजस्तो कांग्रेस उत्तेजनामा नआएको भन्दै समिति गठन आफूहरूको बटमलाइन भएको सुनाएका थिए ।

रविको ‘डिफेन्डर’ ओली !

बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष छलफलका क्रममा ओली पुरै रवि लामिछानेको डिफेन्डरका रूपमा प्रस्तुत भएका थिए ।

‘रविको डिफेन्डर म हुँ । रवि मेरो कार्यकर्ता भन्ने शैलीमा ओलीजी प्रस्तुत हुनुभयो’, एक नेताले भने, ‘ त्यो लेबलको नेता यस्तो बचाउमा उत्रनुहोला र मिटिङमै त्यस्तो व्यवहार गर्नुहोला भन्ने सोचेको पनि थिएन ।’ ती नेताका अनुसार ओलीले रविलाई कांग्रेसले थप्पड हान्दैछ म मल्हमपट्टि लाउँदै छु भनेजसरी कुरा गरेको आफूलाई महसुस भएको बताए । ‘रविलाई त उहाँ (ओली)जीले आफ्नो भ्रातृ संस्थाको जस्तो माया गर्नुहुँदो रहेछ’, ती नेताले अचम्म मान्दै भने, ‘यस्तो त मैले पहिलो पटक देखेँ । बरु रवि तयार हुन खोजेजस्तो देखियो तर ओली देखिएनन् । बरु लामो प्रवचन दिनुभयो ।’

बालुवाटार बैठकमा सहमति नजुटेपछि मंगलबारको प्रतिनिधि सभा बैठक डेढ घण्टा ढिलोमात्र सुरु भएको थियो । तर बैठकको सुरुमै सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न दिएका थिए । उनले समिति बनाउन केले रोक्यो भनेर प्रश्न गरेकी थिइन् । थिङ बोलेलगत्तै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । झालाई बोल्न समय दिएलगत्तै कांग्रेस सांसद आसनबाट उठेका थिए ।

 त्यसपछि सत्तापक्ष एमालेकै सांसद समेत उठेर विरोध गरेका थिए ।अवरोधपछि १५ मिनेटका लागि स्थगित मंगलबारको बैठक फेरि बस्न नसकेपछि सूचना टाँसेर बुधवार ११ बजेसम्म लाई स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप