मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

चाहेको समयमा बच्चा जन्माउन ‘शुक्रकीट भण्डारण’ प्रविधि, कस्ता मानिसलाई हुन्छ उपयोगी ?

शुक्रकीट कसरी गरिन्छ भण्डारण ?
मङ्गलबार, ०४ वैशाख २०८१, १४ : ३५
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढ्दै गएको छ । यो समस्या समाधान गर्नका लागि चिकित्सा क्षेत्रमा ‘शुक्रकीट भण्डारण’ प्रविधि उपयोगी हुने देखिएको छ ।

उमेर बढ्दै जाँदा महिलामा अण्डा उत्पादनको क्षमता घट्ने र पुरुषमा वंशाणुगत समस्या उत्पन्न हुने हुँदा ३० वर्षभन्दा अगाडि नै महिलाले अण्डा र पुरुषले शुक्रकीट भण्डारण गरेर चाहेको समयमा सन्तान जन्माउन यो प्रविधि सार्थक हुन्छ ।

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा. विनीता थापाका अनुसार महिलामा सीमित मात्रमा अण्डा हुन्छ, जुन ३५ वर्षको उमेरपछि घट्न थाल्छ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएको भन्दै उनले यस्तो अवस्थामा प्राकृतिक तरिकाले सन्तान जन्माउन समस्या हुने जिकिर गरिन् । ‘एउटा बच्चा जन्मिइसकेपछि कोही वैदेशिक रोजगारीमा जानु हुन्छ, बिचबिचमा आएर अर्को बच्चाका लागि प्रयास गर्दा पनि सफल नभएर ८÷९ वर्ष समय खेर जान्छ,’ उनले भनिन् ।

यस्तै, क्यान्सर भएर रेडियोथेरापी, किमोथेरापी गर्दा शुक्रकीट नष्ट हुने भएकाले यस्ता पुरुषका लागि पनि शुक्रकीट भण्डारण गर्ने प्रविधि फलदायी हुने डा. थापा बताउँछिन् । लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने अवस्थामा शुक्रकीटको गुणस्तर घट्दै जाने, उत्पादन कम हुने भएकाले शुक्रकिट भण्डारण गर्न उपयुक्त हुने उनले सुनाइन् ।   

शुक्रकिट भण्डारण गरेमा निःसन्तान हुने समस्या न्यूनीकरण हुने र आफूले चाहेको समयमा बच्चा जन्माउन सकिने उनको भनाइ छ ।

dr-binita-thapa

डा. थापाका अनुसार थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा दैनिक ५० देखि ६० दम्पती निःसन्तानको समस्या लिएर आउने गरेका छन् । यस्तो खाले समस्याबाट जोगिन महिलाले अण्डा र पुरुषले शुक्रकीट भण्डारण गर्न उनले सुनाइन् । तत्कालै निःसन्तानको समस्यालाई गम्भीर रुपले हेरिएन भने यसले भयावह रुप लिने उनको भनाइ छ ।

डा. थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर हाल अस्पतालमा पुरुषको शुक्रकीट भण्डारण गर्दै आएको बताइन् । निकट भविष्यमा महिलाको अण्डा पनि भण्डारण गर्ने कार्य सुरु गरिने उनको भनाइ छ । ‘हाल हामीले ३० जनाभन्दा बढीको शुक्रकीट भण्डारण गरेका छौँ,’ उनले भनिन्, ‘सम्भवतः ३–४ महिनामा हामी महिलाको अण्डा पनि भण्डारण सुरु गर्नेछौँ ।’

शुक्रकीट भण्डारण गर्दा प्रतिमहिना ३ हजार रुपैयाँ खर्च आउने डा. थापाले रातोपाटीलाई बताइन् । शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन् क्षमताको समाधान रहेको उनको भनाइ छ ।

  • शुक्रकीट कसरी गरिन्छ भण्डारण ?

डा. थापाका अनुसार यौन सम्पर्क नभएको समयमा हस्तमैथुनको माध्यमबाट वीर्य निकालिन्छ । निकालिएको वीर्यबाट शुक्रकीट लिक्युड नाइट्रोजनमा राखेर स्पर्म फ्रिज मिडियाको प्रयोग गरेर भण्डारण गरिन्छ । भण्डारण गरिएको शुक्रकीट आफूले चाहेको समयमा दम्पतीले बच्चा जन्माउन प्रयोग गर्न सक्ने थापाले उल्लेख गरिन् ।  

ThinkstockPhotos-459055473SB

  • कति वर्षसम्म शुक्रकीट प्रयोग गर्न मिल्छ ?

भण्डारण गरेर राखेको शुक्रकीट र अण्डा चाहेको बेलामा रुम टेम्पेरेचर मिलाएर गर्भाशयमा राख्न सकिने डा. थापाको भनाइ छ । उनका अनुसार भण्डारण गरेर राखेको शुक्रकीट वर्षौंसम्म प्रयोग गर्न मिल्छ । यसरी राखिएको शुक्रकीट १० वर्षभन्दा बढी समयसम्म पनि प्रयोग गर्न सकिने डा. थापाको तर्क छ ।

  • भण्डारण गरिएको शुक्रकिटबाट कसरी जन्माइन्छ बच्चा ?

बच्चा जन्माउनका लागि स्वस्थ शुक्रकिट आवश्यक पर्छ । डा. थापाका अनुसार उत्कृष्ट शुक्रकीटलाई छानेर महिलाको गर्भाशयमा राख्न सकिन्छ । पाठेघर स्वस्थ भएमा सुरुमा आइयुआई (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) विधि अपनाइन्छ । यो विधिबाट बच्चा नभएकालाई मात्र आइभीएफ विधिबाट बच्चा जन्माउन सुझाव दिने गरिन्छ ।

sperm-storage-service-frisco-texas

  • के हो आइयुआई ?

पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आइयुआई (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) हो । स्वस्थ्य शुक्रकीट र पाठेघर स्वस्थ भएमा १० देखि १५ प्रतिशतमा यो विधि सफल हुन्छ । यदि कुनै समस्या देखिएमा या विधिको सफलता दर ७ देखि ८ प्रतिशतमात्रै हुने डा. थापाको भनाइ छ । यो विधिबाट पनि बच्चा नभएकालाई मात्र आइभीएफ विधिमा लगिने उनले सुनाइन् ।

  • के हो आइभीएफ ?

आइभीएफ (इन् भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि पाठेघरभित्र राखिन्छ । ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आइयुआई धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आइभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिने डा.थापाले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप