मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

गठबन्धनमा खटपटका बिच देउवा र माधवबिच गोप्य भेट

बुधबार, ०५ वैशाख २०८१, २१ : ४९
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।  

बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा  देउवा र नेपालबिच पौने एक घण्टा भेटवार्ता भएको हो । पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् । नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए । 

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशाेर चाैधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । यद्यपि आफूले मुख्यमन्त्री पाउने आश्वासन भाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशाेरलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

प्रदेश प्रमुख नाजिर मियाँले मंगलबार नाउपाका लक्ष्मणकिशाेर र कैलाली चौधरी दुबैको दाबी अस्वीकृत गरिदिएका थिए । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर साेडारीलाई एमालेले स्वीकार नगर्ने संकेत गरेपछि नेपाल देउवालाई भेट्न पुगेको स्रोतले राताेपाटीलाई बतायो । 

स्रोतका अनुसार देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल केन्द्रित थियो । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सहकार्य सहज नभएको भन्दै वैकल्पिक गठबन्धन निर्माण आफ्नो साथ रहने विश्वास दिलाएको देउवा निकट स्रोतले राताेपाटीलाई बतायो । 

एकीकृत समाजवादीले साथ छोड्दा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन  बाहिरबाट सरकार बन्ने परिस्थिति छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी पनि बाहिरिन सक्ने कांग्रेसकाे बुझाइ छ । एमालेसहितको गठबन्धनप्रति जसपामा पनि असन्तुष्टि देखिन्छ । गत फागुन ३० मा तेस्रो पटक विश्वास मत लिँदा १५६ सांसदकाे समर्थन पाएका प्रधानमन्त्री प्रचण्डलाई सरकार जोगाउन एकीकृत समाजवादी र जसपाकाे साथ कठिन छ । 

एकीकृत समाजवादीका १० र जसपाका १२ गरी २२ सांसदले साथ छोड्दा प्रचण्ड सरकार अल्पमत पर्छ । सरकार बनाउन १३८ सांसद चाहिनेमा एकीकृत समाजवादी र जसपा बाहिरिँदा १३४ सांसद मात्र रहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप