बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी

बिहीबार, ०६ वैशाख २०८१, २० : २४
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावमा दुवै देशका अधिकारीहरूबिच छलफल अघि बढेको छ । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीबिच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा मन्त्री अर्यालले श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका दिए । शिष्टाचार भेटमा मन्त्री अर्यालले १९ वर्षअगाडि भएको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि नेपाल तयार रहेको धारणा राखेका थिए । 

कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको नेपाल भ्रमणका क्रममा श्रम सम्झौतामा हस्ताक्षर गर्न नेपाल तयार रहेको मन्त्री अर्यालको आशय थियो । त्यही आधारमा राजदूत अल–थानीले उक्त प्रस्ताव कतार सरकारसमक्ष पेश गरेका छन् । नेपाल र कतारबिच सन् २००५ मा द्विपक्षीय सम्झौता भएको थियो । 

वैशाख ११–१२ मा कतारी अमिर पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन् । श्रम प्रवक्ता गोविन्द रिजालले राजदूतसँगको भेटमा श्रम सम्झौताको विषयमा कुरा भएको बताए । नेपालले अमिरको भ्रमणका क्रममा श्रम सम्झौतालाई टुङ्ग्याउन चाहेको बताएको छ । 

‘श्रम सम्झौतासम्बन्धी छलफलमा छौँ । सम्झौतामा हस्ताक्षर हुने विषय अहिले नै टुङ्गो लागिसकेको छैन । हाम्रो चाहना अनुसार परराष्ट्र मन्त्रालयले यो विषय कतारसँग राख्छ । त्यसपछि छलफल अगाडि बढ्छ,’ रिजालले भने । 

कतारी राजदूतसँगको भेटपछि मन्त्रालयमा यो विषयमा थप कुनै छलफल नभएको समेत बताए । ‘सम्झौता पुरानो भयो । यसलाई समयानुकूल परिमार्जन गर्नुपर्छ भन्ने नेपालको माग हो । त्यसमा कतारी अधिकारीहरूसँग छलफल गरेर टुङ्गिन्छ होला,’ रिजालले भने । 

नेपालले विगतदेखि नै श्रम सम्झौता परिमार्जन गर्न चाहेको छ । यस बिचमा दुई देशका उच्च श्रम अधिकारीहरूबिच पटक–पटक बैठक पनि बसेको थियो । संयुक्त प्राविधिक समितिको बैठकमा यो विषयमा छलफल भएको थियो । तर, हालसम्म टुङ्गो लाग्न सकेको थिएन । 

कतारले कफला प्रणाली सुधार गरी श्रम बजारलाई व्यवस्थित बनाउँदै आएको छ । जसले गर्दा कतार आप्रवासी कामदारहरूको रोजाइमा पर्दै आएको छ । कतारमा हाल तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको सङ्ख्या ३ लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको सङ्ख्या १५ हजार ५५५ छ ।

मन्त्री अर्यालले कतारी राजदूत अन्सारीसँगको भेटको क्रममा नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।

श्रम मन्त्रालयका अनुसार श्रम सम्झौताको मस्यौदामा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले सुझाव दिइसकेको छ । त्यही आधारमा नेपालले कतार सरकारलाई पठाइसकेको छ । कतारबाट सुझाव आएपछि त्यही आधारमा मन्त्रिपरिषद् बैठकबाट पास गराइने र सम्भव भएसम्म कतारी अमिरको नेपाल भ्रमणकै क्रममा सम्झौता गरिने मन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्री अर्यालले कतारी राजदूत अन्सारीसँगको भेटको क्रममा नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न पनि आग्रह गरेका थिए । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौँ । त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरुको सहयोगको अपेक्षा गर्छौँ,’ मन्त्रीले भनेका थिए । 

राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठुलो स्रोत मुलुक भएको बताउँदै नेपाली श्रमिकको सीप विकास लागि सहयोग गर्न कतार सधैँ तयार रहेको बताएका थिए । ‘नेपाली श्रमिकको सिप विकासका लागि के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस् । हामी सबै खालको सहयोग गर्न तयार छौँ,’ उनले भनेका थिए । 

यसअघि यूएईको आबुधाबीमा भएको ‘आबुधाबी डायलग’ मा समेत श्रम सम्झौताको विषय उठेको थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीसहितको नेपाली प्रतिनिधि र कतारका श्रम अधिकारीहरूबिच भएको साइडलाइन मिटिङमा कतारी अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीमा हस्ताक्षर गर्ने गरी तयारी गर्न सहमत भएका थिए ।

कतारबाट पहिलो पटक भीभीआईपी तहको भ्रमण हुन लागेको हो । यसअघि उनी २०८० कात्तिक २० गते नेपाल आउने तालिक थियो । तर, इजरायल र हमासबिचको जारी युद्धका कारण उनको भ्रमण रोकिएको थियो । 

कतारले घरेलु कामदार पठाउन अनुरोध गर्दै आएको छ । उनीहरूका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षा प्रबन्ध गर्ने प्रतिबद्धता जनाउँदै कतारले घरेलु कामदार माग गर्दै आएका हुन् । त्यसका लागि श्रमिकहरूलाई आवश्यक पर्ने भाषा र सीप सिकाएर पठाउन तालिम दिन कतारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउँदै आएको छ । 

घरेलु कामदारको लागि आवश्यक पर्ने सेवा, सुविधा, सामाजिक सुरक्षा तथा आवश्यक सुरक्षा प्रवर्द्धन कतार सरकारले मिलाउने बताउँदै आएको छ । त्यसका लागि नेपालमा नै सीप सिकाउने र सीप सिकिसकेपछि मात्रै कतारमा घरेलु कामदारको रूपमा पठाउन सकिने गरी आवश्यक व्यवस्था गर्न कतार तयार रहेको बताउँदै आएको छ । नेपालले भने हाल प्रतिबन्ध जारी रहेको भन्दै प्रतिबन्ध फुकुवा भएपछि आवश्यक निर्णय गरिने बताउँदै आएको थियो । 

कतारबाट पहिलो पटक भीभीआईपी तहको भ्रमण हुन लागेको हो । यसअघि उनी २०८० कात्तिक २० गते नेपाल आउने तालिक थियो । तर, इजरायल र हमासबिचको जारी युद्धका कारण उनको भ्रमण रोकिएको थियो । 

नेपालबाट राष्ट्रपति कतार भ्रमणमा निस्किएका थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक १२ गते चार दिने कतार भ्रमण गरेकी थिइन् । कतारी अमिर अमिर अल थानीको निमन्त्रणमा राष्ट्रपति भण्डारीले कतारको भ्रमण गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप